• २७ पुस २०८१, शनिबार

स्मृति दिवसमा सहिद दुर्गानन्दको स्मरण

blog

धर्बेन्द्र झा 

धनुषा, माघ १५ गते । नेपालमा गणतन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्नुभएका सहिद दुर्गानन्द झाको ६० औँ स्मृति दिवसमा सोमबार उहाँलाई स्मरण गरिएको छ ।  

मधेश प्रदेशको राजधानी जनकपुरधाममा दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले आफ्नो कविताको माध्यमले झाको योगदानको चर्चा गर्नुभयो । 

कार्यक्रममा अधिकांश वक्ताले झासहित विभिन्न सहिदको बलिदानीबाट प्राप्त गणतान्त्रिक व्यवस्थालाई राजनीतिक दलहरूले कमजोर पार्ने किसिमले कुनै पनि काम गर्न नहुने बताउनुभयो । देशमा सङ्घीयता र गणतन्त्र आए पनि त्यसको अभ्यास भने आम जनताले गर्न नसकेकै कारण असन्तुष्टि बढ्न थालेकाले राजनीति दलका नेताहरू सचेत हुनुपर्ने बताउनुभयो ।  

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले झा साहसिक व्यक्ति रहेको र गणतन्त्र प्राप्तिका लागि उहाँले दिनुभएको योगदानको कदर हरेक पक्षले गर्नुपर्ने बताउनुभयो । उहाँले झाको योगदानलाई नबिर्सेर जनकपुरधाम उपमहानगरपालिकाले कामकाज गर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता प्रवेश चौधरीले जटही जनकपुर सडकको नाम सहिद झाको नाममा राखेर नगरपालिकाले उहाँको बलिदानको कदर गर्नुपर्ने बताउनुभयो । 

मधेश आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका युवा नेता इन्द्रकुमार मधेशानन्दले झाको नाम नेपाली कांग्रेससँग जोडिए पनि कांग्रेसले उहाँका लागि केही नगरेको बताउनुभयो । वक्ताहरूले झाको व्यक्तित्व, योगदानको साथसाथै देशको समसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा आफ्नो धारणा राख्नुभएको थियो । 

सहिद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रका अध्यक्ष शम्भुनाथ झाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रतिनिधि सभा सदस्य स्मृतिनारायण चौधरी, नीति आयोग मधेश प्रदेशका पूर्व उपाध्यक्ष डा. हरिवंश झा, पत्रकार अजय झासहितले धारणा राख्नुभएको थियो । 

राजतन्त्रविरुद्धको आन्दोलनमा दुर्गानन्द झाले जनकपुरको जानकी मन्दिर अगाडि तत्कालीन राजा महेन्द्र शाहमाथि बम प्रहार गरेर पक्राउ पर्नुभएको थियो । उहाँलाई वि.स २०२० माघ १५ गते आजकै दिनमा तत्कालीन शासकले मृत्युदण्ड दिएको थियो ।