• १३ साउन २०८१, आइतबार

जहाँ ५६ डिग्रीको तातोपानी निस्कन्छ

blog

म्याग्दी, माघ २२ गते । अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरिएको छ । अन्नपूर्ण गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जनस्थलका रूपमा विकास भएको हो । 

कालीगण्डकी नदी किनारमा रहेको तातोपानीको मुहानलाई संरक्षणका साथै व्यवस्थित बनाएपछि पर्यटकीय र प्राकृतिक उपचारस्थलका रूपमा विकास हुन थालेको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । “तातोपानीको मुहानलाई कालीगण्डकीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल बनाइएको छ”, उहाँले भन्नुभयो, “रातोपानी संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले पछिल्लो पाँच वर्षयता ५० लाखभन्दा बढी लगानी गरेको छ, समुदाय र दाताले पनि सहयोग गरेका छन् ।”

बेनी-जोमसोम सडकको छेउमा प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा सङ्कलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०-१० मिटर लम्बाइ र चौडाइ भएको पोखरी बनाइएको छ । पक्की पर्खाल बनाएर संरक्षण गरिएपछि तातोपानीको मुहान र पोखरी कालीगण्डकीको कटानबाट सुरक्षित भएको छ । 

टहरा र विश्रामस्थल भएपछि स्नान गर्नका लागि घामपानीले असर गर्दैन । पहिले नदी किनारको खुला ठाउँको पोखरीमा स्नान गर्दा व्यवस्थित थिएन । उपचारका लागि आउने सर्वसाधारण र स्नान गर्ने पर्यटकलाई सहज भएको कुण्ड सञ्चालनका लागि गाउँपालिकाबाट अनुमति पाउनुभएका खिलराज बरुवालले बताउनुभयो । “यो तातोपानी कुण्ड गरिबका लागि अस्पताल बनेको छ”, उहाँले भन्नुभयो, “व्यवस्थित भएसँगै उपचार र जाडो याममा तातोपानीमा स्नान गरेर मनोरञ्जन लिने दुवैथरी मानिसको आगमन बढेको छ ।” 

बरुवालले गाउँपालिकालाई एक लाख राजस्व तिरेर चालु आर्थिक वर्षका लागि कुण्ड सञ्चालनको अनुमति लिनुभएको छ । उहाँका अनुसार दैनिक एक सय जना जति स्नानका लागि आउने गर्छन् । पाहुना र पर्यटक आगमनसँगै रातोपानी, पोखरेबगर र ठुलोबेगरको व्यवसाय प्रवर्द्धन भएको छ । चोट पटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित बिरामी तातोपानीमा डुबुल्की मारेर स्नान गर्न आउँछन् । 

युरिक एसिडबाट थलिएका अन्नपूर्ण-७ औलका रिमबहादुर पुर्जाले तातोपानीमा स्नान गरेपछि निको भएको अनुभव सुनाउनुभयो । “पाँच वर्षअघि मलाई यहाँ स्नानका लागि परिवारका सदस्यले बोकेर ल्याएका थिए”, उहाँले भन्नुभयो, “२१ दिन स्नान गरेपछि युरिक एसिड निको भयो, आफैँ हिँडेर घर गए, त्यसपछि हरेक वर्ष हिउँदयाममा स्नानका लागि रातोपानीको तातोपानीमा आउने गरेको छु ।” पोखरा, काठमाडौँ, चितवन, मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँबाट स्नान गर्ने व्यक्ति आउने गरेको बताइएको छ । 

सर्वसाधारणले कुण्डमा पूर्वाधार निर्माणमा पनि सघाएका छन् । अन्नपूर्ण-६ घोडेपानीका ममता गर्बुजाले करिब एक लाख ५० हजार खर्च गरेर सडकदेखि पोखरीसम्म पुग्ने रेलिङसहितको पदमार्ग बनाइदिनुभएको वडाध्यक्ष खड्काले बताउनुभयो । चिसो याममा तातोपानीमा शरीर डुबाएर स्नान गर्दाको छुट्टै आनन्द हुने बताइन्छ । बेनी-जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटक पनि कुण्डमा स्नान गर्न आउन थालेका छन् । सात दिन स्नान गर्दा तीन सय ५० र एक पटक स्नान गर्न ३० शुल्क तोकिएको छ । 

तातोपानीको पोखरी नजिकै कपडा फेर्ने ठाउँ, अर्को मुहानमा धारा र सार्वजनिक शौचालय बनाउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षमा आठ लाख विनियोजन गरिएको छ । गत वर्ष प्रदेश सरकारको पाँच लाख अनुदानमा पोखरी परिसरमा विश्रामका लागि पनि प्रयोग गर्न सकिने गरी सिँढी निर्माण गरिएको थियो । बेनी-जोमसोम सडकको नजिकै भएको कुण्डको प्रचार-प्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको अध्यक्ष पुनले बताउनुभयो । रासस