बाबुराम देवकोटा
सिन्धुलीमाढी, माघ १८ गते । खानेपानीका लागि लामो समयदेखि समस्या झेल्दै आएका सिन्धुलीको कमलमाई नगरपालिका–४ का २८ दलित घर परिवारले खानेपानी सङ्कलनका लागि बिहीबार हिलटप ट्याङ्की पाएका छन् ।
उक्त वडामा दलित बस्ती रहेको ढकालगाउँ शिखर र ढाँडेका प्रत्येक दलित घर परिवारलाई खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि वडा कार्यालयले एक हजार लिटर क्षमताको हिलटप ट्याङ्की निःशुल्क वितरण गरेको हो ।
वडा अध्यक्ष महेन्द्रप्रसाद ढकालले नगरपालिकाको चालु आर्थिक वर्ष ०८०/०८१ को स्वीकृत वाक कार्यक्रम अनुसार ती दलित घर परिवारलाई निःशुल्क उक्त ट्याङ्की वितरण गरेको बताउनुभयो । उहाँले ढकालगाउँ शिखरका १५ घर परिवार र ढाँडेका १३ घर दलित परिवारले उक्त ट्याङ्की पाएको जानकारी दिनुभयो ।
ढकालगाउँ शिखर र ढाँडेको खानेपानी समस्या समाधान गर्न बागमती प्रदेश सरकारको १५ लाख रुपियाँ सहयोगमा खानेपानी योजना सञ्चालनको तयारी अवस्थामा रहेको जानकारी दिनुहुँदै वडा अध्यक्ष ढकालले वडा कार्यालयले ‘एक भान्सा, एक करेसाबारी र एक भान्सा, एक आमा’ अभियान सञ्चालन गरेको सुनाउनुभयो ।
उहाँले एक घर परिवारले घाराको टुटीसहित १३ हजार पाँच सय मूल्य बराबरको हिलटप ट्याङ्की पाएको जानकारी दिनुभयो ।
ढाँडे खानेपानी उपभोक्ता समितिका अध्यक्ष तारा खातीले खानेपानीका लागि धेरै समस्या झेलिरहेका गाउँका उपभोक्तालाई हिलटप ट्याङ्कीले धेरै राहत दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गाउँमा हाप इन्चको पाइपबाट साने तुर्र खानेपानी आउँथ्यो, त्यो पानी पनि पालैपालो गाग्रीमा भरेर उपभोग गर्थ्यौँ । हिलटप ट्याङ्की पाएपछि धेरै सुविधा भएको महसुस भएको छ ।’’
ट्याङ्की पाएसँगै उपभोक्ता उत्साहित बनेको चर्चा गर्दै उहाँले पानी भण्डारण गरेर राख्न ट्याङ्कीले सहयोग मिलेको बताउनुभयो ।