हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई/चार सपुत मरेर नगए ।’
कविताका यी हरफ कवि भूपि शेरचनका हुन् । मुलुक बन्नका निम्ति वीर सपुतले जीवन उत्सर्ग गरेकै हुनु पर्छ । हाम्रो प्यारो देशलाई यहाँसम्म ल्याइपुर्याउनका लागि नेपाल आमाका असल तथा आँटी छोराछोरीले आफ्नो बहुमूल्य जीवन उत्सर्ग गर्दै आएका छन् । देश र जनताको हितखातिर मृत्युवरण गर्ने व्यक्तिलाई सहिद भनिन्छ । अर्थात् देश र जनताको अधिकार र स्वतन्त्रताका लागि प्राण आहुति दिनेलाई सहिद भनिन्छ । तिनै सहिदको सम्मान र सम्झनामा हरेक वर्ष माघ १६ मा सहिद दिवस मनाइन्छ । सहिद ती हुन्; जसको नाम लिँदा नै श्रद्धाले शिर झुक्छ ।
विसं १८९१ मा गोर्खामा जन्मेका लखन थापा नेपालका प्रथम सहिद हुन् । उनलाई विसं १९३३ फागुन २ गते मनकामना मन्दिरअगाडि फाँसी दिइएको थियो । प्रथम सहिद लखन थापालाई राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले फाँसी दिएका हुन् । नेपालमा सहादतको इतिहास हेर्ने हो भने प्रामाणिक रूपमा लखन थापालाई पहिलो सहिद मानिन्छ । पल्टनका लाहुरे लखन थापालाई राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको विरुद्धमा प्रचारबाजी गरेको आरोपमा रुखमा झुन्ड्याएर मारिएको थियो । २००७ देखि २०६२/६३ सालसम्मका नेपालको प्रजातान्त्रिक आन्दोलन र वाम आन्दोलनको इतिहासलाई हेर्दा हाम्रो देशमा थुप्रै ज्ञातअज्ञात सहिद छन् ।
१९९७ सालमा जहानियाँ तथा अधिनायकवादी राणा शासनविरुद्ध बुलन्द आवाज उठाएकै आरोपमा राजद्रोहको अभियोग लगाएर राणा शासकहरूबाट मृत्युदण्ड दिइएका चार जना सहिदमध्ये शुक्रराज शास्त्रीलाई माघ १० गते राति १२ बजे काठमाडौँको पचलीमा रुखमा झुन्ड्याएर फाँसी दिइएको थियो । धर्मभक्त माथेमालाई पनि रुखमा नै झुन्ड्याइएको थियो । १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई काठमाडौँको शोभाभगवतीमा नरशमशेर राणाद्वारा गोली हानी हत्या गरिएको थियो । त्यसपछि अन्य देशभक्त सपुत भीमदत्त पन्त, दुर्गानन्द झा, रत्नकुमार वान्तवा, यज्ञबहादुर थापा पनि सहिद हुन पुगे । पञ्चायतविरोधी आरोपमा इलामको सुखानी हत्याकाण्ड, छिन्ताङकाण्ड, भिमान काण्ड, पिस्कर काण्ड, जुगेडी काण्ड, म्याग्दीको सिङ काण्ड, सुर्खेत काण्डमा हत्या गरिएका वीर योद्धाहरू पनि सहिद हुन पुगे । त्यस्तै २०३५ सालको विद्यार्थी आन्दोलनका क्रममा २०४६ सालको पञ्चायतविरोधी आन्दोलनका क्रममा जीवन अर्पण गर्नेहरू पनि सहिद हुन पुगे ।
२०५२ फागुन १ गतेदेखि २०६२ सालसम्म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको सशस्त्र युद्धको क्रममा दसौँ हजार व्यक्तिले जीवन उत्सर्ग गर्न पुगे । उनीहरू पनि महान् सहिद हुन् । सुरेश वाग्ले, कृष्ण सेन ‘इच्छुक’ जस्ता होनहार सपुतको पनि हत्या गरियो । अनेकोट हत्याकाण्ड, दोरम्बा हत्याकाण्डलगायत अन्य हत्याकाण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरू पनि धेरै छन् । २०६२/६३ सालको जनआन्दोलनका क्रममा, मधेश आन्दोलनका क्रममा पनि धेरै जना सहिद हुन पुगे । नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था, तानासाही तथा निरङ्कुश राजतन्त्रविरुद्धका आन्दोलन, दस वर्षे सशस्त्र युद्ध, मधेश आन्दोलन तथा अन्य आन्दोलनमा जीवन अर्पण गरेका महान् सहिदहरूको नाम सबै उल्लेख गर्ने हो भने त्यसको सूची लामो नै हुन्छ ।
कवि शेरचनले “दुई/चार सपुत नमरी मुलुक बन्दैन” भनेका थिए तर हाम्रो देशमा दुई/चार जना मात्र होइन, धेरै सपुत मरिसके तर ती सपुतले बनाउन खोजेको जस्तो मुलुक बनेको छैन । यसबिचमा ठुला ठुला राजनीतिक आन्दोलन भए । ठुला ठुला राजनीतिक परिवर्तन पनि भए । सत्ता र सरकार फेरिए । सरकार सञ्चालन गर्ने व्यक्तिहरू पनि फेरिए तर सहिदले देखेका देश निर्माणका सुन्दर सपनाहरू अधुरै छन्, अपुरै छन् ।
शासकहरू फेरिए । सरकार सञ्चालन गर्नेहरू बदलिए तर उनीहरूको संस्कार र संस्कृति फेरिएन । आचरण र व्यवहार फेरिएन । नेपाली उक्ति ‘पुरानो बोतलमा नयाँ रक्सी’ भने झैँ भइरहेको छ । मुलुकमा केही परिवर्तन नभएको चाहिँ होइन, परिवर्तन भएको छ । लोकतान्त्रिक व्यवस्था चलिरहेको छ । यसको अभ्यास पनि भइरहेको छ । आज लेख्ने, बोल्ने, सभा, सङ्गठन गर्ने, राजनीतिक दल खोल्न पाउने र दलीय प्रतिस्पर्धाको आधारमा राजनीति गर्न पाउने अधिकार प्राप्त भएको छ तर मुलुकको आर्थिक अवस्था चिन्ताजनक छ । नेपाली जनताका गाँस, बास र कपासको राम्रो व्यवस्था अझै हुन सकेको छैन । देशमा उचित रोजगारीको व्यवस्था र उचित शैक्षिक व्यवस्था नभएका कारण लाखौँ युवा विदेश पलायन भइरहेका छन् ।
सरकार सञ्चालन गर्नेहरू विप्रेषण यति आयो मात्र भनिरहेका छन् । नेपाली जनताको निधारमा लाखौँ वैदेशिक ऋण छ । तस्करी, कालोबजारी, कमिसन र माफियातन्त्रले मुलुकलाई पिरोलेको छ । गरिबीले जनता आक्रान्त छन् भने नेताहरू धनी बनिरहेका छन् । सहिदहरूका परिवारजनको बिजोग भइरहेको छ । तिनका छोराछोरी आर्थिक समस्याका कारण शिक्षादीक्षा पाउने अधिकारबाट वञ्चित छन् । बाबुआमा र घरका अन्य परिवारजनले मिठो खाने, राम्रो लगाउने आशा त मरिसकेका छन् भने साहुको ऋण तिर्न नसकेर कतिपय सहिद परिवारको घरजग्गा लिलाम हुने अवस्था भएको छ ।
देश र जनताको हक, हित र अधिकार प्राप्तिका निम्ति जीवन उत्सर्ग गर्ने महान् सहिदहरूले कहिल्यै पनि आफ्नो व्यक्तिगत जीवनको स्वार्थलाई हेरेका थिएनन् । आफ्ना कलिला लालाबाला र जहान परिवारको चिन्ता पनि गरेका थिएनन् । उनीहरू कहिल्यै पनि व्यक्तिगत स्वार्थपूर्ति गर्नेतिर लागेका थिएनन् तर आज तिनै सहिदहरूको नाम भजाएर व्यक्तिगत स्वार्थ पूर्ति गर्नेहरू धेरै छन् । उनीहरूकै व्यवहार र आचरणले गर्दा आज सहिदहरूको रातो रगतले लेखिएको लोकतान्त्रिक व्यवस्थाका विरुद्ध पश्चगामी शक्तिले टाउको उठाउने कोसिस गरिरहेको छ । प्राप्त लोकताान्त्रिक व्यवस्थामाथि पश्चगामी कालो बादल मडारिँदै छ । यी सबै दर्दनाक अवस्था देख्दा कहिले पूरा होलान् सहिदका सुन्दर सपना भन्ने लाग्दछ ।
सहिद भनेका समाज र जनताका तारा हुन्, जसले समाजमा परिवर्तन ल्याउन, मुलुकको विकास र जनताको समृद्धिका लागि दियोको काम गर्दछन् । सहिदको मृत्यु सगरमाथाभन्दा पनि उच्च हुन्छ । उनीहरू मरेर पनि बाँचिरहेका हुन्छन् । त्यसैले सहिद सधैँ सधैँ ‘अमर’ हुन्छ भनेर सम्मान गरिन्छ । उनीहरूलाई सधैँ सधैँ आदर र कदर गरिन्छ किनभने सच्चा सहिदले देश र जनताको हितबाहेक अरू केही हेरेका हुँदैनन् । योभन्दा फरक सोचेका पनि हुँदैनन् । त्यसैले उनीहरूले मरेर पनि उच्च कोटिको सम्मान पाएका हुन्छन् । समाजले अनन्तकालसम्म सम्झने र कदर गर्ने गर्छ ।
देश र जनताको हकअधिकारका लागि ज्यानको आहुति दिने सहिदलाई उच्च सम्मान गरी उनीहरूका इच्छा, आकाङ्क्षा र अधुरा सपनालाई पूरा गर्दै जान सके मात्रै उनीहरूप्रति सच्चा सम्मान प्रकट गरेको ठहरिन्छ । सहिदको रातो रगतले लेखिएको देशको गौरवमय इतिहासलाई दृष्टिगत गर्दै सहिदका परिवारलाई शिक्षा, स्वास्थ्य, रोजगारलगायत राज्यले अवसर प्रदान गर्नु पर्छ । वीर सहिदका विचार र भावनाको कदर गर्न सके मात्रै उनीहरू युगौँसम्म अमर हुने छन् ।
सम्पूर्ण सहिदको मृत्यु सगरमाथाभन्दा उच्च रहेको छ । उनीहरूले देखाएको बाटोमा अविचलित भएर हिँड्नु र उनीहरूले देखेका सुन्दर सपना पूरा गर्ने ऐतिहासिक दायित्व हाम्रो काँधमा आएको छ । त्यो हामीले पूरा गर्नु पर्दछ । यही सङ्कल्प गरेर उनीहरूले देखाएको बाटोमा हिँड्न सके मात्र आजको ऐतिहासिक दिनमा सहिदप्रति सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिने छ ।
हामीले के कुरालाई हेक्का राख्न जरुरी छ भने सरकारले सस्तो लोकप्रियता आर्जन गर्ने नाममा जथाभावी सहिद घोषणा गर्दै आएको छ । यसले सच्चा सहिदको अपमान भएको छ । त्यसैले सरकारको यस प्रकारका निर्णयलाई अब पुनरवलोकन गर्नु पर्छ । अमर सहिदहरूलाई सम्मान गर्नु असल नागरिकको परम कर्तव्य हो । नेपालको राजनीतिक इतिहासमा आजको दिन एक ऐतिहासिक दिन हो । यस ऐतिहासिक दिनमा सम्पूर्ण सहिदलाई सम्झेर मात्र उनीहरूप्रति हाम्रो कर्तव्य पूरा हुँदैन, उनीहरूले देखाएको बाटोमा पनि हिँड्न सक्नु पर्छ । सच्चा देशभक्त नेपाली र महान् अमर सहिदका परिवारजन सहिदले देखाएको यही बाटोमा देश कहिले हिँड्छ भनेर पर्खी बसेका छन् र भनिरहेका छन् – कहिले आउलान् सहिदका सुन्दर सपना साकार हुने दिन ?