• ७ जेठ २०८१, सोमबार

२५० भूकम्प पीडित परिवारलाई शौचालयसहितको आवास

blog

रेडक्रसको सहयोगमा निर्माण भएका अस्थायी आवास । तस्बिर: राजु लामिछाने

रुकुमपश्चिम, माघ २१ गते । भूकम्प प्रभावित क्षेत्रका २५० घरपरिवारको अस्थायी आवास र शौचालय निर्माण कार्य सम्पन्न भएको छ । कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटीले सानीभेरी गाउँपालिका –४ का १ सय ५० र त्रिवेणी गाउँपालिकाका –९ र १० का एक सय गरी जम्मा २५० घरधुरीको अस्थायी आवास र शौचालय निर्माण गरिएको हो ।  

रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाका अनुसार बहुउद्देश्यीय नगदसहित भूकम्प प्रभावितका लागि अस्थायी आवास, शौचालय र खानेपानी ट्याङ्कीको व्यवस्थापन गर्न सहयोग गरिएको हो । प्रति परिवार ८७ हजारका दरले २५० घरपरिवारलाई सहयोग उपलब्ध गराइएको रेडक्रसले जनाएको छ । अहिलेसम्म पहिलो किस्ता बापत प्रति परिवार ५४ हजार पाँच सय रुपियाँका दरले सबै लाभग्राहीहरूको खातामा रकम निकासा गरिसकेको संयोजक थापाले जानकारी दिनुभयो । 

निर्माण सम्पन्न भएका संरचनाहरूको जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला तथा पालिकास्थित अन्य सरोकारवाला निकायहरूको उपस्थितिमा संयुक्त अनुगमन समेत सम्पन्न भइसकेको छ । लाभग्राहीहरूको खातामा अन्तिम किस्ता बापतको रकम पठाउने तयारी भइरहेको कार्यक्रमका योजना, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन अधिकृत शैलेश श्रेष्ठले जानकारी दिनुभयो । 

बहुउद्देश्यीय नगद सहयोग

यसै गरी रेडक्रसले बहुउद्देश्यीय नगद सहयोग अन्तर्गत एक हजार २०२ घरधुरीलाई थप सहयोग गरेको छ । दुई वटै स्थानीय तहका सम्बन्धित वडा कार्यालयले छनौट गरी पठाएका ज्येष्ठ नागरिक, दीर्घ रोगी, एकल महिला, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका लाभग्राहीहरूमध्येबाट १५ हजारका दरले थप एक करोड ८० लाख ३० हजार रुपियाँ लाभग्राहीहरूको खातामा पठाइसकेको अधिकृत श्रेष्ठले बताउनुभयो ।

सानीभेरी गाउँपालिका ४ का भूकम्प पीडित धने विष्टले खुसी हुँदै भन्नुभयो, ‘भूकम्पमा परी मेरो घर र शौचालय भत्कियो, रेडक्रसबाट प्राप्त भएको सहयोगले अहिले अस्थायी आवास र शौचालयका साथै हात धुनको लागि पानी ट्याङ्की समेत व्यवस्थापन गरिसकेको छु ।’ सहयोगका लागि उहाँले रेडक्रस प्रति आभार व्यक्त गर्नुभयो । 

त्यसै गरी सानीभेरी गाउँपालिका वडा नम्बर ११ की सरिता बि.क.ले रेडक्रसमार्फत प्राप्त गरेको बहुउद्देश्यीय नगद शौचालय निर्माणमा खर्च गरेको बताउनुभयो । सहयोग उपलब्ध गराएकोमा खुसी हुँदै उहाँले रेडक्रसलाई धन्यवाद दिनुभयो ।  

रेडक्रसले सम्बन्धित पालिकामार्फत लाभग्राही कायम भएका भूकम्प प्रभावितहरूलाई अस्थायी आवास, शौचालय र खानेपानीको ट्याङ्की सहित बहुउद्देश्यीय प्रयोजनका लागि नगद रकम सहयोग गरेको हो । रेडक्रसबाट सहयोग लिएका भूकम्प प्रभावितहरूले सरकारले दिएको सहयोग रकम भने पाउने छैनन् । 

Author

राजु लामिछाने