• २८ पुस २०८१, आइतबार

नेत्रज्योति संघलाई भवन हस्तान्तरण

blog

नेत्रज्योति संघ ताप्लेजुङको स्तरोन्नति गरिएको भवन उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री योगेशकुमार भट्टराई । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २० गते । स्तरोन्नती तथा प्रवलीकरणको काम सम्पन्न भएसँगै नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङलाई भवन हस्तान्तरण गरिएको छ । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा प्रवलीकरण गरिएको भवन शनिबार नेत्रज्योति सङ्घ ताप्लेजुङ शाखालाई हस्तान्तरण गरिएको हो ।

नेपाल नेत्रज्योति संघ शाखाको भवन नेपाल मेडिकल सपोर्ट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चले निर्माण गरेको हो । नवनिर्मित भवनको पूर्वमन्त्री भट्टराईले उद्घाटन गर्नभएको हो । भवनको उद्घाटनपछि नेपाल नेत्रज्योति संघ जिल्ला शाखाका उपसभापति खगेन्द्र अधिकारीलाई भट्टराईले तालाचाबी (ताल्चा) हस्तान्तरण गर्नुभयो ।

भवनको उद्घाटन गर्नुहुँदै भट्टराईले आवश्यक पूर्वाधार तथा संरचना उपलब्ध भएमा मात्र सेवा प्रवाहमा सहजता हुने बताउनुभयो । दुर्गम जिल्ला ताप्लेजुङमा आँखा स्वास्थ्यको क्षेत्रमा योगदान पु¥याउँदै आएको नेत्रज्योति सङ्घको भवन निर्माणले सेवा प्रवाहमा सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घ र प्रदेश सरकार मात्र नभई स्थानीय तहले समेत शिक्षा र स्वास्थ्यको क्षेत्रमा कार्यक्रम बनाई कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताउनुभयो ।

ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईंले नेपाल नेत्रज्योतिको भवन स्तरोन्नती साथै प्रवलीकरणको काम सुरु गरेको करिव आठ महिनाभित्रै सम्पन्न गरेको बताउनुभयो। आर्थिक सहयोगदाताको रुपमा रहेको संस्था नेपाल मेडिकल सपोर्ट जर्मनीले दुई चरणमा उपलब्ध गराएको कुल रकम भ्याटसहित ८८ लाख ११ हजार ६५२ रुपियाँको लागतमा भवन निर्माणको काम गरिएको प्रसाईंले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको आवश्यकता अनुसार भवनको स्वरुप (डिजाइन) तयार गरी स्तरोन्नतीको काम गरिएको पनि उहाँले जानकारी दिनुभयो । मञ्चका अनुसार भवनको आवश्यक कोठा, छाना र महिला–पुरुष तथा अपाङ्गमैत्री छुट्टा–छुट्टै शौचालयसहित संरचना निर्माण गरिएको छ । 

भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको उपस्थिति रहेको थियो । त्यस्तै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र गएको पुस महिनादेखि सञ्चालनमा आएको २५ वर्ष पूरा भई २६ वर्ष लागेको छ । नेत्रज्योति सङ्घले आँखा उपचार केन्द्र स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा पुस तेस्रो साता रजत जयन्ती समेत मनाएको थियो ।