• १३ असोज २०८१, आइतबार

‘यादको मूर्च्छना’को विमोचन

blog

गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन कार्यक्रम ।

काठमाडौं, माघ २१ गते। गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ।रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशिष्ट अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष बम बानियाँ, गीतकार विकरालकी धर्मपत्नी फूलमाया राईलगायतले कृतिको विमोचन गर्नुभएको हो।

विमोचित कृतिमाथि गीतकार हर्क साउद, शीतल कादम्बिनी र अमर वान्तुले टिप्पणी गर्नुभयो। गीतकार कादम्बिनीले कृतिमा समेटिएका गीतहरु अधिकांश वियोगी भावको रहेको आफूले पाएको बताउनुभयो।

अर्का टिप्पणीकार अमर वान्तुले विकरालका गीतहरुमा आफूले सङ्गीत भर्न चाहेको बताउनुभयो। कृतिमा समावेश भएका हरेक गीत उत्कृष्ट लागेकाले त्यसमा सङ्गीत भरेर आफूले थप जीवन्तता दिन चाहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हार्तम्छालीले प्रवासमा रहेर पनि गीतकार विकरालले नेपाली साहित्य–सङ्गीतका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।प्रतिष्ठानका सदस्य सचिव डा. सुवेदीले सर्जकहरुबाट लोकविधामा पनि लेखन कार्य हुनु जरुरी रहेको औंल्याउनुभयो ।

संस्कृतिकर्मी डा. भक्त राई, वरिष्ठ गीतकार शुभ मुकारुङ, गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, वरिष्ठ साहित्यकार डा. विष्णु राई र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चन्द्र रानाहँछाले विमोचित कृति र गीत–सङ्गीत क्षेत्रको विविध विषयमा धारणा राख्नुभयो ।

रावासावा प्राज्ञिक समाजले प्रकाशन गरेको सो कृतिमा रेकर्ड भइसकेका २७ सहित १ सय ११ वटा गीत समावेश छन्।खोटाङको साकेला गाउँपालिका–२, रतन्छाका बासिन्दा गीतकार राई रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियामा हुनुहुन्छ।२०७६ सालमा ‘अनुभूति’ गीति एल्बम सार्वजनिक गरिसक्नुभएका उहाँ ‘वर्ष गीतकार पुरस्कार २०७८’बाट सम्मानित हुनुभएको थियो।