चित्र मिजार
सिन्धुपाल्चोक, माघ २७ गते । कोदारी राजमार्ग छोडेर डाक्लाङ, काङ्लाङ, लिस्तिमाई पुग्न १७ किलोमिटर कच्ची सडक पार गर्नु पर्छ । भोटेकोशी गाउँपालिका–१ को लिस्तिमाई, पाउगुम्बा, छगाम, बगाम, सेबुङ गाउँ नेपाल सरकारले घुम्नै पर्ने स्थलको रूपमा समेटेको छ । तर यस्तो पर्यटकीय गाउँमा खानेपानी अभाव हुँदा प्राकृतिक सुन्दरतामा समस्या देखिएको थियो ।
सेबुङ गाउँमा खानेपानीको चरम समस्या भएपछि त्यस गाउँमा बस्ने ४५ घरधुरी बसाइँ सर्ने अवस्थामा पुगेका थिए । २०७२ सालको भूकम्पले ध्वस्त बनाएको थातथलो छाडेर उनीहरू उग्रचण्डी भगवती गुठी सेबुङमा आई बसेका थिए । तर पानी नभएपछि सेबुङ छाडेर स्थानीय अन्यत्र सर्ने मनसायमा पुगेका थिए । यस्तै पीडामा रहेका बेला जनहित नेपालको सहजीकरणमा एसिया नेपाल नामक गैरसरकारी संस्थाले भूमेश्वरी आधारभूत विद्यालयसहित सेबुङ गाउँमा १२ वटा धारा निमार्ण गरिदियो ।
घरआँगनैमा धारा र पानी आएपछि सेबुङबाट बसाइँ सर्न नपर्ने स्थानीय ६० वर्षीया सञ्चकुमारी विकले खुसी पोख्नुभयो । अहिले घरआँगनमै धारा आएपछि घरायसी प्रयोजनका साथै तरकारीखेती, नगदेबालीमा समेत पानी लगाउन पुगेको उहाँले बताउनुभयो । जनहित नेपालका कार्यकारी निर्देशक राजेन्द्र शर्माले ७८ लाख खर्चेर उक्त गाउँमा खानेपानी र कृषि क्षेत्रमा काम गरेको सुनाउनुभयो । तीन किलोमिटर दूरीमा रहेको मयङुखोलाको पानीलाई अंगेरीपाखामा आठ हजार लिटर क्षमताको ट्याङ्की बनाएर सेबुङमा पानी ल्याइएको छ ।
वडा कार्यालय लिस्तिकोटले सेबुङका दलित र गैरदलित समुदायको आर्यआर्जन वृद्धिका लागि सात लाख बजेटमा ग्रिन टनेलमा प्रदान गरेको छ । एसिया नेपालले यसअघि लिस्तिको छगाममा १४ वटा र सापुखानीमा २० वटा धारा निमार्ण गरिदिएको थियो । साथै किसानलाई ६० वटा चौँरी सहयोग गरेको थियो ।
त्यसोत पाँचपोखरी थाङपाल गाउँपालिका–२ स्थित याङग्री र लार्के नदीको तटभेगमा रहेको ४७ घरधुरीका याङग्रीवासीले पनि याङग्री र लार्के खोलाको पानी पिउँदै आइरहेका थिए । स्वच्छ र सफा खानेपानी नभएपछि उनीहरूले खोलाको धमिलो पानी उपभोग गर्दा हैजा, झाडापखला, छालासम्बन्धी अन्य रोग सिकार भई बिरामी पर्दै आइरहेका थिए ।
जनहित नेपालको सहजीकरणमा एसिया नेपालले ३८ लाख रुपियाँमा उक्त बस्तीमा ४७ वटा धारा निमार्ण गरिदिएपछि नदी र खोलाको पानी पिउनु पर्ने बाध्यता हटेको स्थानीय ४८ वर्षीया सुकमाया विकले बताउनुभयो । उक्त बस्तीमा १८ हजार घनामिटर क्षमताको पानी ट्याङ्की बनाएर याङग्री गाउँको घरघरमा धारा पुर्याइएको छ ।