• २७ पुस २०८१, शनिबार

स्पोर्ट्स अवार्ड विजेतालाई सात लाख बराबरको बिमा

blog

सम्झौता पत्र आदान प्रदान गरिँदै ।

काठमाडौँ, माघ १६ गते । २०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विजेतालाई नेपालको प्रख्यात बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले सात लाख रुपियाँ बराबरको खेलकुद बिमा पोलिसी प्रदान गर्ने भएको छ ।

यही माघ २८ गते हुने अवार्ड समारोहमा विभिन्न विधाका विजेताहरूलाई युनाइटेड अजोडले एक वर्षको लागि बिमा पोलिसी प्रदान गर्ने भएको हो । युनाइटेड अजोड अवार्डको इन्स्योरेन्स पार्टनरको रूपमा समेत आबद्ध भएको छ ।

अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबिच यस सम्बन्धमा मंगलबार सम्झौता भएको छ । सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले हस्ताक्षर गर्नुभयो । 

सम्झौतापछि सीइओ रावलले नेपालमा भर्खरै सुरु भएको खेलकुद बिमा पोलिसिलाई संस्थागत गर्न यस सहकार्यले सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । मञ्चका अध्यक्ष सुवेदीले नेपालकै प्रतिष्ठित बिमा कम्पनीसँग खेलकुदको अवार्ड कार्यक्रम जोड्न पाउँदा खेलाडीहरू थप लाभान्वित हुने बताउनुभयो ।

अवार्डको लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा पर्नुभएको छ । 

अवार्डमा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक हुन बाँकी छ । त्यसबाहेक पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।