• १३ साउन २०८१, आइतबार

कृषि एम्बुलेन्स सञ्चालनमा

blog

कृषि एम्बुलेन्स सञ्चालनको पहिलो दिन खार्मी पुगेर कृषि उपज बजार ल्याउँदै नगरप्रमुख भट्टराई, उपप्रमुख राईलगायत ।

राजकुमार भट्टराई

खोटाङ, माघ २१ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाले आइतबारबाट कृषकको सहजताका लागि कृषि एम्बुलेन्स सुरु गरेको जनाएको हो । 

कृषि एम्बुलेन्स सञ्चालनको पहिलो दिन नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई लगायतको टोलि वडा नम्बर ११ खार्मी पुगेर कृषि उपज बजार ल्याएका छन् । खार्मीस्थित सोति कृषि तथा पशुपंक्षी बहुउद्धेशीय फर्मको तरकारी दिक्तेल बजार ल्याइएको हो । कृषि एम्बुलेन्समार्फत ल्याइएको कृषि उपज नगरपालिकाले निःशुल्क प्रदान गरेको बिउबाट उत्पादन भएको कृषि फर्मका अध्यक्ष हर्कराज राईले बताउनुभयो । 

वार्षिक भाडा तिर्ने गरी उक्त कृषि समूहले जग्गा भाडामा लिएर सामुहिक कृषि खेती सुरु गरेको छ । नगरपालिकाले बजारसम्म निःशुल्क ल्याउने व्यवस्था गरिदिँदा सहज भएको अध्यक्ष राईको भनाइ छ ।  

चालु आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेटमा समेत कार्यक्रम समावेश गरिएकाले एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख भट्टराईले बताउनुभयो । तत्काललाई शुभम् फाउण्डेसनसँग साझेदारी गरेर सुलभ दरमा फाउण्डेनको गाडीलाई एम्बुलेन्सको रुपमा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । 

नगरपालिकाले दिक्तेलस्थित हाटडाँडामा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिरहेको छ । सङ्कलन केन्द्र निर्माण सम्पन्न पश्चात बजारीकरणसमेत नगरपालिकाले गरिदिने प्रमुख भट्टराईले बताउनुभयो। हाललाई कृषकको घरबाट कृषि उपज बजारसम्म ल्याउने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । 

"एक गाडी कृषि उपज सङ्कलन गरेर कृषकले नगरपालिमा खबर गर्ने छन् । त्यसपश्चात नगरपालिकाको कृषि एम्बुलेन्स गएर बजारसम्म ल्याइदिनेछ । कृषि उपज ढुवानी र बजारीकरणमा समस्या रहेको भन्ने कृषकको गुनासो थियो," प्रमुख भट्टराईले भन्नुभयो, "अब कृषकका समस्याहरु क्रमशः हल हुँदै जानेछन् । हाललाई कृषि एम्बुलेन्समार्फत कृषकका खेतसम्म पुगेर कृषि उपज बजारसम्म ल्याउने व्यवस्था मिलाएका छौँ । केही समयपछि बजारीकरणको व्यवस्था गर्ने छौँ ।"

कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै कृषकले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन सहज हुने भएको छ । तर यसलाई निरन्तरता भने दिनुपर्ने अगुवा कृषक गङ्गा विश्वकर्माले बताउनुभयो। "नगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएछ यो खुशीको कुरा हो, तर यसलाई निरन्तरता दिनु ठुलो कुरा हो । बजारसम्म मात्र ल्याएर हुँदैन बजारीकरणको व्यवस्थासमेत नगरले गर्‍याे भने धेरै राम्रो हुनेछ । अझै अर्को कुरा उत्पादनमा अझै जोड दिन आवश्यक छ," उहाँले भन्नुभयो । 

नगरपालिकाको माटो, हावापानी अनुसार व्यापार कृषि उपजहरु उत्पादन सुरु गरेको नगर उपप्रमुख बिसन राईले बताउनुभयो । माथिल्लो भेगमा किवी, तल्लो भेगहरुमा कफी, करेला, प्याज, टमाटर उत्पादनका लागि बिउ बिरुवा वितरणदेखि बेर्ना उत्पादनमा समेत नगरपालिका लागिरहेको उहाँको भनाइ छ ।