• ७ जेठ २०८१, सोमबार

गोरखापत्रकर्मी रेग्मीलाई राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार

blog

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु गोविन्द रेग्मीलाई राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्नुहुँदै । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, माघ १७ गते । राष्ट्रिय ‘खेलकुद पत्रकारिता पुरस्कार–२०८०’ गोरखापत्रकर्मी गोविन्द रेग्मीलाई प्रदान गरिएको छ ।

गोरखापत्र अनलाइनमा कार्यरत रेग्मीलाई युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट प्राप्त आवेदनको मूल्याङ्कनका आधारमा छनोट गरेर बुधबार पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि ५० हजार रुपियाँ र सम्मान पत्र रहेको छ । रेग्मी लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील हुनुहुन्छ । 

त्रिभुवन विश्व विद्यालयबाट पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर गर्नुभएका रेग्मीले २०६० सालमा राष्ट्रिय समाचार समितिबाट प्रशिक्षार्थी पत्रकारको रूपमा पत्रकारिता सुरु गर्नुभएको हो । त्यसपछि लामो समय अन्नपूर्ण पोस्ट् दैनिकमा काम गर्नुभएका उहाँ हाल गोरखापत्र अनलाइनमा कार्यरत हुनुहुन्छ । 


यस्तै मन्त्रालयले रेग्मीसहित प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ गोरखापत्रकर्मी द्वय कोशीबाट हरिप्रसाद कोइराला र महिलाबाट दैलेखकी रजनीकुमारी योगीलाई प्रदान गरेको छ ।

मन्त्रालयले प्रदेशतर्फ नै ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ बागमती प्रदेशबाट गोविन्दराज नेपाल (अनलाइन खबर), मधेशबाट तिवारी यादव (नयाँ पत्रिका), गण्डकीबाट रोहितराज पराजुली (नयाँ पत्रिका), लुम्बिनीबाट रिखीराम जिसी (समाधान दैनिक), कर्णालीबाट नन्दराम जैसी (हिमालयन टाइम्स) र सुदूरपश्चिम प्रदेशबाट नवाज पनेरु (बाह्रखरी अनलाइन) लाई प्रदान गरेको छ । प्रोत्साहन पुरस्कारको राशि जनही २५ हजार रुपियाँ र सम्मान पत्र रहेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

नौ जनालाई खेलकुद सम्मान 

यसैगरी मन्त्रालयले खेलाडीसहित, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी नौ जनालाई खेलकुद सम्मान प्रदान गरेको छ । सम्मानित हुने खेलाडीमा मेनुकाकुमारी राजवंशी (कबड्डी), नबिता श्रेष्ठ (टेबल टेनिस), शिवसुन्दर गोथे (टेबल टेनिस), एरिका गुरुङ (कराँते, शुभश्री श्रेष्ठ (टेबल टेनिस) र पलेसा गोवर्धन (पारा तेक्वान्दो) हुनुहुन्छ ।

प्रशिक्षकमा पार्वती राई (कबड्डी), निर्णायकमा तेजेन्द्र सिंह महरा (टेबलटेनिस) र आविष्कार पुडासैनी, फिजियो थेरापिस्ट (फुटबल) रहनुभएको छ । सम्मानित सबैलाई जनही एक लाख रुपियाँ र सम्मान पत्र प्रदान गरियो । 


पत्रकार र खेलकर्मीलाई युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रमबिच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्त, सहसचिव शिवप्रसाद रेग्मी लगायतले पुरस्कार प्रदान गर्नुभयो । 

उक्त समारोका छनोट समितिका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी, मन्त्रालयका कर्मचारी, खेलाडी, प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो ।