• ७ जेठ २०८१, सोमबार

प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

blog

फाइनलमा आर्मीलाई हराएपछि पुलिसका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ २० गते । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हरायो । उपाधिसँगै पुलिसले १० लाख र उपविजेता आर्मीले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ । 

पुलिस तेस्रो पटक च्याम्पियन बनेको हो । यसअघि पुलिसले सन् २०१७ मा आर्मीसँग संयुक्त रुपमा उपाधि बाँडेको थियो भने २०१९ मा उपाधि जितेको थियो । जितका लागि एक सय ८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।


पुलिसको जितमा शंकर रानाले अविजित ६२ रन बनाउनुभयो । अर्जुन साउदले ३६, अमित श्रेष्ठले २८, आरिफ शेखले अविजित २७ र दीलिप नाथले २४ रन बनाउनुभयो । बलिङमा आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८१ रन बनाएको थियो । आर्मीका लागि विवेक यादवले ६३ रन बनाएपनि टोलीको हार टरेन । यस्तै सोमपाल कामीले ३९, इमरान शेखले २८ र कुशल मल्लले १७ रन बनाउनुभयो ।


बलिङमा पुलिसका ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन तीन विकेट लिनुभयो । सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो । प्रतियोगितामा तीन विभाग र सात प्रदेशगरी १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।