बोमलाल गिरी
नवलपुर, असार ९ गते । पूर्वपश्चिम राजमार्गको आरुङखोलास्थित विनयी खोलाको डाइभर्सन बाढीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सडक पनि अवरुद्ध भएको छ । होङसी सिमेन्ट कारखानाको गेट हुँदै सर्दी भएर ज्यामिरे निस्कने बैकल्पिक बाटो समेत अवरुद्ध भएपछि नारायणघाट–बुटबल सडक खण्डपूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–३ को खरङगे खोलामा बाढीको बहाव बढेका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । आइतबार यही बाटो भएर ६ दिनदेखि सडकमै रोकिएका एक हजार ८ सय मालवाहक सवारी साधनलाई गन्तव्यमा पठाइएको थियो ।
गत बिहीबार राति डाइभर्सनबाट जाँदै गरेको रात्रि बस खोलाले बगाएको थियो । त्यसपछि यहाँ डाइभर्सन नबनाइ यही वैकल्पिक मार्गबाट गाडीहरु आवतजावत हुँदै आएका थिए । आगामी असार १६ गतेदेखि दुम्विासको नयाँ पुल सञ्चालनमा आउने सडक आयोजनाले जनाएको छ ।
बाटो चिप्लो भएर गाडीहरु पास हुन नसकेपछि दाउन्नेको सडक साँझ ७ देखि बिहान ५ बजेसम्म पूर्ण रुपमा बन्द गरि मर्मत गरिँदैछ भने साना तथा हलुका सवारी साधन होङसीबाट सर्दी हुँदै दाउन्ने निस्कने गरेका थिए ।