• २९ वैशाख २०८२, सोमबार

गाउँ गाउँमा स्थानीय सरकारको अनुभूति

blog

हेटौँडा समाचारदाता

हेटौँडा, माघ २१ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्रका सबै बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । पालिकाले वडा नम्बर १ र ८ बाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । 

गाउँमै सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि घरमै सरकार आएको अनुभव भएको मकवानपुरगढीका ज्येष्ठ नागरिक गोपाल लोको भनाइ छ । बैङ्कमा गएर भत्ता लिन लाइन बस्नुपर्ने बाध्यता पनि हटेको उहाँले बताउनुभयो । भत्ता वितरणका लागि गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान आफँै बस्तीमा पुग्नुभएको छ । 

“सामाजिक सुरक्षाबापतको भत्ता गाउँ गाउँमै पुगेर वितरण गरेका छौँ, ज्येष्ठ नागरिक बैङ्कसम्म धाउनुपर्ने बाध्यता हटेको छ, हामी जनतालाई सेवा दिन लागिरहेका छौँ,” गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो । वडा नं. १ का वडाध्यक्ष 

आइतसिंह लोले वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेर कार्यक्रमको थालनी गर्नुभएको थियो । भौगोलिक विकटताका कारण वृद्धवृद्धा र अशक्त सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जान समस्या भएपछि पालिका र वडाको सव्रिmयतामा गाउँ गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । 

१ नं. वडाका पूर्ववडाध्यक्ष मानबहादुर घिसिङले वडाबाट बैङ्कमा भत्ता लिन पालिकासम्म आउन जान निकै कठिन र मोटर भाडा खर्चिलो हुने अवस्थामा गाउँ गाउँमै भत्ता बुझ्न पाउँदा खुसी लागेको बताउनुभयो ।

पहिलो चरणमा घुम्ती शिविरमार्फत १८३ जनाले सामाजिक सुरक्षा भत्ता रकम बुझेको पञ्जीकरण शाखा प्रमुख रघुनाथ हुमागाईंले जानकारी दिनुभयो । अन्य वडाका लाभग्राहीलाई नबिल बैङ्क मक्रान्चुली शाखामार्फत सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ ।