• २८ पुस २०८१, आइतबार

चामल खरिद गर्न टेन्डर आह्वान

blog

काठमाडौँ, माघ २३ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिद गर्न दोस्रो पटक टेन्डर आह्वान गरेको छ । पहिलो पटक टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुन बजार मूल्य अनुसार चामल खरिद गर्ने गरी टेन्डर आह्वान गरेको हो । 

तीन लाख ३६ हजार क्विन्टल चामल खरिद गर्न कम्पनीले गत मङ्सिर ६ गते टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुन दुई लाख ७७ हजार क्विन्टल चामल खरिद गर्न टेन्डर आह्वान गरेको हो । कम्पनीले धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न टेन्डर आह्वान गरेको थियो । कम्पनीले धान चामल खरिद गरी दुर्गम तथा सुगम ठाउँमा सुपथ मूल्यमा खाद्यान्न वितरण गर्र्ने गरेको छ । बजारमा धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न कम्पनीले टेन्डर आह्वान गरेको थियो । तर चामल खरिद गर्न पहिलो पटक टेन्डर नपर्दा दोस्रो पटक टेन्डर आह्वान गरेको जनाइएको छ । 

कम्पनीका खरिद विभाग प्रमुख भेषनाथ न्यौपानेले चामल खरिद गर्न पहिलो चरणमा टेन्डर नपरेपछि बजार मूल्य अनुसार खरिद गर्ने गरी पुनः दोस्रो पटक टेन्डर आह्वान गरिएको जानकारी दिनुभयो । धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न लागेका थियौँ तर पहिलो पटक टेन्डर नै परेन उहाँले भन्नुभयो । कम्पनीले विभिन्न दुर्गम जिल्लामा सुपथ मूल्यमा चामल ढुवानी गर्दै आएको छ । यसपालि खरिद गर्न नपाएपछि कम्पनीलाई समयमा दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्नसमेत समस्या हुने देखिएको छ । 

आन्तरिक बजारमा चामल खरिद गर्न नपाएपछि कम्पनीले छिमेकी मुलुक भारतबाट समेत चामल खरिद गर्ने व्यवस्था मिलाइदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पेस गरेको छ । 

भारतबाट दुई लाख क्विन्टल चामल खरिद गर्न मन्त्रालयसमक्ष प्रस्ताव पेस गरिएको कम्पनीले जनाएको छ । यसैबिच कम्पनीले चालु आर्थिक वर्षमा पाँच लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा ४६ हजार ६४९ क्विन्टल मात्र खरिद गरेको जनाएको छ । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा किसानले व्यापारीलाई धान बिक्री गरेपछि धान नपाएर खरिद गर्न नसकेको उहाँले जानकारी दिनुभयो । 

सरकारले चालु आवका लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १९८ रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ निर्धारण गरेको थियो । सोही मूल्य अनुसार कम्पनीले धान खरिद गर्नुपर्ने हुँदा बजारमा नपाएको जनाइएको छ ।  

यो वर्ष धानको उत्पादन बढे पनि कम्पनीले भने बजारमा नपाएर खरिद गर्न नसकेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आवमा धान उत्पादन ४.३३ प्रतिशतले धान बढेर ५७ लाख २४ हजार २३४ मेट्रिक टन उत्पादन भएको छ । 

कम्पनीले धान खरिद गरी कुटाएर दुर्गम तथा सुगम ठाउँमा चामल वितरण गर्दै आएको छ तर यस वर्ष भने धान चामल खरिद गर्न नपाउँदा कम्पनीलाई खाद्यान्न ढुवानी गर्न समस्या हुने देखिएको छ । विभिन्न २३ दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्ने गरेको छ । कम्पनीले चामल, दाल, गेडागुडी, तेल, ग्यास, विद्युतीय चुलो बिक्री गर्दै आएको छ ।