यदुप्रसाद भट्ट
मनाङ, असार १९ गते । मनाङ जिल्ला समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको छ । जिल्लाको क्षेत्रफल दुई हजार २४६ वर्गकिलोमिटरमध्ये थोरै भूभागमा खेतीपाती गरिन्छ । जिल्लाभरिमा खेतीयोग्य जमिन दुई हजार १५६ हेक्टर मात्र छ भने सो क्षेत्रफलमध्ये दुई हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको छ । यस अन्तर्गत एक हजार ६३ हेक्टर सिञ्चित क्षेत्रफल छ भने अन्य क्षेत्रमा प्राकृतिक रूपमा खेती गरिन्छ ।
मनाङमा स्थानीय हावापानी र माटो सुहाउँदो रैथाने बाली फस्टाउँदै गएको छ । मनाङका रैथाने बालीमा जौ, गहुँ, फापर, करु, उवा आदि पर्छन् । विगतदेखि नै मनाङवासी यिनै रैथाने बालीमा आत्मनिर्भर थिए । बढ्दो सहरीकरण र जलवायु परिवर्तनले गर्दा हाल कतिपय स्थानमा रैथाने बाली लोप हुने अवस्थामा छन् । सडक सञ्जालको पहुँच अनि आयातित खाद्यान्नले गर्दा परम्परागत रूपमा लगाइँदै आएका रैथाने बाली जोगाउन यहाँका किसानले खेती गर्ने तरिका नै परिवर्तन गर्दै आएका छन् ।
पछिल्ला दिनमा रैथाने बाली कम हुँदै गएको तर खेती गर्ने नयाँ तौरतरिकाले गर्दा किसानमा उत्साह जागेको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीले बताउनुभयो । वैज्ञानिक तरिकाले खेती गर्दा पनि रैथाने बालीको संरक्षण भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले आलु लगाएको ठाउँमा अर्को साल फापर लगाउँछन् । यसले गर्दा उत्पादन घट्दैन, बरु बढ्दै गएको छ ।”
मनाङमा निर्माणाधीन जलविद्युतका कारण पनि खेतीपाती गरेर खानुभन्दा कलकारखाना उद्योगमा जागिर खाने प्रवृत्तिले गर्दा किसानी गर्नेको सङ्ख्या घट्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । मनाङकै विकट मानिने नार्पाभूमि गाउँपालिकाको नारमा तीन भागको एक भाग जमिन बाँझै रहेको अध्ययनले देखाएको प्रमुख रेग्मीले बताउनुभयो । त्यसै गरी फुमा पनि खेतीपाती गर्ने मानिस पाउन कठिन हुँदै गएको उहाँको भनाइ छ ।
मनाङ ङिस्याङ गाउँपालिकामा भने किसानले उत्साहका साथ खेतीपाती गर्दै आएका छन् । विकट केही स्थानलाई छोडेर हेर्ने हो भने यहाँ रैथाने बालीको संरक्षण भएको पाइन्छ । चौँरी, भेडाच्याङ्ग्रा पाल्दै आएका किसानले बारीमा गोबर मल नै प्रयोग गर्ने भएकाले पनि यहाँ रैथाने बाली फस्टाउँदै गएको छ ।
विगत चार वर्षको तुलनामा स्थानीय आलु खेती गर्ने क्षेत्रफलमा वृद्धि भएको पाइन्छ । अन्य बालीको तुलनामा आलुको माग तथा खपत बढी हुन थालेकाले व्यावसायिक रूपमा यसको धेरै खेती गरिन्छ । वर्षको आठ महिना स्वदेशी तथा विदेशी पर्यटकको घुमाइ, बसाइ र रोजाइमा मनाङ पर्दा आलुको धेरै खपत हुन थालेपछि किसान आलुखेतीतर्फ आकर्षित हुन थालेका हुन् । अन्य बालीमा धेरै जनशक्ति लाग्नुका साथै लागत पनि धेरै लाग्ने हुनाले उत्पादन घट्दै गएको छ । जिल्लाको तल्लो भेगमा मकै, कोदो र दलहन बाली पनि लगाइन्छ । तरकारी खेतीमा पनि मनाङ आत्मनिर्भर हुँदै गएको कृषि ज्ञान केन्द्र मनाङले दाबी गरेको छ । पहिले पहिले मनाङको तल्लो भागमा घैया धान र कोदो खेती गरिन्थ्यो तर अचेल यी बाली लोप भइसकेका छन् ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले हाल उत्पादन बढी लिने उद्देश्यका साथ गरिएको खेतीले रैथाने बाली लोप भएका हुन् । त्यसै गरी प्राविधिकमा ज्ञान सिप अपुग भएको ठहर केन्द्रको छ । संरक्षण केन्द्रले फापर, कोदो, जौ, कागुनो, चिनो, उवा, लट्टे, जुनेलो, मस्याम, गहत, खेसरी, भाँगो सिमी, सिलाम, झुसे तिल आदिलाई स्थानीय रैथाने बालीमा सूचीकृत गरेको छ ।