• १३ साउन २०८१, आइतबार

आदर्श गृहबाटै अस्मिताको कन्यादान

blog

वसन्त पराजुली 

भरतपुर, माघ २२ गते । आदर्श गृहमा हुर्किएकी अस्मिता तिवारीको आइतबार धूमधामका साथ परम्परागत  रूपमा विवाह भयो । चौध वर्षको उमेरदेखि आश्रयसँगै शिक्षादीक्षा पाएकै संस्था आदर्श गृहले उहाँलाई बेहुली बनाएर अन्माएको हो । 

२४ वर्षीया तिवारीलाई स्याङ्जा वालिङ निवासी मणि सुवेदीसँग कन्यादान पनि गृहकै संरक्षक मीना खरेलले दिनुभयो । विवाहपछि खुसी हुँदै तिवारीले आदर्श गृहले जन्म दिने बाबुआमाले भन्दा पनि बढी जिम्मेवारी पूरा गरेको बताउनुभयो ।  

“मेरो आमा म दुई वर्षकी हुँदा बित्नुभयो । त्यस घटनाले बुबा पीडित हुनुभयो  दुई दिदीबैनी र एक दाज्यू आमाबुवाको मायाबाट वञ्चित बन्यौ”, विवाहकै दिन उहाँले आफ्नो पुरानो कहालीलाग्दो जीवन सुनाउँदै गर्दा उपस्थित सबैका आँखा रसाएका थिए । उहाँ आफू पनि गहभरि आँसु पार्दै थप्नुहुन्छ, “ बाबुआमाको संरक्षण विना नै आफन्तको घरमा बस्दै गर्दा त्यहाँ पनि त्यति सहज महसुस नभएपछि म चौध वर्षको उमेरमा २०७० सालमा  आदर्श गृह आएकी हुँ ।” उहाँले आदर्श गृहमा आएपछि मीना दिदी जस्तो असल अभिभावक पाएर आफूले शिक्षा राम्रोसँग अघि बढेको बताउनुभयो । 

“मैले स्कुल पढ्न छोडिसकेको थिएँ । यहाँ आएर पुनः स्कुल भर्ना भएर पढ्न थाले । अहिले कक्षा १२ उत्तीर्ण गरेर स्नातक तह अध्ययन गर्दै गर्दा उहाँ (नवबेहुलालाई देखाउँदै ) माग्न आउनुभयो । गृहले पनि आफू माइती बनेरै यो भव्य विवाह सम्पन्न गरिदियो”, उहाँले भन्नुभयो ।  

आफू गृहमै हुँदा समाजसँग जोडिएका हरेक सामाजिक सम्बन्धहरू र पारिवारिक वातावरण सिकेको उहाँले बताउनुभयो । नवबेहुला सुवेदीले पनि  असल संस्कारी भएका कारण नै आफूले अस्मितालाई स्वीकार गरेको बताउनुभयो । 

“यो विवाहले म खुसी छु । नयाँ वैवाहिक जीवनमा बाँधिदैछु । मान्छेहरू संस्कारभन्दा पनि सम्पत्तिका पछि हिँडेको देखिएको छ । तर मला  सम्पत्ति भन्दा संस्कार सिकेको मान्छे मन पर्छ । मैले मेरो हुन लागेकी श्रीमतीमा  संस्कार देखेर अपनाउने निर्णय गरेको हुँ”, उहाँले भन्नुभयो । भरतपुरमै व्यवसाय गर्दै आउनुभएका सुवेदीले आफूले अस्मितालाई असल अभिभावकत्व दिने पनि बताउनुभयो ।  

“उहाँ (नववेहुली) को अभिभावकको कुरा धेरै सुनेँ ।  मैले काम गर्ने ठाउँ भनेको अभिभावक नै अभिभावक भएको ठाउँ हो । उहाँलाई कुनै पनि अभिभावक नभएको महसुस गर्न दिँदिन ।  मैले पनि मेरो तर्फबाट दिने भूमिका सबै दिने प्रतिबद्धता गर्दछु”, उहाँले सबैसमक्ष प्रतिबद्धता गर्नुभयो ।  

आदर्श गृहमा अहिले पनि ३२ जना महिला तथा किशोरीहरू  आश्रित छन् । समुदायकै दाताहरूकै भरमा चलेको यो आश्रममा रहने दिदी बहिनीहरुलाई विभिन्न आयआर्जनका सिप पनि सिकाइन्छ । अहिलेसम्म यो आश्रमले एक हजार १७६ जना महिला तथा किशोरीलाई समाजमा पूर्वस्थापित गराई सकेको छ । जसमध्ये ४६ जनाको विवाह भैसकेको गृहकी संरक्षक मीना खरेलले जानकारी दिनुभयो ।  धार्मिक परम्परा अनुसार मागी विवाह भएको यो नै  पहिलो भएको पनि उहाँले जनाउनुभयो । 

“हाम्रो गृहमा हुर्किएर असल संस्कार सिकेकी चेलीको विवाह गराइदिनुपर्ने हाम्रो कर्तव्य हो । त्यो कर्तव्य पूरा गरेको हो”, उहाँले भन्नुभयो । अस्मितासँगै उहाँकी दिदी अनितालाई पनि गृहले नै संरक्षण दिइरहेको छ । अस्मिताका दाजु सन्तोष तिवारी पनि ११ वर्षदेखि सडक बालक पुनःर्स्थापना केन्द्र हाम्रो घरमा रहेर हुर्किएका हुन् ।