• २८ पुस २०८१, आइतबार

पर्यटन प्रवर्द्धनका लागि सडक फुड फेस्टिभल

blog

रवीन्द्र उप्रेती

बर्दीबास, माघ २१ गते । मधेश प्रदेशमै पर्यटकीय नगरको पहिचान बनेको बर्दीबासमा अब सडक खाना महोत्सव (रोड फुड फेस्टिभल) आयोजना गरिने भएको छ । बर्दीबासको पर्यटन प्रवर्द्धन तथा ओरालो लागेको अर्थतन्त्र चलायमान गराउने उद्देश्यका साथ सडक खाना महोत्सवकाे तयारी गरेको आयोजक होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ । 

बीपी राजमार्गको प्रवेश बिन्दुमा पर्ने बर्दीबास-१ स्थित सडकको पूर्वी भागमा आउँदो फागुन ५ गतेदेखि ७ गतेसम्म ३ दिनसम्म आयोजना हुने महोत्सवका लागि १५ लाख खर्च हुने अनुमान गरिएको छ । यसमध्ये बर्दीबास नगरपालिकाले ६ लाख ५० हजार सहयोग गरेको आयोजकले जनाएको छ । 

पर्यटन व्यवसायी सङ्घ महोत्तरीले आइतबार बर्दीबासमा आयोजना गरेको पत्रकार सम्मेलनमा सडक खाना महोत्सव मधेश प्रदेशको हकमा पहिलो र बर्दीबासको लागि समेत नौलो प्रयोग भएकोले यो सबैको चर्चा र चासोको विषय बनेको जनाएको छ । बर्दीबासमा अहिले ५२ होटल सञ्चालनमा छन् । 

महोत्सव अवधीभर यी सबै होटलहरुले प्रदान गर्ने सेवा, स्वाद र सत्कार अव एकै थलोबाट प्रदान गरिने व्यवस्था मिलाइएको छ । महोत्सवमा सडक भोजन बिहान ८ बजेबाट सुरु भएपनि सांस्कृतिक कार्यक्रम भने अपरान्हदेखि राती ९ बजेसम्म सञ्चालन हुने जनाइएको छ । यसका लागि स्थानीय तथा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिले महोत्सवको सुनमा सुगन्ध थपिने आयोजकको विश्वास छ । 

यो प्रयास आफैंमा दुर्लभ र व्यापार प्रवर्धनका लागि समेत नौलो प्रयोग भएको आयोजक होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरेले बताउनुभयो। बर्दीबासस्थित वीपी राजमार्गको प्रवेश बिन्दु सिन्धुली चोकदेखि उत्तरवर्ती पीपलबोटसम्मको करिव आधा किलोमिटर क्षेत्रमा आयोजना गरिने सडक खाना महोत्सवमा सर्वसाधारणदेखि राजमार्गको यात्रुलाई आकर्षित गर्ने तयारी गरिएको छ । 

आयोजना स्थलमा ५० वटा स्टलबाट सेवा प्रदान गरिने हुँदा सडकमै खाने, सडकमै रमाउने तथा स्थानीय भोजन र कला संस्कृतिको अद्भुत र एकीकृत संयोजन मिलाइएको महासचिव घिमिरेले जनाउनुभयो । महासचिव घिमिरेले भन्नुभयो, "विविध भाषा, भेषभूषा र परम्पराको धनी मधेश प्रदेशका नेपाली, मैथिली, भोजपुरी तथा जनजातिहरुको मौलिक भोजन र जीवन्त कला संस्कृतिको यो महोत्सवले सम्वाहकको काम गर्ने विश्वास लिएका छौं ।" यो महोत्सव गैर नाफामूलक भएकोले उही स्वाद उही परिकारका भोजनमा महोत्व अवधिभर २० देखि ४० प्रतिसतसम्म छुटको व्यवस्था मिलाइएको आयोजक होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले बताउनुभयो । 

सडक भोजन महोत्सवमा मधेश प्रदेशका अन्य जिल्लाका होटल व्यवसायीलाई पनि सहभागिताका लागि आग्रह गरिएको छ । त्यस्का लागि १० वटा निशुल्क स्टल छुट्टाइएको खड्काले जनाउनुभयो। "सडक खाना महोत्सवलाई उदाहरणीय बनाउने प्रयासमा जुटेका छौं । यसका लागि सबैको सहभागिता र शुभेच्छाका लागि आग्रह गर्दछौं," खड्काले भन्नुभयो ।

महोत्सवबाट आशावादी बनेको बर्दीबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुवहादुर खड्काले सडक खाना महोत्सवको माध्यमले बर्दीबासको चिनारीका साथै कोरोनाकालदेखि शिथिल परेको यहाँको अर्थतन्त्रलाई चलायमान बनाउन सघाउ पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।