• २७ पुस २०८१, शनिबार

कोशी प्रदेशमा सीमा सुरक्षा तथा व्यवस्थापन प्रभावकारी बन्दै

blog

उद्घाटनमा पूर्व मुख्यमन्त्री हिक्मत कार्की, सशस्त्र प्रहरी वल नं. १ बराह वाहिनीका वाहिनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक अन्जनी कुमार पोखरेल ।

विष्णुप्रसाद पोखरेल

दमक, माघ १९ गते । भारत र चीनसँग सीमा जोडिएको कोशी प्रदेशमा शान्ति सुरक्षा, सीमा अतिक्रमण, सीमा अपराध नियन्त्रण, सीमा इलाका र सीमा स्तम्भहरूको रेखदेख तथा राजश्व सङ्कलन, चोरी, अवैध निकासी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) निर्माण कार्यले गति लिएको छ ।

सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनीका वाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलका अनुसार कोशी प्रदेशमा ६८९ दशमलव ३ किलोमिटर दुरीमा अन्तर्राष्ट्रिय सीमा जोडिएको छ । झापा जिल्लामा सबैभन्दा लामो दुरी छ । जिल्लामा १४४ दशमलव २ किलोमिटर खुला सिमाना छ ।

नेपालको अन्तर्राष्ट्रिय सिमानामा सशस्त्र प्रहरी बल, नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म सहित बोर्डर आउट पोष्टहरुको सङ्ख्या ५ सय वटा पुर्‍याउने योजना अनुसार काम भइरहेको पोखरेलले बताउनुभएको छ । अहिलेसम्म भारत र चिनतर्फ २५० भन्दा बढी बिओपी निर्माण भइसकेको छ ।

पोखरेलका अनुसार कोशी प्रदेशमा प्रस्तावित सीमा सुरक्षा गुल्मको सङ्ख्या १० र ४८ वटा बिओपी गरी ५८ वटा युनिटहरू पुगेका छन् । एकैसाथ तीनवटा बिओपीका भवनहरू उद्घाटन भई यहाँ सुरक्षाफौज समेत बस्न सुरु गरेका छन् । झापा जिल्लामा ४ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र नयाँ ३ वटा बिओपी उद्घाटन पश्चात् सिमाना खटिने युनिटको सङ्ख्या २१ पुगेको छ ।

कचनकवल गाउँपालिका-२ को डाँगीबारी, गौरीगन्ज गाउँपालिकाको वडा नं. ४ अल्तामारी र वडा नं. २ लालमाटीमा विओपी भवनहरूको बुधबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की, सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

सुरक्षा गुल्महरूको स्थापना र बिओपी स्थापनापछि सीमा सुरक्षा तथा व्यवस्थापन अझ प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सहयोग पुग्ने पोखरेलले बताउनुभएको छ । उहाँका अनुसार यस आर्थिक वर्षमा दशगजा क्षेत्रमा बनेका २४५ वटा घरटहरा र ४६ कठ्ठा खेतीपाती गरिएको क्षेत्र खाली गरेर दशगजा क्षेत्रको सुरक्षा तथा संरक्षण गरिएको उहाँले जनाउनुभयो । 

सीमापार अपराध नियन्त्रण अन्तर्गत ८१ जना लागूऔषध कारोबारी तथा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरिएको पनि पोखरेलले उल्लेख गर्नु भयो । सीमा क्षेत्रमा कडाइ गरिँदा यसले आन्तरिक सुरक्षामा पनि ठुलो टेवा पुग्ने भएकाले यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

स्रोतसाधन दिनुपर्छ : कार्की

एकैसाथ झापाका विभिन्न स्थानका ३ वटा बिओपीहरु उद्घाटन गर्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीका लागि बिओपी लगायतका भवनहरू निर्माण गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेर काम गर्दा महालेखाले सैद्धान्तिक बेरुजु देखाएको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सीमा खटिने प्रहरी तथा शान्ति सुरक्षामा अहोरात्र खट्ने प्रहरीहरूका लागि पूर्वाधार बनाउने तथा आवश्यक पर्ने सामाग्रीहरू उपलब्ध गराउने दायित्व सङ्घीय, प्रदेश र स्थानीय तहको भएको जनाउनुभयो । "स्रोतसाधन केही पनि नदिने तर कामको बोझ दिनेमात्र गर्नु हुँदैन भन्ने मेरो बुझाइ छ", उहाँले भन्नुभयो । "गाडी दिने तर तेल नदिने गरिएको छ", उहाँले उदाहरण दिँदै भन्नुभयो ।

बिओपीहरुको स्थापनाले आसपासको क्षेत्रमा चोरी लगायतका घटनाहरू रोकिएको, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिहरू नियण्त्रमा सहयोग पुगेको, लागूऔषध कारोबार लगायतका कार्यहरू निरुत्साहित भएको पाएको पनि उहाँले जनाउनुभयो ।