• २८ पुस २०८१, आइतबार

'बालबालिकाको स्वास्थ्य र शिक्षा प्रदेश सरकारको प्राथमिकता'

blog

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा बालमैत्री शाषन पालिका घोषणा भएकोमा कदरपत्र प्रदान गर्दै सामाजिक विकास मन्त्री समेत रहनुभएका मुख्यमन्त्री केदार कार्की ।

बिष्णुप्रसाद पोखरेल

दमक, माघ २० गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।  साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताउदै उहाँले यस्तो बताउनुभएको हो ।

"मैले दश वर्षमुनीका बालबालिकाको निशुल्क उपचारको व्यवस्था गरेर अपराध गरेको छु भन्ने लागेको छैन", उहाँले भन्नुभयो, "धेरै योजना काटिएको भन्दै विरोध हुने गरेको छ, बालबालिकाहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउनु मेरो अपराध हो ?" उहाँले भन्नुभयो ।

शनिवार झापाको कमल गाँउपालिकालाई बालमैत्री शाषनयुक्त पालिका घोषणा गर्दै सामाजिक विकास मन्त्री समेत रहनुभएका कार्कीले भौतिक विकासलाई मात्र विकासको रुपमा नहेर्न आग्रह गर्नुभयो । सरकार भौतिक विकासमा मात्र केन्द्रित नभएर मानवीय विकासमा केन्द्रित रहेको जनाउनुभयो ।

"लोक कल्याणकारी प्रदेश निर्माणका लागि भौतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएको छ", उहाँले भन्नुभयो । आर्थिक अभावमा उच्चशिक्षा लिन वञ्चितहरुका लागि प्रदेश सरकार रहेको अनुभुत गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

चिकित्सक, इञ्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन र प्रत्येक पालिकाका एक जनालाई पशु र एक जनालाई कृषि प्राविधिक अध्ययनका लागि छात्रवृतिको व्यवस्था गरेको उहाँले बताउनुभयो । बालबालिकाको मनोविज्ञान बुझेर अभिभावकहरुले बालबालिकाहरुलाई समय दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कमल गाँउपालिका अध्यक्ष हुकुमसिंह राईले कोशी प्रदेशमा पहिलो बालमैत्री शाषन भएको गाँउपालिकाको रुपमा घोषणाा गर्न पाउदा खुशी लागेको बताउनुभयो । उहाँले पालिकाका हरेक गतिविधि र कार्यक्रमहरु बालमैत्री बनाउने गरी आफुहरु लाग्ने प्रतिबद्धता जनाउनुभयो । 

"लामो प्रयास र कसरतपछि हामी बालमैत्री शाषन भएको पालिकाको रुपमा स्थापित गरेका छौं", उहाँले भन्नुभयो । पालिकाले नीति निर्माण गर्दादेखि लिएर हरेक क्षेत्रका बालबालिकाहरुको सहभागिता सुनिश्चित गर्दै लैजाने पनि जनाउनुभयो । यसमा सबैको साथ र सहयोग प्राप्त हुनेमा आफूले विश्वास लिएको उहाँले बताउनुभयो ।