• २६ वैशाख २०८२, शुक्रबार

धर्मनाथ धाम अनुष्ठानमा साढे नौ लाख भेटी सङ्कलन

blog

लमजुङको राईनास नगरपालिका–८, हर्राबोटस्थित धर्मनाथधाम । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, वैशाख २६ गते । लमजुङको नवनिर्मित धार्मिक स्थल धर्मनाथ धाममा सम्पन्न सप्ताहव्यापी प्राण प्रतिष्ठा अनुष्ठानमा करिब साढे नौ लाख रुपियाँ दान भेटी सङ्कलन भएको छ ।

धर्मनाथ धाममा वैशाख २५ गते सम्पन्न अनुष्ठानको समापनको भोलिपल्टसम्म श्रद्धालु भक्तजनबाट सङ्कलित रकमको कुल योग नौ लाख ४४ हजार १३४ रुपियाँ पुगेको समितिले जनाएको छ । अनुष्ठानको अवसरमा राखिएका तीन वटा दानपेटिकाबाट मात्रै ३३ हजार आठ सय रुपियाँ सङ्कलन भएको अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिनुभयो ।

त्यस्तै, केही महिना अघिदेखि आश्रमको भोजनालयमा राखिएको अर्को दानपेटिका समेत सोही अवसरमा खोलिएको थियो । सो दानपेटिकाबाट २८ हजार ८२५ रुपियाँ सङ्कलन भएको प्रचार उपसमिति संयोजक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो ।

लमजुङको राइनास नगरपालिका–८, हर्राबोटस्थित धर्मनाथधाममा वैशाख १७ गते अक्षय तृतीयाका दिनबाट ज्ञान महायज्ञ सुरु गरिएको थियो । सर्वोदय सेवाश्रम परिसरभित्र निर्माण सम्पन्न १०८ गौमुखी धारा, १०८ शिवलिङ्ग र १००८ शालिग्रामसहितको परिक्रमा मार्ग र १२ फिट अग्लो शिवमूर्तिको स्थापनापछि महायज्ञ लगाइएको थियो । महायज्ञमा प्रत्येक दिन रुद्रीपाठ, हवन, कथा प्रवचन, भजनकीर्तन लगायत कार्यक्रमहरू सञ्चालन भएका थिए ।

महायज्ञमा प्रमुख वक्ता आचार्य कृष्णशरण, वाचक गोविन्द रेग्मी, उपवाचक गोविन्द आचार्य रहनुभएको थियो । स्वामी रमणानन्द गिरी, रामरोशन दास, चैतन्यकृष्ण, योगी सोमराज, लामा गुरु सागरधम्म, डा. चिन्तामणि नाथ योगी, डा. हरिप्रसाद, योगाचार्य कृष्ण शरण लगायतका विशिष्ट गुरुहरूले श्रद्धालुहरूलाई आध्यात्मिक सन्देश दिनुभएको थियो ।

धर्म, साधना र संस्कारको सङ्गमस्थलका रूपमा विकास हुँदै गएको धर्मनाथ धाम करिब ६० रोपनी क्षेत्रफलमा फैलिएको छ । साथै, ४० रोपनी क्षेत्रफलमा फैलिएको सर्वोदय सेवाश्रम सँगै रहेकाले भक्तजनहरूले यस क्षेत्रमा धार्मिक, योग, ध्यान तथा आध्यात्मिक अनुभूतिका विविध आयामहरू एकै स्थानमा अवलोकन गर्न सक्ने अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिनुभयो । धामले भविष्यमा देशभरका भक्तजनहरू र आन्तरिक पर्यटकलाई आकर्षण गर्ने, लमजुङको धार्मिक पर्यटन विकासमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।