धनकुटा समाचारदाता
धनकुटा, पुस २७ गते । गोरखापत्र दैनिकका धनकुटा समाचारदाता कोकिला भण्डारी ३०३ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सम्मानित हुनुभएको छ । पत्रकारिता क्षेत्रबाट पूर्वको पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा योगदान दिएको भन्दै उहाँलाई सम्मानित गरिएको हो ।
नेपाली सेनाको पूर्वी पृतना मुख्यालयको निर्देशन तथा श्री नम्बर २ अड्डा हिलेको समन्वयमा धनकुटा जिल्लास्थित श्री भीममदल गणको आयोजना तथा सुनसरीस्थित श्री भगवती दल गणको सहयोग एवं धनकुटा नगरपालिका, साँगुरीगढी गाउँपालिका, पाख्रिबास नगरपालिका, उद्योग वाणिज्य संघ धनकुटा, होटल एसोसियशन भेडेटारको प्रायोजनमा सम्पन्न दिवसको अवसरमा भण्डारीलाई कामको मुल्याङ्कन गर्दै सम्मान गरिएको भीमदल गणले जनाएको छ ।
भण्डारीलाई नेपाली सेनाका श्री नम्वर २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी दिलविक्रम सुब्बाले प्रशंसापत्र हस्तान्तरण गर्नुभयो । उहाँसँगै साँगुरीगढी पदयात्रामा सहयोग गर्नुहुने नेपाल पत्रकार महासंघ धनकुटालगायतका संघ संस्था, व्यक्तिहरु र तोप निर्माणमा आर्थिक सहयोग गर्नुहुने महानुभावलाई पनि प्रशंसापत्र हस्तान्तरण गरेर सम्मान गरेको छ ।