कस्तो देख्नु पर्यो मैले बिग्रिएर गाको
एउटै रथको दुई पाङ्ग्रा दुईतिर भाको ।
हेर्न राम्रो सेतो हिमाल घुम्न जान डोटी
भाग्य मेरो राम्रै रै छ कर्म भने खोटी ।
धन थेन मन दिए उनको पनि लिएँ
अमृतमा विष मिसाई हाँसी–हाँसी पिएँ ।
चन्द्रागिरि पहाडले निलो आकास छुन्छ
वनकी चरी घरी–घरी डाँको छाडी रुन्छ ।
जीवनको जङ्घारमा आयो भेल बाढी
मुहानबाट खेतमा पस्यो रोपो माडी–माडी ।
कोइलीको कुहु–कुहु तम्मे ढुकुर कुर्र
मन मेरो पन्छी जस्तो उड्छ भुर्र–भुर्र ।
सिङ्गो थियो टुक्रा भयो अब कसो हुन्छ
जुरेलीको दुःख देख्दा सबको मन रुन्छ ।
गण्डकीले गीत गाउँछ भेरी भाका हाल्छिन्
तारादेवी स्वर दिन्छिन् फाटेको मन टाल्छिन् ।
हिमालको हिउँ राम्रो पहाडको वन
सुख–दुःख यस्तै रैछ मनुष्य जीवन ।