• १३ साउन २०८१, आइतबार

व्यावसायिक च्याउ खेतीमा रमाउँदै कृषक

blog

कावासोती –८ मा व्यावसायिक च्याउ खेती गर्नुभएका टिकाप्रताप सेन ठकुरी । तस्विर : मीना कंडेल

मीना कंडेल

कावासोती, माघ २० गते । पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षण बढ्दो छ । व्यावसायिक च्याउ खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि नवलपुरमा फार्म दर्तागरी किसान सो खेतीतर्फ आकर्षित हुँदैगएका छन् । 

थोरै पुँजी लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउ खेतीमा किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । व्यवसायमा संलग्न किसानलाई कार्यालयले बीउबिजन उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग गर्दैआएको छ । 

अन्य सामाजिक संस्थाले पनि आफ्नो व्यावसायिक कार्यक्रममा च्याउ खेतीलाई समेट्ने गरेका छन् । कृषि विकास कार्यालयको कार्यक्रम अन्तर्गत च्याउ खेतीमा संलग्न किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो ।

गैँडाकोट –५ का कर्णलाल श्रेष्ठले विगत चार वर्षदेखि च्याउ खेतीमा नै समय बिताउँदै आउनुभएको छ । ६ कठ्ठा क्षेत्रफलमा तीन टहरा बनाएर ६५ लाख रुपियाँ लगानीका साथ सुरु गरेको च्याउ खेतीले उहाँलाई मनग्गे आम्दानी दिएको छ । उहाँले भन्नुभयो, “घर परिवारसँगै रहेर व्यावसायिक च्याउ खेती गरेका छौं, सबैको साथ छ । मेहनत गरे आफ्नै ठाउँमा नै मनग्गे आम्दानी गर्न सकिदो रहेछ ।”

नवलपुरको कावासोती –८, का टिकाप्रताप सेन ठकुरीले च्याउ खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । पाँच वर्षअघि २२ लाख रुपियाँको लगानीमा च्याउखेती सुरु गरेर उहाँले राम्रो आम्दानी गर्नुभएको छ । उहाँले लगाएका बाह्रवटा टनेलमा अहिले च्याउ उत्पादन भइरहेका छन् । 

सुरुमा घरमा दुईवटा टनेलमा च्याउ खेती गर्नुभएका उहाँले च्याउ खेतीमा आम्दानी लिन सकिन्छ भन्ने भएपछि घरनजिकै १० कठ्ठा जग्गा भाडामा लिएर च्याउ खेती विस्तार गर्नुभएको हो । उहाँले कन्ये च्याउ होलसेलमा प्रतिकेजी दुईसय रुपियाँमा बेच्ने गर्नुभएको छ ।

गत वर्ष करिब पाँच क्विन्टल च्याउ बिक्री गर्नुभएको ठकुरीले यस वर्ष १२ क्विन्टल हाराहारीमा उत्पादन गरी बिक्री गर्ने लक्ष्य राखेको बताउनुभयो । एक पटक लगाएको च्याउ उत्पादन गर्ने पोकाबाट ७–८ पटक च्याउ टिप्न सकिने ठकुरीले बताउनुभयो । 

यस वर्ष २० लाख मूल्य बराबरको च्याउ बिक्री गर्ने योजनाअनुसार काम गरिरहेको उहाँले बताउनुभयो । दशवटा टनेलमा उत्पादन खर्चप्रति टनेल  एक लाख हुने र खर्च कटाएर दश लाखसम्म यस वर्ष आम्दानी लिने लक्ष्य राखेको उहाँले बताउनुभयो । कावासोतीका विभिन्न स्थानमा लाग्ने हाटबजारमा बिक्रीका लागि लैजानेगरेको उहाँले बताउनुभयो ।

च्याउ उत्पादन धेरै हुँदा सुकाएर मसरुम सुपका लागि पोका बनाएर समेत बिक्री गर्नेगरेको ठकुरीले बताउनुभयो । मसरुम सुप तयार पार्ने मेसिन खरिद गरेर उत्पादन धेरै हुँदा प्याकेट तयार पारी बिक्री गर्नेगरेको बताउनुभयो ।

च्याउ फर्ममा दुई जना कामदार समेत रहेका छन् । त्यस बाहेक छोराले पनि च्याउ उत्पादन तथा बिक्रीमा सहयोग गर्दैआएको उहाँले बताउनुभयो । च्याउ खेतीका लागि कृषि ज्ञान केन्द्र नवलपुरले बीउ खरिदमा एक लाख रुपियाँ सहयोग गरेको ठकुरीले बताउनुभयो ।

च्याउ खेती गरेका कृषकले एउटा याममा न्यूनतम् १० देखि १२ क्विन्टल च्याउ उत्पादन गर्नेगरेका छन् । उत्पादित च्याउ जिल्लाबाट अन्यत्र समेत निर्यात हुनेगरेको छ ।  विशेषगरि कन्ये च्याउ र डल्ले च्याउ नवलपुरमा उत्पादन हुनेगरेको ज्ञान केन्द्रले जनाएको छ । 

अहिले जिल्लाका गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणीमा गरी नौ वटा फार्म व्यावसायिक च्याउ खेतीमा संलग्न भएका छन् । नगरपालिकाले विभिन्न समयमा अनुदान, किसानका लागि सहुलियत र अन्य कार्यक्रम सञ्चालन गरी अघि बढेको जनाएको छ ।