• २८ पुस २०८१, आइतबार

कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्ने हो : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

मलेखु (धादिङ), माघ १९ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलका कार्यकर्तामा सिङ्गो पार्टीलाईभन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटी बढेसँगै दलहरूमा फुटको अवस्था सिर्जना भएको बताउनुभएको छ ।  

एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा आज महासचिव पोखरेलले कार्यकर्ताकै कमजोरीले पार्टीमा विभाजित हुने अवस्था सिर्जना हुनेगरेको बताउनुभयो । कार्यकर्ताले पार्टी नबोक्ने तर नेतामात्र बोक्दा पार्टी सकिने उहाँको भनाइ छ ।  

“कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्नुपर्छ, त्यसपछि मात्रै पार्टी मजबुत बन्नेछ” उहाँले भन्नुभयो, “नेताहरूले आफूलाई धुरी ठान्नु हुन्न, पार्टीलाई धुरी ठान्नुपर्छ, जनतामा बढ्दैगएको निराशालाई आशामा बदल्न सकिएन भने मुलुकमा समस्या सिर्जना हुन्छ । राष्ट्र जोगाउने हो भने जनतालाई निराश हुनबाट जोगाउनुपर्छ ।”  सातसय प्रतिनिधि सहभागी हुने अधिवेशनले एकसय पाँच सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने एमाले धादिङले जनाएको छ । रासस