• १३ साउन २०८१, आइतबार

चैते धानको बिउ उत्पादन गर्न परियोजना

blog

काठमाडौँ, माघ २६ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चैते धानको क्षेत्र विस्तारका लागि बिउ उत्पादन गर्न बृहत् परियोजना बनाउन लागेको छ । 

धानमा आत्मनिर्भर हुन चैते धान उत्पादनमा जोड दिएको सरकारले बिउको व्यवस्थाका लागि परियोजना बनाउन लागेको हो । नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले धानमा आत्मनिर्भर हुने एक मात्र उपाय चैते धान नै हो भन्नुभयो । चैते धान उत्पादनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सम्पूर्ण तयारी पूरा गरेको छ । त्यसका लागि बिउ अपुग हुने देखिएपछि परियोजना नै बनाएर बिउ उत्पादनमा जोड दिइने उहाँले बताउनुभयो । सरकारको कृषि नीति तथा उत्पादन वृद्धिका कार्यक्रमलाई सफल बनाउने उद्देश्यले नार्कले बृहत् बिउ उत्पादन परियोजना ल्याउन लागेको हो । 

कृषि मन्त्रालयले चैते धानका लागि बाँझो जमिन सदुपयोग गर्न तयारी गरिरहेको छ । अब चाहिने जति बिउका लागि नार्कले गुणस्तरीय प्रजनन र मूल बिउ उत्पादनको बृहत् परियोजना लागु गर्न लागेको हो । नार्कसँग केवल पाँच हजार हेक्टर बाँझो जमिन छ । त्यसलाई चैते धान तथा अन्य बालीको बिउ उत्पादनका लागि सदुपयोग गरिने कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । 

यसै गरी नार्कले आर्थिक वर्ष २०८१/८२ मा मकै र गहुँका उन्नत प्रविधि विकास र विस्तारको योजना पनि लागु गर्न लागेको राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले बताउनुभयो । त्यस्तै कागतीमा पनि नेपाललाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रमको तयारी गरिएको छ । 

यसै गरी धेरै उत्पादन र बिक्री हुने तरकारी गोलभेँडा र काक्रोका वर्णशङ्कर बिउ उत्पादन गर्ने तयारी गरिएको छ । यसका लागि प्रविधिमार्फत गुणस्तरीय प्रजनन गराई मूल बिउको परिमाण बढाएर माग पूरा गर्ने गरी नार्कले रूपान्तरणकारी परियोजना लागु गर्ने तयारी गरिरहेको छ ।