• २७ पुस २०८१, शनिबार

सामाजिक सुरक्षा कोष र एचआइडिसिएलबिच सम्झौता

blog

काठमाडौँ, माघ १७ गते । सामाजिक सुरक्षा कोष र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) बिच लगानीमा सहकार्य गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआइडिसिएलका अधिकृत अर्जुनप्रसाद गौतमबिच मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । 

यस प्रकारको सम्झौतासँगै अर्बौं रुपियाँ लगानीयोग्य रकम रहेको कोषले जलविद्युत् क्षेत्रलगायतका ठुला आयोजनामा लगानी गर्ने बाटो खुलेको छ । निजी क्षेत्रबाट कोषको ठुलो रकम विकास आयोजनामा खर्च गर्नुपर्ने भन्ने कुरा उठिरहेका बेलामा कोष र एचआइडिसिएलबिच सम्झौता भएको छ । 

कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले कोष र एचआइडिसिएलबिच भएको सम्झौतामा उक्त कम्पनीले आयोजनासहित प्रस्ताव पेस गर्ने र उक्त आयोजना ठिक लागेमा कोषको पैसा लगानी सकिने बाटो खुलेको बताउनुभयो । 

उहाँले लगानी गर्नेसम्बन्धी यस प्रकारको सम्झौता पहिलो पटक एचआइडिसिएलसँग सम्झौता गरेर सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरु गरेका छौँ, बिस्तारै अन्यसँग पनि यस्ता प्रकारका सुम्झौता गर्न सकिन्छ ।”

सम्झौतामा दुवै पक्ष आआफ्नो प्रचलित नीति, नियम तथा निर्णयको अधीनमा रही जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनामा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्नेलगायतका विषय उल्लेख गरिएको छ । त्यसो त कोषमा रहेको रकम निरन्तर बढिरहेको अवस्थामा लगानीयोग्य रकम थुप्रिएर बसेको छ ।  सामाजिक सुरक्षा ऐनले तोकेको क्षेत्राधिकार सुरक्षित एवं दिगो प्रतिफलयुक्त तरिकाले कोषले लगानी गर्न सक्ने छ । उक्त रकम लगानी गरेर योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गरी आर्थिक विकासमा टेवा पु¥याउन सम्झौता गरिएको कोषले जनाएको छ ।

नेपाल सरकारको स्वामित्व र नियन्त्रणमा रहेको एचआइडिसिएल, आन्तरिक तथा बाह्य क्षेत्रबाट वित्तीय स्रोत परिचालन गरी जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनामा ऋण तथा स्वपुँजी लगानी गर्दै आएको छ ।