• १३ साउन २०८१, आइतबार

शीतोष्ण हावापानीका फलफूल जोगाउने प्रयासमा मार्फा

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ २३ गते । जलवायु परिवर्तनको कारणले शीतोष्ण हावापानीमा हुने फलफूलको उत्पादनमा गिरावट आउन थालेपछि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले आफ्नो फर्म उपल्लो मुस्ताङतर्फ बिस्तार गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले स्याउ लगायतका शीतोष्ण हावापानीमा हुने फलफूलहरू तथा तरकारीका बीउ र बिरुवाहरू उत्पादन गर्दै आइरहेको छ । शीतोष्ण हावापानीका कृषकहरूलाई फलफूल तथा तरकारी खेती गर्ने तौर तरिका सिकाउँदै आएको केन्द्रले मूल बीउ उत्पादन तथा बिरुवा उत्पादनलाई विशेष प्राथमिकता दिँदै आएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा रहेको केन्द्रमा विभिन्न ४२ प्रजातिका स्याउ लगायत ओखर, आरु, आरुबखडा, खुर्पानी, कागजी बदाम, अङ्गुर, स्वीट चेरी, नासपाती, हेजल नट जस्ता फलफूलको गुणस्तरीय बिरुवा र रायो, मुला, गाजर, बन्दा, सलगम, स्विस चार्डलगायतका तरकारीका मूल बीउ उत्पादन हुने गरेको भएपनि पछिल्लो समय समयमा हिउँ नपर्ने, पानी कहिले नपर्ने त कहिले बढी पर्ने र बेमौसममा पर्ने जस्ता कारणले उत्पादन गिरावट आउने गरेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । 

उहाँले भन्नुभयो–‘‘अहिलेको जस्तै मौसम परिवर्तनको दर भएको खण्डमा अबको २५ देखि ३० वर्षको अवधिमा मार्फा र आसपासका क्षेत्रमा अहिले नै उत्पादन दिइराखेका स्याउका बोटले फल सारै कम दिने र दिनै छाड्न सक्ने पनि प्रबल सम्भावना देखिन्छ । तर हामीले यो क्षेत्रमा अन्य उपयुक्त फलफूलहरु उत्पादन गर्न सकिन्छ ।’’

वर्तमान जलवायु परिवर्तनको अवस्थालाई ध्यानमा राख्दै उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका र वरपरको उपयुक्त क्षेत्रमा सम्भाव्यता अध्ययन गरी शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको शाखा कार्यालय क्षेत्र विस्तार गर्न प्रारम्भिक रूपमा केही प्रक्रिया समेत अगाडी बढाइएको आत्रेयले बताउनुभयो । 

मार्फामा रहेको कार्यालय र यहाँ उत्पादन हुने बिरुवा तथा बीउ उत्पादनका साथै गुणस्तरमा समेत प्रतिकूल असर परिरहेको कारणले गर्दा क्षेत्र विस्तार गर्नका आवश्यक देखिएको उहाँको भनाई छ । समयमा हिउँ नपर्ने र बढी वर्षा हुने तथा अनावश्यक समयमा हिमपात हुँदै तापक्रममा समेत क्रमिक रूपमा भएको बृद्धिलाई ध्यानमा राख्दै उपल्लो मुस्ताङमा स्याउ तथा अन्य फलफूलहरूको कालान्तरसम्म संरक्षण गर्न शाखा विस्तार गरिनु पर्ने देखिएको हो ।

शीतोष्ण हावापानीमा हुने उत्पादनमा जोगाइ राख्नका लागि नेपाल सरकारको कृषि विभागका महानिर्देशक हरिबहादुर केसी सँग छलफल भएको र प्रक्रिया अगाडी बढाइने निर्णय भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल (राजु) विष्टले बताउनुभयो । 

उक्त छलफल तथा बैठकमा विभागका उपमहानिर्देशक अरुण काफ्ले, राष्ट्रिय फलफूल विकास केन्द्रकी प्रमुख शान्ता कार्की, विभागका वरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाई, राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरका वरिष्ठ बागवानी विकास अधिकृत सूर्यप्रसाद बराल लगायतको बैठकमा सहभागिता रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख आत्रेयले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण सङ्कटमा पर्न थालेको स्याउ खेती संरक्षण गर्न कृषि विभाग मातहतमा रहेको निकाय शीतोष्ण बागवानी विकास केन्द्र मार्फा कार्यालयको क्षेत्र विस्तार गरी लोघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थायी केन्द्र स्थापना गर्न महत्त्वपूर्ण निर्णय गरिएको उहाँले बताउनुभयो । 

निर्णय बमोजिम अब चाँडै नै उपल्लो मुस्ताङमा यसको सम्भाव्यता अध्ययन अनुसन्धान क्षेत्र पहिचान गरी विज्ञ टोली सो क्षेत्रमा खटाउने कृषि विकास विभागले लिखित सहमति जनाएको केन्द्रका निमित्त प्रमुख आत्रेयले जानकारी दिनुभयो । तापक्रम वृद्धि र अनुकूल मौसम नहुँदा शीतोष्ण हावापानीको फलफूल तथा तरकारी बाली नै सङ्कटमा पर्ने अवस्था सृजना हुन सक्ने भएकाले उपल्लो मुस्ताङमा शाखा क्षेत्र विस्तारको आवश्यकता महसुस गरिएको हो । 

अहिलेको प्रयास सफल भएको खण्डमा  अबका सय वर्ष सम्म पनि मुस्ताङलाई स्याउकै राजधानी भनेर चिनाउन सकिने उहाँको दाबी छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहेकाले मुस्ताङमा स्याउको उत्पादनमा कमी हुँदै आएको मार्फाका अगुवा कृषक दीपक लालचनको भनाई छ ।

यही अवस्थामा समुन्द्री सतहदेखि ३ हजारदेखि ४ हजार मिटर उचाइमा स्याउ तथा हिउँदे तरकारीका लागि उपयुक्त हावापानी अनुकूल हुने केन्द्रका निमित्त प्रमुख आत्रेयको भनाइ छ । हामीले उपल्लो भेगमा शाखा कार्यालय स्थापनाको प्रस्ताव गरेका छौ । 

कृषि विभागले त्यहाँको वस्तुगत भूगोलको अध्ययन गर्ने छ र अध्ययन प्रतिवेदनले गरेको निर्णय अनुसार शाखा कार्यालयका लागि जग्गा प्राप्ति प्रक्रियासँगै अन्य काम सुरु हुन्छ । छलफलमा बागवानीको क्षेत्र विस्तारका लागि विज्ञसहितको अध्ययन अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा फलफूल नर्सरी स्थापनाको प्रयोजनका लागि लोघेकरको सार्वजनिक जमिन आवश्यकता पर्ने भएकाले त्यसका लागि जग्गा प्राप्तिको प्रक्रियाअघि बढाइएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो ।

हाम्रो तर्फबाट कुनै समस्या छैन माथिल्लो निकायले यसमा के कस्तो भूमिका खेल्छन् त्यसैमा भर पर्छ । यसका लागि स्थानीय जग्गा सिफारिस समिति, नापी, मालपोत लगायतका कार्यालयलाई समन्वय गर्न अनुरोध गर्ने निर्णय भएको अध्यक्ष विष्टको भनाइ छ ।