• १३ असोज २०८१, आइतबार

गङ्गालाल, समयको पीडा र ‘दी जु स्टोरी’ मञ्चन

blog

काठमाडौँ, माघ १९ गते । शिल्पी थिएटर, बत्तिसपुतलीमा आजबाट सहिद गङ्गालाल श्रेष्ठको जीवनमा आधारित नाटक ‘गङ्गालाल’ मञ्चन सुरु भएको छ । गङ्गालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शङ्करको लेखन तथा निर्देशनमा तयार भएको हो । 

नाटकमा सहिद गङ्गालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसका रूपमा प्रस्तुत गरिएको निर्देशक चे शङ्करले बताउनुभयो । विक्रम संवत् १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गङ्गालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको उहाँले बताउनुभयो । नाटक गङ्गालालमा सहिद धर्मभक्त, शुक्रराज, दशरथका साथै तत्कालीन नेताहरू टङ्कप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन् । विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, लेखक र कलाकारले गङ्गालाललाई फरक पाटोबाट चिन्नु र हेर्नुपर्ने लेखक निर्देशक चेले बताउनुभयो । सहिद दिवसको सन्दर्भमा प्रदर्शन गरिएको यो नाटक बुधबार नाचघरमा प्रथम मञ्चन गरिएको थियो । 

नाटकमा कलाकारहरू निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दङ्ग्या, सन्दीप डङ्गोल, प्रदीपकुमार चौधरी, नीरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गर्नुभएको छ । ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गर्नुभएको नाटकमा सङ्गीत डिजाइन उत्सव बुढाथोकीको छ भने साउन्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गर्नुभएको छ । नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीको हो । नाटक माघ २९ गतेसम्म मञ्चन हुने छ ।

‘समयको पीडा’

नाटक ‘समयको पीडा’ रोजगारीका लागि नेपालबाट बिदेसिएका छोराहरू नफर्केपछि एक्लिएका बुवाआमाको पीडाको कथा हो । समय जति बित्यो, उमेर बढ्दै जान्छ । उमेरसँगै आफ्ना सन्तति पनि घट्ने रहेछन्; जुन साँच्चै समाजको मात्र होइन, सिङ्गो देशमा समयको पीडा हो भन्ने सन्देश नाटकमा रहेको छ । सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक रातोपुलस्थित ओजस थिएटर एन्ड फिल्म स्टुडियोमा मञ्चन सुरु भएको हो । 

कलासी प्रोडक्सन हाउसको प्रस्तुतिमा रहेको नाटक साहित्यकार पद्मावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण रहेको निर्देशक सुन्दर धितालले बताउनुभयो । नाटकमा विशाल देवकोटा, सङ्गीता थापा, अर्जुन दुलाल, अन्जसा रिजाल, उन्नत उप्रेती, सगुन पोखरेल, रोहित श्रेष्ठ, पूर्ण गन्धर्व, नवीन प्याकुरेल, कपिलदीप काफ्ले र विपिन जैसवालले खेल्नुभएको छ ।  यो कथा कक्षा ९ को अनिवार्य नेपाली विषयमा समावेश रहेको समय पीडा शीर्षकको पाठको रूपान्तरण रूप हो । माघ २२ गतेसम्म नाटक मञ्चन हुने कलासी प्रोडक्सन हाउसले जनाएको छ ।

‘दी जु स्टोरी’

एक्लोपन महसुस गरिरहेको युवापुस्ता, मानसिक रोगले पीडित र लैङ्गिक पहिचान बुझ्न नसकेका समुदायको कथा नाटक ‘दी जु स्टोरी’ मा प्रस्तुत गरिएको छ । अमेरिकी नाटककार एडवर्ड अल्वीको लेखन रहेको नाटक ‘दी जु स्टोरी’ लाई द वल्ड थिएटर नेपालले नेपालीमा रूपान्तरण गरेको हो ।  

अमेरिकी नाटककार एड्वार्ड एल्वीको पहिलो नाटक ‘दी जु स्टोरी’ ९१९५८० ले गहिरो छाप छोड्न सफल भएको थियो; जुन तीन हप्तामा लेखेर तयार गरिएको थियो । यो नाटकको पहिलो प्रस्तुति पश्चिम बर्लिनमा भएको थियो । नाटकले निराशावाद र अँध्यारोपनाको माध्यमबाट आशावादको दियो बाल्छ । नाटकलाई सजग रानाले निर्देशन गर्नुभएको छ । नाटकमा कलाकार राजकुमार पुडासैनी, विजय ताम्राकार, नर क्षेत्री र अदिति श्रेष्ठले अभिनय गर्नुभएको छ । नाटक माघ २८ सम्म मण्डला थिएटरमा मञ्चन हुने छ ।