• १३ साउन २०८१, आइतबार

सीमा क्षेत्रको पीडा ‘काँडेतार’

blog

अविनाश चौधरी

धनगढी, माघ २२ गते  । भूमि अतिक्रमण, हत्या, दुव्र्यवहार, लुटपाट, असुलीलगायतका  थुप्रै समस्या व्याप्त छन्, नेपाल–भारत सीमा क्षेत्रमा । सीमा क्षेत्रको यही वास्तविक पीडा, समस्यालाई नेपाली चलचित्र ‘काँडेतार’ ले उजागर गरेको छ ।  

लालपुर्जा हुँदाहुँदै आफ्नो भूमिदेखि लिएर चेलीबेटीले अस्मिता गुमाउनु परेको वास्तविकता चलचित्रमा देखाइएको छ । रातारात कैयौँ ठाउँमा नेपाली भूमि अतिक्रमणमा परिरहेको छ । दुई देशको सीमा छुट्याउने सीमास्तम्भलाई रातारात सार्दा पनि राज्यबाट देखिएको मौनतालगायतका कुरालाई चलचित्रले छर्लङ्ग पारेको छ । 

कैलालीको मोहना नदीपारि सीमावर्ती क्षेत्रमा बसोबास गर्ने हौसलपुर, शिवरत्नपुर, मोहनपुर गाउँका जनतामाथि भइरहेको थिचोमिचो र उनीहरूको बाध्यताको कुरा पनि फिल्ममा चित्रण गरिएको छ । नेपाली भूमिको रक्षा गर्ने क्रममा भारतीय सुरक्षाकर्मीको तातो गोली खाएर कञ्चनपुरका सहिद गोविन्द गौतमले ज्यान गुमाउनु परेको यथार्थलाई पनि चलचित्रले समेटेको छ । पश्चिमदेखि पूर्वसम्मको सीमा क्षेत्रका नेपालीमाथि भइरहेको दुव्र्यवहार, कुटपिट, लुटपाटका घटनालाई चलचित्रले दर्शाएको छ । 

समग्रमा राष्ट्रभक्ति भावले भरिपूर्ण चलचित्र काँडेतारले मुलुकको भूमि रक्षाका लागि सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको सन्देश दिएको छ । खुला सिमानाका कारण भइरहेको समस्या समाधानका लागि सीमामा काँडेतार लगाउन आवश्यक रहेको चलचित्रको निचोड छ । काँडेतार लगाउन राज्यलाई दबाबका लागि यसलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने जोड दिइएको छ । काँडेतार लगाएर नेपाल–भारत ओहोरदोहोर गर्नेलाई पटके अनुमतिपत्रको व्यवस्थाको कुरा फिल्ममा देखाइएको छ । 

अर्कोतर्फ यो चलचित्रले नेपाली युवाले आफ्नै मातृभूमिमा केही गर्नुपर्ने सन्देश पनि दिएको छ । धनगढीमा शनिबार चलचित्रको च्यारिटी सो हेरिसकेपछि दर्शकले काँडेतार राम्रो चलचित्र रहेको प्रतिक्रिया दिएका छन् । चलचित्र हेरेपछि प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापाले सीमा क्षेत्रको समस्या र मुलुकको यथार्थलाई चलचित्र काँडेतारले उजागर गरेको बताउनुभयो । 

दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित काँडेतारका निर्माता एवं नायक नवल खड्काले सीमानाकामा हुने घटना कम गर्न उपाय खोजी गर्नुपर्ने सन्देश काँडेतारमा दिएको बताउनुभयो ।