• १३ साउन २०८१, आइतबार

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’

blog

कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सपनामा पनि चिताउनुभएको थिएन ।

अरूको डेरीमा दुध बोकेर कामको अनुभव बटुल्दै गएका रानाले परिश्रमको केही कमाइ बचत गर्दै जानुभयो । बचत रकमले डेरी व्यवसाय सञ्चालन गर्न सक्षम बनेको उहाँको भनाइ थियो । “दुध बोक्ने काम गर्दा आउने केही रकम बचत गरेको थिएँ”, उहाँले भन्नुभयो, “केही रकम कर्जाका रूपमा लिएर डेरी व्यवसाय सञ्चालन गर्दै आएको छु ।” छ वर्षअघिदेखि रानाले ४५ लाख लगानी गरी डेरी सञ्चालन गर्नुभएको हो । 

गाउँगाउँबाट दुध संकलन गरेर रानाले दुग्ध विकास संस्थानको धनगढी वितरण आयोजनालाई आपूर्ति गर्दै आउनुभएको छ । दूध सङ्कलनका लागि उहाँले संस्थानसँग सम्झौता गर्नुभएको छ । दुध बोक्नका लागि रानाले छ जना कामदार राख्नुभएको छ । “सबै जनाका लागि मोटरसाइकल खरिद गरेको छु । दैनिक एक हजार चार सय लिटर दुध मोटरसाइकलमा क्यान राखेर कामदारले गाउँगाउँ पुगेर सङ्कलन गर्दै आएका छन्”, रानाले भन्नुभयो । 

दुध बढी सङ्कलन भएका बेला डेरीसम्म ल्याउनका लागि पिकअप भ्यानको प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । भ्यान आफ्नै स्वामित्वको हो । मोटरसाइकल, भ्यान लगायतका साधन दुध डेरीबाट आएको आम्दानीले खरिद गरेको रानाले जानकारी दिनुभयो । बेरोजगार हुँदा डेढ दशकअघि साइकलमा भारतबाट सामानको ज्याला लिएर झलारी बजारका व्यापारीलाई बिक्री गर्ने गरेको रानाले बताउनुभयो । “भारतबाट सामान ल्याउँदा हुने सास्ती बिर्सी नसक्नु थियो”, उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा भारतीय र नेपाली प्रहरीले भन्सार काटे-नकाटेकोदेखि अन्य धेरै हैरानी दिन्थे । पछि त्यो काम छोडेर दुध बोक्ने काम थालेको थिएँ ।” 

आफन्तले दुध बोक्ने काम गर्न भनेपछि त्यही काम थालेको भन्दै पहिलो पटक चार लिटरबाट सुरु गरेको कामले अहिले व्यवसायी बनाएको रानाले बताउनुभयो । “बिस्तारै दुध बढी सङ्कलन हुन थाल्यो । महिनामा २५ हजार जति कमाइ हुन थाल्यो”, उहाँले भन्नुभयो, “त्यसपछि मोटरसाइकल किनेँ, दुध डेरीमा आपूर्ति गर्न थालेँ ।” “दुध सङ्कलन गर्ने, भण्डारण गर्ने, अन्य क्षेत्रमा आपूर्ति गर्ने कुरा डेरी सञ्चालकबाटै सिकेँ” रानाले भन्नुभयो, “त्यसपछि केही रकम आफूसँगै थियो, केही कर्जा गरेर शान्ति दुग्ध सङ्कलन केन्द्र हुँदै डेरी खोलेँ ।” उहाँका अनुसार अहिले डेरीमा दैनिक एक हजार चार सय लिटरसम्म दुध सङ्कलन हुने गरेको छ । 

महिनामा २७ लाख बराबरको दूधको कारोबार हुने गरेको रानाले जानकारी दिनुभयो । “सङ्कलन भएको दुधमध्ये आठ सय लिटर दुध संस्थानले खरिद गर्ने गरेको छ । अरू दुध गाउँमै खपत हुन्छ”, उहाँले भन्नुभयो । रानाले गाउँबाट दुध प्रतिलिटर ६६ मा खरिद गरी संस्थानलाई त्यतिकै मूल्यमा बिक्री गर्नुहुन्छ । संस्थानले ट्रान्सफर खर्च (टिएस) बापत प्रतिलिटर रानालाई तीनका दरले भुक्तानी गर्दछ । स्थानीयलाई भने रानाले सङ्कलन भएको दुध प्रतिलिटर ७० मा बिक्री गर्नुहुन्छ । महिनामा खर्च कटाएर रानाको ५० हजार बढी आम्दानी हुने गरेको छ ।

कामदारलाई मासिक रूपमा ज्यालाबापत एक लाख २५ हजार खर्च हुने गरेको रानाको भनाइ थियो । दूधकै कारोबार गरेर रानाले गाउँमै पाँच कोठाको पक्की घर बनाउनुभएको छ । डेरीका लागि तीन वटा डी फ्रिज, एक हजार र पाँच सय लिटर क्षमताका गरी दुई चिलिमभ्याट मेसिन खरिद गरेको उहाँले बताउनुभयो । दुधबाट क्रिम निकाल्ने मिल्क सेप्रेटिङ मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ थियो ।

“पूरै परिवारको खर्च दुधको बारोबारबाट धानिएको छ”, रानाले भन्नुभयो, “अहिले छोराले व्यवसायमा सहयोग गर्न थालेपछि कमाइ बढ्दै गएको छ ।” दुधको व्यवसायबाट सन्तुष्ट भएको भन्दै उहाँले डेरीमा दुध सङ्कलन गरी बेच्ने काम मात्रै हुँदै आएकामा भविष्यमा डेरी प्रोडक्ट उत्पादन गरी बजार विस्तार गर्ने सोच रहेको बताउनुभयो । 

“अरूका लागि साइकलमा दुध बोक्ने मैले डेरी सञ्चालन गरी प्रशस्त आम्दानी गर्छु भन्ने सोचेकै थिएन”, रानाले भन्नुभयो, “काम गर्दै गए सफलता आफैँ हात चुम्न आइपुग्यो । अहिले दुधको व्यवसायी भनेर नगरपालिका क्षेत्रमा सबैले चिन्छन्, सम्मान गर्छन् ।” रासस