बबई समाचारदाता
बबई (बर्दिया), असार १९ गते । बबई सिँचाइ आयोजनामा तीन पटक समय थप गर्दासम्म पनि १९ वटा ठेक्का सम्झौताको काम पूरा हुन सकेको छैन ।
आयोजनाको कामका लागि ठेक्का सम्झौता गर्ने र काम नगर्ने निर्माण व्यवसायीलाई पक्षपोषण हुने गरी खरिद ऐन संशोधन हुँदा बबई सिँचाइ आयोजनामा बर्सौंदेखि सम्झौता गरेका काम हुन सकेका छैनन् ।
बबई सिँचाइ आयोजनाले सिञ्चित क्षेत्र संरक्षण गर्न राजेन्द्र शर्मा जेभी कैलालीसँग २०७५ सालमा गरेको ठेक्का सम्झौता अनुसारको काम समेत पूरा हुन सकेको छैन भने ठाकुर बाबा नगरपालिका अन्तर्गत पर्ने उत्तर कुलो निर्माणका लागि २०७८ मा अमर मेनका जेभी बर्दियासँग गरेको ठेक्का सम्झौता पनि कार्यान्वयन हुन सकेको छैन ।
२०७७ सालमा सिँञ्चित क्षेत्र संरक्षण गर्न काठमाडौँको जलजला निर्माण सेवासँग सम्झौता भएको काम समेत पूरा भएको देखिँदैन । नदी संरक्षणका लागि अमर सिस्ने जेभीसँग २०७८ सालमा सम्झौता भएका तीन वटा सम्झौताको काम नहुँदा नदी कटानसमेत बढेको देखिन्छ । मधुवन नगरपालिकाको नहर निर्माण गर्न २०७८ सालमा जिम्मेवारी लिएको काष्ठमण्डप जयमा सुसनले गरेको सम्झौतासमेत अहिलेसम्म सम्पन्न भएको छैन । बारबर्दिया नगरपालिकाको वडा नं. १, २, ३ मा क्यानल निर्माण गर्न जयदेवी एसएस निर्माण सेवासँग २०७८ सलामा भएको सम्झौताबमोजिम काम नहुँदा अहिलेसम्म पनि त्यस क्षेत्रमा पानी सिँचाइ हुन सकेको छैन । त्यसै गरी अमन कन्स्ट्रक्सन गुलरियासँग सम्झौता भएका छ ठेक्कासहित १९ वटा ठेक्काको काम सुस्त गतिमा अगाडि बढेको छ भने एकै कम्पनीले एकभन्दा बढी ठेक्का सम्झौता गर्दा काम हुन नसकेको देखिन्छ ।
नहर निर्माणका साथै सिँञ्चित एरिया संरक्षण गर्न बबई सिँचाइ आयोजनामा बबुल तिरुपति श्रीकृष्ण जेभी, जलजला निर्माण सेवा, अमर बर्दिया जयबागेश्वरी, अमर सिस्ने, काष्ठमण्डप जयमा जयदेवी, बबुल तिरुपति श्रीकृष्ण जेभी, जयदेवी एसएस निर्माण सेवा, अनक जयदेवी, अमर बर्दिया ब्ल्याक बक, अमर सिस्ने र अमर कन्स्ट्रक्सन गुलरियाले ठेक्का सम्झौता गरेको बर्साैँ बित्दा पनि ठेक्का सम्झौताको काम पूरा गर्न सकेका छैनन् भने कामको प्रगतिसमेत उल्लेखनीय हुन सकेको छैन ।
बबई सिँचाइ आयोजनाले सम्झौता भएका काम गर्न पटक पटक ठेक्का सम्झौताको समय थप गर्दा समेत काम हुन सकेको छैन । बबई सिँचाइ आयोजनाका सूचना अधिकारी वरिष्ठ डिभिजनल इन्जिनियर दिनेश पौडेलले कार्यालयले काम गर्न ताकिता गर्दा समेत निर्माण व्यवसायीले कुनै चासो नदेखाएको बताउनुभयोे । बबई सिँचाइ आयोजनाका आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले कार्यालयले निर्माण व्यवसायीलाई पत्र काट्दासमेत निर्माण व्यवसायीले काम गर्न आनाकानी गर्ने गरेको बताउनुभयो ।