काठमाडौँ, माघ २४ गते । तेस्रो संस्करणको मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघ २८ देखि फागुन ७ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यस प्रतियोगितामा सात प्रदेश तथा आयोजक गरी आठ टोलीको सहभागिता रहनेछ । २५ ओभरको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
जसमा समूह ‘ए’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश रहेको छ । समूह ‘बी’ मा मधेश, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । उद्घाटन खेलमा गण्डकी र कर्णाली प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।
खेलाडी र टिम व्यवस्थापकको खेल पोसाक, बसोबास, खाना खाजा, यातायात खर्च आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले गर्ने आयोजकले जनाएको छ । क्यानले यस प्रतियोगितालाई यु–१६ खेलाडी छनोट प्रतियोगिताको रूपमा लिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित एक लाख र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र म्यान अफ दि म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।