• १३ साउन २०८१, आइतबार

बैतडीमा वर्षासँगै हिमपात, कृषक खुसी

blog

बैतडीको सिगास गाउँपालिकाको गर्जेमा परेको हिमपात । तस्बिर सौजन्यः रमेशप्रसाद भट्ट

गोकर्ण दयाल

बैतडी, माघ १८ गते । लामो सयपछि बैतडीमा हिउँदे वर्षा र उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । वर्षा हुँदा किसान हर्षित भएका छन् । आलु खेतीका लागि प्रसिद्ध खोड्पे क्षेत्रमा हल्का हिमपात सुरु भएपछि किसान खुसी भएका हुन् । 

बुधबार बेलुकीदेखि यहाँको खोड्पे, श्रीभावर, गर्जेलगायतका स्थानमा हिउँदे वर्षासहित हल्का हिमपात सुरु भएको छ । गत असोजदेखि यहाँ वर्षा नहुँदा हिउँदेखेती खडेरीका कारण सुक्न थालेको थियो । सिँचाइ सुविधा नभएका पहाडी भेगमा गहुँलगायत आलुखेती सुक्न थालेपछि किसान चिन्तित भएका थिए । 

बुधबार राति र बिहीबार बिहानदेखि वर्षा र हल्का हिमपातले किसानलाई  राहत पुगेको छ । हिउँदे वर्षाले बालीनालीमा फाइदा पुगेको कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय प्रमुख घनश्याम चौधरीले बताउनुभयो । बैतडीमा २५ हजार सात सय हेक्टरमध्ये १५ हजार हेक्टरमा गहुँ खेती हुँदैआएको छ ।

२५ हजार हेक्टरमध्ये छ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएको १९ हजार हेक्टरमा हिउँदे वर्षाले फाइदा पुगेको उहाँले बताउनुभयो । 

हिउँदे वर्षा र हल्का हिमपातले खोड्पे क्षेत्रमा रहेको पाँच सय हेक्टर आलु खेतीमा राम्रो फाइदा गरेको पाटन नगरपालिका –८, का वडा अध्यक्ष हरिस विष्टले बताउनुभयो । बिहीबार बिहानदेखि खोड्पे क्षेत्रमा वर्षासहित हल्का हिमपात सुरु भएको उहाँले बताउनुभयो ।