• ७ जेठ २०८१, सोमबार

जौबारीमा मेसीनबाट रोपिदै आलु

blog

इलामको जौबारीमा कृषि अनुसन्धान केन्द्रले पहिलो पटक मेसीनबाट आलु रोप्दै । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), माघ १७ गते । इलामको जौबारीमा पहिलो पटक मेसीनबाट आलु रोपाइ सुरु गरिएको छ । कृषि अनुसन्धान केन्द्र जौबारीले दुईवटा मेसिन खरिद गरी आलु रोप्न थालेको हो । 

परम्परागत रूपमा मानिसले आलु रोप्ने काम गरिदैआएकोमा केन्द्रले मेसिन खरिद गरी मेसिनले आलु रोप्ने काम थालेपछि आलु रोप्ने काम छिटो हुने केन्द्रका वरिष्ठ वैज्ञानिक केन्द्र प्रमुख जनार्जन गौतमले जानकारी दिनुभयो ।

केन्द्रले पाँच लाख रुपियाँको दरले दुईवटा आलु रोप्ने मेसिन (टयाक्टर) खरिद गरेको छ । प्रमुख गौतमका अनुसार मेसिनले प्रतिघण्टा दुई रोपनी जमिनमा आलु रोपिसक्छ । 

प्रमुख गौतमाले भन्नुभयो, ‘हामीले पहिलो पटक दुईवटा मेसीनबाट डेमो गरेका हौँ, अब ज्यामी बढी लाग्ने झन्झटबाट मुक्त भएका छौँ ।’ मलखादलगायत अन्य काम भने ज्यामी (मानिस) ले गर्ने गरेका छन् ।  

केन्द्रले जौबारीमा ३५ क्विन्टल आलु रोपीसकेको छ भने थप पाँच क्विन्टल आलु रोप्ने काम धमाधम भइरहेको छ । जौबारीमा केन्द्रको साढे तीन हेक्टर जमिन छ । मेसिनले रोपेको र ज्यामीले रोपेको आलु उत्पादनको अवस्था हेरेर अर्को वर्ष थप मेसिन खरिद गर्ने केन्द्र प्रमुख गौतमले जानकारी दिनुभयो । 

केन्द्रमा जनकदेब, खुमल विकास, खुमल सेतो, खुमल उज्ज्वल र डेजीरे जातका आलु रोप्ने गरिएको छ । केन्द्रमा उत्पादन भएको आलुको बीउ इलाम जिल्लाभित्र र अन्य जिल्लामा समेत खपत हुँदैआएको छ । केन्द्रले बीउका लागि मात्र आलु बिक्री गर्ने गरेको छ । प्रतिकिलोग्राम ८५ रुपियाँले बिक्री गर्दैआएको केन्द्रले आगामी वर्ष उत्पादन बढ्ने भएपछि मूल्य घटाउने जनाएको छ । 

केन्द्रसँगै रहेको कृषि ज्ञान केन्द्र अन्तर्गतको बागवानी विकास केन्द्रले समेत सो क्षेत्रमा आलु खेती गर्दैआएको छ । कृषि अनुसन्धान केन्द्रले आलुसहित बकुल्लो सिमी, मुला र रायोको जातीय परीक्षणको काम समेत गर्दैआएको छ ।