• १३ साउन २०८१, आइतबार

पालिकाले सोनाम ल्होछारमा दियो तीन दिन बिदा

blog

मकवानपुरको चैनपुरमा रहेको राक्सिराङ गाउँपालिका कार्यालय ।

राममणि दाहाल

हेटौँडा, माघ २४ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्वसोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिनेभएको छ । 

तामाङ समुदायको नयाँ वर्षको रुपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको हो ।

मन्जुश्री सम्वत २८६० डुक मु पुख्री (गरुड वर्ष) सोनाम ल्होछारको अवसरमा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बुधबार एक शुभकामना सन्देश जारी गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । 

माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा पालिका अध्यक्ष मल्लले शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु सुख र समृद्धिको कामना गर्नुभएको छ । साथै तीन दिनसम्म गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्क तथा वित्तीय संस्था बन्द रहने उहाँले जनाउनुभएको छ । उहाँले पालिकामा तामाङ बाहुल्य रहेकोले पर्व खुशीयालीपूवर्क मनाउने तीन दिन बिदा दिएको बताउनुभयो ।

उहाँले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने आफ्ना शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।