सीता शर्मा
काठमाडौँ, पुस २७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायजन्य सुरक्षा विभागको कार्यक्षेत्रमा सुधारका लागि नीतिगत र व्यवस्थापकीय रूपमा काम गर्नुपर्ने आवश्यकता औल्याएको छ ।
केन्द्रीय श्रम सल्लाहकार परिषद्का अध्यक्ष एवम् श्रममन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकले सो कुरा औल्याएको हो । बैठकले व्यावसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी प्रावधानलाई व्यवस्थित गर्न व्यावसायजन्य रोगको सूचि तयार गर्ने, कार्यस्थलमा उत्सर्ग हुने तापसम्बन्धी मापदण्ड बनाउने र राष्ट्रिय व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गर्न समितिको कार्य थप व्यवस्थित बनाई पुनः अवलोकनको काम अगाडि बढाउन र सामाजिक सुरक्षाको दायरा अभिवृद्धि गर्ने लगायतका विषयको पनि निर्णय गरेको जनाइएको छ ।
बैठकले आउँदो फाल्गुन १६ र १७ गते काठमाडौमा आयोजना गरिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सफल बनाउन श्रमसम्बन्धी ऐन कानुनमा समसामयिक परिमार्जन गर्नेगरी कार्यविधिको मस्यौदा तयार गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि ८१ श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ र महासन्धि ८७ सङ्गठनको स्वतन्त्रता र सङ्गठित हुने अधिकारको संरक्षणसम्बन्धी महासन्धी, १९४८ र वाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल २९ को अनुमोदन प्रक्रिया अगाडि बढाउन पनि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको जानकारी गराएको छ । श्रमसम्बन्धी विषयमा सरकारलाई सुझाव दिने उद्देश्यले श्रम ऐन २०७४ बमोजिम केही समयअघि सो परिषद् गठन भएको हो ।