• २६ पुस २०८१, शुक्रबार

सिद्धबाबा सुरुङमार्गकाे काम दश प्रतिशत सम्पन्न

blog

सिद्धबाबा सुरुङमार्गको दक्षिणतर्फको भाग । तस्बिर: रेखीराम राना

रेखीराम राना

तानसेन, माघ १८ गते । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको निर्माणले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामले गति लिएको हो । सुरुङ खन्ने काम दक्षिणतर्फको गेटबाट सुरु भएसँगै यसले गति लिएको छ ।  

पाल्पाको तिनाउ–३, सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणका लागि आवश्यक सबै पूर्वाधारहरूको निर्माणपछि दक्षिणतर्फको ढोकाबाट सुरुङ खन्न थालिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाँच वर्षभित्र सुरुङ निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग वि.सं. २०७८ फागुन २५ गते सम्झौता गरेको थियो । 

निर्माण कम्पनीले बाहिर गर्नुपर्ने सबै तयारी सकेर मुख्य काम सुरुङ खन्नेतर्फ लागेको र कामले गति लिएको आयोजना प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो । सुरुङ मार्गको हालसम्म १०.२ प्रतिशत काम सम्पन्न भइसकेको छ । 

सुरुङको निर्माणको कामसँगै चट्टान बग्नबाट जोगाउन ‘रक सेड’ निर्माणको काम सुरु भएको छ । सिद्धार्थ राजमार्ग माथिबाट खस्ने पहिरो र कडा चट्टानलाई रोक्न ७८० मिटर ‘रक सेड’ निर्माण गरिने योजनाको कार्यालयले जनाएको छ । यस्तै तीन स्थानबाट बाइपास सुरुङ निर्माण सुरु भइरहेको छ । सुरुङ क्षेत्रमा प्रवेश गर्ने तीन वटा ४३१ मिटरका बाइपास सुरुङ खन्ने काम  भइरहेको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो । तल्लो गेटबाट सुरुङ खन्ने र माथिल्लो भागमा अन्य संरचना निर्माणको काम भइरहेको ज्ञवालीले बताउनुभयो । 

रक सेड निर्माण गर्ने क्षेत्रमा ३० वटा रुख काट्नका लागि समेत सम्बन्धित निकायबाट सहमति आइसकेको छ । रुख काटेपछि रक सेड निर्माणले समेत गति लिएको उहाँले बताउनुभयो । सुरुङ मार्गसँगै कम्पनीले ९०४ मिटर बुटवलतर्फ र पाल्पातर्फको एक हजार ४९४ मिटर सडक स्तरोन्नति गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सुरुङ मार्ग आयोजना सम्पन्न गर्न सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ । 

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । लामो समयदेखि यात्रुहरूले यो क्षेत्रमा खस्ने पहिरोबाट जोगिन सुरुङ मार्गको बनाउनुपर्ने माग गर्दै आएका थिए ।