• १३ पुस २०८१, शनिबार

रामदी पुलमा उभिएर

blog

यतिबेला म रामदीमा कालीगण्डकी महानदीमाथि बनेको सानो पुलमा उभिएको छु । सत्ते, उहिल्यै “रामायणकालमा चौध वर्ष लामो वनवासकालमा भगवान राम, सीता र लक्ष्मणको भ्रमण एवं विश्रामस्थल भएको” किंवदन्तीका आधारमा रामदी भन्ने नाम रहेको मानिँदै आएको भए पनि यसलाई यही नामले सम्बोधन नगरेर बरु ‘सङ्गम’ भनेरै नामकरण गरिदिए हुन्छ । आखिर यो दुई जिल्ला पाल्पा र स्याङ्जा जोड्ने सङ्गमस्थल हो, दुई जिल्लाको दोभान जो हो । बिच बाटो भएर कालीगण्डकी नदी बगेकी छन् र ठिक त्यसमाथि दुई जिल्लालाई आपासमा जोड्ने साँघु बनाइएको छ । त्यसैलाई रामदी पुल भनिएको हो । नदी वारि पनि रामदी छ, पारि पनि रामदी नै छ । पुलवारिको रामदी पाल्पा जिल्लामा पर्छ, पारिको रामदी चाहिँ स्याङ्जाको क्षेत्र–सिमाना हो । पुलवारि लुम्बिनी प्रदेश, पुलपारि गण्डकी प्रदेश । हिजोका अञ्चल र अचेलका प्रदेश ।

म त्यही रामदी पुलमा उभिएर तल नदीको जलप्रवाह हेरिरहेको छु ।

माथि पुलमा उभिएर तल नदीमा बगिरहेको जल हेरिरहँदा अनेक विचार मनमा आउने र जाने गरिरहन्छन् । लाग्छ, नदीमा बगिरहेको पानी र मनमा उठिरहने भावना उस्तै उस्तै हुन् । पुलमुनि नदीमा पानी निरन्तर बगिरहन्छ र पुलमाथि मेरो मनमा उर्लिरहने इच्छा, आकाङ्क्षा औ चाहनाहरू पनि सधैँ चुलिइरहन्छन् । फरक कति मात्र छ भने बगिरहने जलको गन्तव्य हुन्छ– कतै भूमिमा बिलाउनु अथवा अन्ततः सागरमा मिसिन पुग्नु । तर इच्छा, आकाङ्क्षा औ चाहनाहरूको कुनै गन्तव्य र सीमा हुँदैन, छैन पनि । यी सीमा र गन्तव्यहीन भावनाहरूले मानिसलाई जता पनि पु-याउन सक्छन् र जहाँ जतिबेला जे पनि गर्न गराउन सक्छन् ।

यस्तै सोच्दै, गण्डकीका छालहरूको उछिनपाछिन हेर्दै, हुत्तिँदै गरेका वेगहरूसँग बग्दा र किनारका एमानका चट्टानहरूसँग ठोक्किएर निस्केको गण्डकीको सुसेली सुन्दै, टोल्हाउँदै धेरै बेर उभिइरहेँ । मलाई लागिरहेको थियो– काश ! मैले गण्डकीको सुसेली बुझ्न सक्ने भए ! गण्डकीले सुसेल्ने शीतल ध्वनि बुझ्न सकेको भए ! मौनभित्र तरङ्गिएको गण्डकीको गीत बुझ्न सकेको भए ! तर त्यस्तो थिएन र त्यसरी उभिइरहँदा पनि सोचाइका तरेलीहरूले मलाई छाडेका थिएनन् । एउटा जिज्ञासापूर्ण सोचाइ मनमा लगातार उठिरह्यो, के नदीको बगाइ र मानव जीवनको प्रवाह उस्तै–उस्तै हो ?

त्यसो त चिनियाँ दार्शनिक लाओत्से भन्ने गर्थे, “पानीभन्दा धेरै नम्र वा लचिलो अरू केही पनि छैन तापनि यसलाई कसैले रोक्न र थुन्न सक्दैन ।” अनि मेरो मन नि ? मनलाई पनि त कसैले थुन्न र छेक्न सक्दैन ! तर त्यसो होइन होला किनभने मन भनेको पानी जस्तो हुँदै होइन किनभने मन पानी जसरी बग्नै सक्दैन, किनभने मन पानी जस्तो लचिलो पनि हुन सक्दैन । किनभने मनका आफ्नै सिमाना छन् र आफ्नै बाध्यता पनि छन् । कुरा कति मात्र हो भने हामीले मनलाई पनि र आफूलाई पनि पानी जस्तो बनाउनु पर्छ, कम्तीमा त्यस्तो बनाउने कोसिस गर्नु पर्दछ । यसैमा जीवनको गूढता लुकेको छ ।

खासमा म केही घण्टा रामदीमा रमाउने रहर बोकेर सदरमुकाम तानसेनबाट हिँडेको थिएँ । बस चढेर बर्तुङ, राईडाँडा, घोरबन्दा, पोखराथोक, आर्यभञ्ज्याङ, लसुने (अँगाहाखोला), पीपलडाँडा आदि हुँदै म रामदी पुगेको थिएँ । रामदीमा मलाई कालीगण्डकीको किनारमा, त्यसको छेउछाउमा र अन्ततः रामदीको पुलमाथि उभिएर चारैतिर हेर्दै समय बिताउन औधी मन पर्छ । त्यहाँ पुगेपछि एक पटक सिद्धगुफा पनि त दर्शन गर्नै पर्छ । किनभने एक त मूलतः त्यो प्राकृतिक गुफा हो र त्यसभित्र माथिबाट तलतिर ठाउँ ठाउँमा पानी रसाइरहेको हुन्छ भने त्यहाँ रहेका कतिपय ढुङ्गाहरूमा श्रीगणेश र महादेवका आकृति बनेको अनौठो दृश्य अवलोकन गर्न सकिन्छ । अर्को कारण त्यो ठाउँ वरिपरिका गाउँघरमा गाई–भैँसी व्याएपछि सर्वप्रथम दुध चढाउने पवित्रस्थल पनि त हो । मन्दिर पनि भएकाले ध्वजापताका पनि हुने नै भए । यति मात्र नभएर रामदीमा भएका कतिपय सानासाना चमेनाघरहरूमा पाइने चुकाउनी अचार, सेलरोटी र चिया पनि उत्तिकै मन पर्छ ।

अझ रामदीको विशेष रौनकका बेला त हरेक वर्ष कात्तिके ठुली एकादशीमा त्यहाँ दिनभर लाग्ने भक्तजनको विशाल जमघट अथवा मेला पो हो । त्यो मेलामा पाल्पा र स्याङ्जाबोहक अरू पनि थुप्रै जिल्ला मात्र होइन, छिमेकी भारतबाट समेत भक्तालुहरू र फौबन्जार व्यापारीसमेत आउने गर्दछन् ।

त्यो एकादशी मेलामा कालीगण्डकीमा लाग्छ । जुन सुदूर माथि मुस्ताङ जिल्लाको मुक्तिनाथ क्षेत्रमा रहेको ‘काक’ र ‘बेनी’ नामक दुई खोलाका रूपमा निस्केर ‘कागबेनी’ क्षेत्रमा पुग्दछ अनि ‘कोबाङ’ भन्ने स्थानमा आइपुगेर एकआपसमा मिसिन्छ र ‘कालीगण्डकी’ नदीका रूपमा परिणत भएको हुन्छ । यसको खास उद्गमस्थल चाहिँ तिब्बतको सिमानानजिक मुस्ताङमै ६,२६८ मिटरको उचाइमा रहेको ‘न्हुबिन हिमनदी’ अर्थात् न्हुबिन हिमाल ग्लेसियर हो । ‘काली गङ्गा’ नुहाएर ‘पवित्र हुने’ कार्य त भइहाल्यो, त्यसबाहेक त्यहाँ डोका, नाङ्ग्ला, डाला, हँसिया, कोदाला, नाम्ला, राडी, कम्बल, तन्ना, कतिपय तयारी लत्ताकपडा, केटाकेटीका खेलौना लगायत विभिन्न सामान किन्न पाइन्छन् । 

त्यस दिन सबभन्दा बढी पाइने कुरा भनेको त सुन्तला, उखु, उसिनेका पिँडालु, तरुल र सखरखण्ड पो हुन् । जाडो मौसम भए पनि त्यस दिन सुन्तला नकिन्ने र नखाने मानिस लगभग कोही पनि हुँदैन । त्यसै दिन खासगरी वरिपरि अवस्थित गाउँ ठाउँका कतिपय प्रतिनिधि परिवारले गण्डकी नदीमा वारिदेखि पारिसम्म ‘तोरण’ तार्ने गर्छन् । खरको डोरी बाटेर त्यसमा ठाउँ ठाउँमा फूलपाती, ध्वजा, चन्दन आदि राखेर÷सजाएर बन्दुकको सलामीसहित तोरण तार्ने गरिन्छ । 

सम्बन्धित घरमा दुष्ट शक्तिले घरपरिवारमा पसेर दुःख नदिऊन् भन्दै पितृमोक्ष र पापमुक्तिको कामनासहित विधिपूर्वक नारायण पूजासमेत गरीकन बाजा बजाउँदै हर्षेल्लासपूर्वक तोरण रामदी पु¥याइन्छ । त्यहाँ हजारौँ भक्तालु दर्शकको उपस्थिति र नदीको तीव्र बहावबीच पौडेर वारिदेखि पारिसम्म तोरण लिएर जानका लागि अनुभवी र खप्पिस पौडीबाज खोजिन्छ । अनि तोरण तारिन्छ । यस्ता तोरणहरू गाउँघरमा पनि घर वा गोठ वरिपरि वा घरदेखि निश्चित दुरीसम्म कुनै रुख आदिमा बाँध्ने गरेको मैले देखेको छु ।

यही मेलाको अवसर पारेर समूह समूह बनाई अथवा आआफ्ना गाउँका मानिसहरू खास स्थानमा भेला भई झ्याउरे नाचगान गर्दै रमाइलो गरिरहेका हुन्छन् । यही अवसर छोपी ठाउँ ठाउँमा खासगरी घरपाला मदिरा र मासुजन्य पदार्थ पनि बिव्रmी–वितरणमा राखिएको हुन्छ । आलु तरकारीका साथै बहुचर्चित नेवारी परिकार बारा जस्तै ‘बटुक’ (जुन स्थानीय गेडागुडी तरकारी सिल्टुङ अथवा झिलिङ्गेबाट बनाइएको हुन्छ) पनि लोकप्रिय खाजाका रूपमा बिव्रmी हुने गर्दछ ।

हजारौँ हजार मानिस रामदीको यो वार्षिक ठुली एकादशी मेलाको सहभागी पनि र साक्षी पनि बनेका हुन्छन् । नौ रङ्गी पहिरनमा सजिएका हजारौँ आबाल, वृद्ध, वनितालाई एकैसाथ हेर्दैमा पनि जीवनको रसरङ्ग नै यही पो हो कि भन्ने अनुभूति हुन थाल्छ ।

पुलमाथिबाट मेरा आँखा यताउता नाचिरहेका हुन्छन् र मनमस्तिष्कका पखेटा झन्झन् फिँजारिँदै गइरहेका हुन्छन् । पुलमुनि नदी बगिरहेकै छ । जबसम्म यो बगिरहेको छ, तबसम्म यो नदी हो । तर जहाँनिर यसको बहाव सकियो, त्यहाँ नदीको अस्तित्व पनि सकियो । बाँकी रहन्छ त केवल दह मात्र, अथवा पोखरी, वा ताल मात्र । कलकल बग्ने पानी निर्मल हुन्छ, सलल बगिरहने पानी कञ्चन हुन्छ, छङ्छङ बग्ने पानी स्वच्छ हुन्छ । त्यस कारण पनि, आखिर सारमा हेर्दा, नदीको पानी र मानिसको जीवनको प्रकृति उस्तै त छ अर्थात् गति, गति र फेरि पनि गति । यो गतिशीलता कतै थामियो वा कतै रोकियो भने त्यहीँबाट नदी जस्तै जीवन पनि सकियो । जहाँ गति छैन, त्यहाँ जीवन पनि छैन ।

यसरी नदी र जीवनमा धेरै समानताहरू छन् । नदी जस्तै बगिरहने जीवन गतिशील हुन्छ, नदीको बहाव नभएर दह जस्तो बनेको जीवन गतिहीन र स्थिर बन्न पुग्छ । गतिशीलता प्रगति र विकासको द्योतक हो, चलायमान भइरहनु उन्नतिको सङ्केत हो । तर स्थिरता प्रगति र विकासको बाधक हो, चलायमान भइरहन नसक्नु अवनतिको द्योतक हो । पानी बगेन र त्यो स्थिर वा गतिहीन बन्यो भने त्यो पोखरीमा फेरिन्छ, दहमा परिणत हुन्छ र निश्चित समयपछि त्यसको सुन्दरता र आयु नै पनि समाप्त हुन्छ । त्यसै गरी जीवन पनि उठ्यो, हिँड्यो र चलायमान भइरह्यो भने त्यसले विकास गर्न सक्छ र गर्छ पनि तर बस्यो वा सुत्यो भने त्यसको विकास गति नै रोकिन्छ । स्थिरता वा अगतिशीलतामा विकास हुँदैन, कुनै किसिमको प्रगति सम्भव पनि छैन ।

मलाई कुनै अज्ञात कविको कवितांश सम्झना हुन्छ । हिँड्नु वा गतिशील भइरहनु कति महìवपूर्ण छ भन्ने सम्बन्धमा कवि भन्छन्–

लक्ष्य त भेटिने नै छ बाटो बिराउँदै भए पनि ।

गन्तव्यहीन त तिनीहरू पो हुन् जो घरबाटै निस्किँदैनन् ।

म कालीगण्डकीमाथिको पुलमा उभिएर निरन्तर तल नदीको बहाव नियालिरहेको छु । घरिघरि सिद्धार्थ राजमार्गमा आवतजावत गर्ने वाहनहरूले मेरो एकाग्रता भङ्ग गर्न खोज्छन् । पुलदेखि वर र परसम्मै सडकको छेउछाउमा सानासाना चियापसल, चमेनाघर र होटलहरू छन्, रामदीवारि पनि र रामदीपारि पनि प्रहरी चौकीहरू छन् अन्यथा सबैतिर सडकबाहेक डाँडा मात्र देखिन्छन् । यो सबैबिच सिर्सिर चल्ने बतासले मन र शरीरलाई शीतलता प्रदान गरिरहेको हुन्छ ।

कालीगण्डकीमाथि उभ्याइएको पुल फलामै–फलामले बनेको छ । यो पुल कीर्तिनिधि विष्ट नेपालका प्रधानमन्त्री छँदा भारतको सहयोगमा बनेको थियो । दुई हजार बिस दशकको अन्त्यतिर यसको निर्माण भएको थियो । यसको विशेषता के छ भने पुलको दुई छेउमा बाहेक अन्यत्र बिचमा कतै पनि सहारा वा आड राखिएको छैन । यसरी यो पुलको निर्माण शैलीले भारतीय महानगर कोलकातामा हुगली नदीमाथि बनाइएको विशाल ‘हावडा पुल’ को मधुरो झझल्को दिन खोज्छ । (फरक ‘कति मात्र’ छ भने हावडा ब्रिजमाथि ‘साइड वाक’ सहितको ठुलो फराकिलो दुईतर्फी सडक छ र तल डुङ्गा र स्टिमरहरू चल्ने अथाह जलमार्ग छ । यहाँ रामदीको पुल लम्बाइ अनि आकार दुवैमा सानो छ र यसमा एक पटकमा एउटा मात्र वाहन ओहोरदोहोर गर्न पाउँछ । कुनै समय वाहनको सङ्ख्या बिचार्न र पुलबाट कोही तल गण्डकीको विकराल प्रवाहमा फाल हान्न नपावस् भनेर हेरचाह गर्नका लागि एक जना स्वयं सेवी चौकीदार थिए तर अचेल त्यस्तो कोही छैन ।)

म पुलको रेलिङ समातेर नेपालका तीन ठुला नदी –कोसी, कर्णाली र गण्डकीमध्येको एक यस गण्डकीको पानीमा फेरि आँखा डुलाउन थालेँ । एक दिनअघि परेको भारी वर्षाको प्रभावले होला, धमिलो पानी बोकेर गण्डकीले सधैँको आफ्नो शान्त स्वभावलाई बिर्सेर ठुलो गर्जनासमेतको सुसेली सुसेल्दै थियो । औसत प्रवाहभन्दा धेरै तीव्र, औसत अवस्थाभन्दा मात्तिएको कालो मैलो पानी घरिघरि अझ फोहोर बगाउँदै ल्याउँदै थियो । एक किसिमको हुङ्कार थियो, जलमा र त्यो सुनेर लाग्थ्यो, कतै यो गण्डकी नदी यो वर्षे याममा आकासे पानीसँग कुममा कुम जोडेर कतै हाम्रै स्थललाई आफ्नो गर्भमा त लुकाउन हानिएको होइन ?

यो पानी त्यही अजिङ्गर हो, जसले थुप्रै मानव जिन्दगीहरूलाई निलेको छ । कसैलाई गर्जिंदै छालले बगाएको छ भने कसैलाई पुलमाथिबाट तल पानीमा झ्वाम्म फाल हालेर जीवनदेखि भाग्न निम्त्याएको छ । पुर्पुरोबाट पछारिएकाहरूका लागि यसले सधैँ आफ्नो विशाल आलिङ्गन खोल्दै आएको छ र जीवनदेखि थाकेका– हारेकाहरूलाई आपूmभित्र फाल हाल्न निम्त्याउँदै आएको पनि छ । यति मात्र नभएर, केही विश्राम पनि दिएको छ यसले । जीवन यात्राबाट अघाएर आँखा चिम्लेका हजारौँ हजार मानव देहहरूलाई यसले अनन्ततामा विलीन हुने ठाउँ दिँदै आएको छ । मेरा आमा, बा र दिदीहरूसमेत नजाने अरू कतिलाई यही गण्डकीको कुनै तीरमा अन्तिम दागबत्ती दिइएको हो । यसरी नजिक र टाढाका अनगन्ती आफन्त, गैरआफन्त र परिचित, अपरिचितहरूको अन्तिम संस्कार, स्थलको भूमिका निर्वाह गर्दै यसले मानिसको यस जन्मको सांसारिक वैतरणी तार्दै आएको छ ।

तर जति गुन लाएको छ यसले, त्यत्तिकै हानि–नोक्सानी पनि गरेको छ । ठाउँ ठाउँमा गाउँका गाउँ यसले आफूसँगै लतारेको छ र अनेकौँ मानव जिन्दगीहरूको हाँसो, खुसी र सुख लुटेको छ । उर्लिंदा मानव चाहना र रहरहरूलाई आफ्नो दिगन्ततामा समाहित गरेको छ । संसारका धेरै सभ्यताहरू नदी किनारमै स्थापित र विकसित भएका छन्, तर इतिहास भन्छ, त्यस्ता अनेक सभ्यताहरूलाई ध्वस्त पार्ने काम पनि यही नदीले नै गरेको छ ।

म त्यसरी नै उभिइरहेँ । धेरै बेरसम्म त्यो ‘जलदानव’ लाई हेर्दै नानाभाँती विचार–भूमिमा विचरण गर्दै रहेँ । अघिपछि यही जलदानवप्रति खासगरी सनातन हिन्दु धर्मावलम्बीहरूको कत्रोविधि आस्था देखिन्छ ? यो नदीको रूप, प्रकृति, अवस्था आदि सम्झँदा ‘फगत जलदानव’ प्रति मानिसहरूमा रहेको असीम आस्था देख्दा आश्चर्य पनि लाग्छ । तर आश्चर्य मान्नुपर्ने कारण पनि के छ र ? आखिर हिमालयबाट उत्पत्ति भएको कालीगण्डकी नदी भनेको त्यही विशेष नदी त हो जसले आस्थावान धर्मावलम्बीहरूका निम्ति पवित्र पत्थर (र, भगवान विष्णुको प्रतीक) शालिग्राम उपलब्ध गराउँछ । यद्यपि यो नदी (वा कुनै पनि नदी) को पानी कति धेरै भँगाला र खोँचहरू हुँदै अनि कति ठाउँको जमिनमा समथरिँदै बग्दै आइरहेको थियो, आइरहेकै छ । निरन्तर बगिरहँदा काँडा, पोथ्रा, स्याउला आदि त यसले कति बगायो होला ! पहाडी भेग भएरै बग्नुपर्ने हुँदा जहाँतहाँ र जथाभावी पहरा फोरेर, थुम्का तोडेर, डाँडा भत्काएर यो अगाडि बढ्ने गर्छ । यसले गर्दा ठाउँ ठाउँमा पहिरो जानु र जमिन भासिनु यसबाट निर्मित निरन्तर नियति भएको छ भने नियमित अन्तरालमा गइरहने बाढी बनेको छ यसबाट निर्मित नियमित त्रासदी ।

रामदी पुलमा त्यसरी उभिइरहेको बेला मेरो सोचाइ जल, जमिन र जीवन वरिपरि नै रिङिइरहेको हुन्छ । यहाँ समाजमा मानिसलाई मानिसप्रति विश्वास छैन । मानवमा एकअर्काप्रति अविश्वास र शङ्का छ । तर त्यही मानिसलाई यो पानी, फोहोर र कालो मैलो पानी, मा कत्रो आस्था ! कति श्रद्धा ! मानिसभन्दा, आफ्नै होमोसेपियन्स जातिभन्दा, अरू वस्तुहरूमा विश्वास गर्ने स्वभाव छ ! आस्थाले तर्क र प्रश्नहरूलाई निषेध गर्दछ । अनि मानौँ आफैँप्रति एउटा प्रश्न तेर्सियो– लौकिकभन्दा अलौकिक कुरामा विश्वास गर्ने मुलुकवासीको विश्वासमा के कहिल्यै परिवर्तन आउला ? आखिर यस्तो विश्वास–प्रकृति समाजमा आफैँ त स्थापित हुँदैन । यसलाई स्थायित्व प्रदान गराउँदै आउने कोही त हुनुपर्छ, छ पनि । यस किसिमको संरक्षित सामाजिक परिपाटीको पूर्ण अन्त्य नहुँदासम्म समाज वैज्ञानिकतातिर जाँदैन, जान सक्दैन बरु सधैँ अन्धपरम्परा, अन्धविश्वास, आडम्बर, कुसंस्कार आदिमै रल्लिनु र अलमलिनु पर्नेछ । आखिर मानिसहरू कहिलेदेखि पो पारलौकिकतालाई नभएर आफ्नै लोकलाई, आपूm जस्तै मानिसलाई विश्वास र आस्थाका आँखाले हेर्न थाल्ने होलान् ? के केवल कालीगण्डकीमा कात्तिके ठुली एकादशीमा वा अघिपछि कहिलेकाहीँ एकाध पटक चोबलिँदैमा हाम्रा पाप पखालिन्छन् होला त ?

घरतिर फर्किनुअघि मैले फेरि एक पटक पुलबाट नजिक नजिक र टाढा टाढासम्म नदीको जलप्रवाह हेरेको थिएँ । मैले जति हेरे पनि नहेरे पनि, पुलमाथि भएर जतिसुकै गाडीहरू गुडे पनि नगुडे पनि, मानिसहरू त्यो बाटो भएर हिँडे पनि नहिँडे पनि, टाढा कतै पहिरो गए पनि बाढीको विस्मात् परे पनि वा कतै कोही शोषण र अन्यायमा परे पनि सबै कुराप्रति बेवास्ता गर्दै कालीगण्डकी चुपचाप बगिरहेको थियो, जसरी पहिला बग्दै आइरहेको थियो । गण्डकी जुन दिनदेखि बग्न थालेको हो, त्यस बेलादेखि यो उस्तै र उही स्वरूपमा बग्दै आएको छ । सायद नदीलाई कहिल्यै बुढेसकालले छुँदैन ।

पुलमुनिको जलप्रवाह हेर्दा मलाई मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालका विभिन्न ठाउँ हुँदै अन्ततः छिमेकी देश भारतका उत्तर प्रदेश र बिहार राज्यहरू हुँदै गङ्गा महानदीमा मिसिन पुग्ने कालीगण्डकीले निरन्तर केही सन्देश दिइरहेको जस्तो लागिरहन्छ । के होला त्यो सन्देश ? नदीलाई प्रेम गर्नु पर्छ । नदीलाई प्रेम गर्नु भनेको प्रकृतिलाई प्रेम गर्नु हो । प्रकृतिलाई प्रेम गर्नु भनेको जलवायु अथवा वातावरण संरक्षणप्रतिको प्रेम हो । पछिल्ला धेरै वर्षदेखि संसार वातावरण विनाश र प्रदूषणको समस्याले आव्रmान्त छ । यो समस्या दिनहुँ बढ्दै गइरहेको छ । नदी पनि छ र प्रकृति पनि छ भने सबैतिर सुन्दरता देख्न र अनुभूत गर्न सकिन्छ अन्यथा भविष्यमा पछुतो मान्नुबाहेक अरू केही हुने छैन । प्रकृति त मानिस, जनावर, पन्छी, कीरा–फट्याङ्ग्रा आदि सबैको सर्वाधिक असल साथी हो । एक जना प्रकृति संरक्षणविद्ले भनेका छन्– कुनै समय आफू बाँच्नका लागि मानिस प्रकृतिविरुद्ध सङ्घर्ष गर्दथ्यो तर अचेल उही मानिस आपूmलाई जीवित राख्नका लागि त्यही प्रकृतिलाई संरक्षण गर्नुपर्ने टड्कारो अवस्थामा पुगेको छ ।

यस्तै कारणले गर्दा त पछिल्लो धेरै समयदेखि ‘जलवायु न्याय’ का कुरा उठिरहेका छन् । 

त्यसरी पुलमाथि धेरै समय बिताएर अनि नदीको जलप्रवाहले सिर्जित सुन्दरताले वशीभूत हुँदै अन्ततः म घरतिर लम्केको थिएँ । साँझ छिप्पिँदो थियो । घर भिड्किँदा अलिअलि सुरसार भए पनि घामले अँध्यारोको घुम्टो ओढ्न भ्याइसकेको थिएन । लाग्यो, सायद त्यो धिपधिपे सन्ध्या–बेलाले पनि मलाई साउती गरिरहेको थियो– बगिरहने पानी कहिल्यै नराम्रो हुँदैन, त्यसकारण तिमी पनि सधैँ बगिरहने गर । बगेको पानी फर्किंदैन, तिमी पनि नफर्क, सधैँ अगाडि बढ्ने गर । त्यसो गर्न सक्दैनौ यदि भने पनि कम्तीमा अगाडि बढ्ने कोसिस चाहिँ निरन्तर गर्दै जाऊ, भलै अगाडि बढ्नका लागि कहिलेकाहीँ दुई पाइला पछाडि हट्न किन नपरोस् । नदी जस्तै अगाडि बढ्नु भनेको जतिसुकै बाधा आइ परे पनि जीवनमार्गमा आफ्नो बाटो आफैँ बनाउँदै अगाडि बढ्नु हो ।

किनभने जीवनको यो एउटा सूत्र मलाई औधी मन पर्छ । जान्नेहरूले भनेको सूत्र हो यो– जीवनको रहस्य सात पटक लड्नु र आठ पटक उठ्नु हो ।