स्याङ्जा समाचारदाता
स्याङ्जा, असार १९ गते । पुतलीबजार नगरपालिका–१, शिक्षाचोकबाट काल्खु हुँदै तनहुँको शुक्लागण्डकी दुलेगौँडा जाने स्याङ्जा खण्डको सडक कालोपत्रे भएको छ । यो सडक विश्व बैँकको ऋण सहयोगमा नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना काठमाडौँ अन्तर्गत पुतलीबजार नगरपालिकाले कालोपत्रे गरेको हो । विश्व बैँकको ऋणमा सरकारले आयोजनामार्फत देशका १७ नगरपालिकाका २१ वटा सडक कालोपत्रे गर्ने गरी काम अगाडि बढाएकोमा यो एउटा सडक हो ।
निर्माण कम्पनीले २०८० चैत २७ गते १५ महिनामा सक्ने गरेर पुतलीबजार नगरपालिकासँग सम्झौता गरेको थियो । इन्जिनियर सुदीप बरालले सडक ४६ करोड तीन लाख ८९ हजार ६९ रुपियाँमा सडक निर्माण सकेको बताउनुभयो । सडकको मुख्य काम सम्पन्न भएको छ भने सामान्य काम बाँकी छन् ।
नगर प्रमुख तुलसीराम रेग्मीले योजना निर्धारित समयमा पूरा भएको बताउनुभयो । आगामी आवका लागि समेत १२ करोड ८१ लाख ८१ हजार रुपियाँ कालेपत्रेका लागि विनियोजन भएको बताउँदै रेग्मीले स्याङ्जा खण्डको अझै पाँच किलोमिटर कालोपत्रे बाँकी रहने बताउनुभयो । यो सडक दुलेगौँडा जोडिएसँगै पोखरा हुँदै काठमाडौँ जाने यात्रुलाई ५७ किमी लामो सडक ४० किमीमा छोटिने बताइएको छ ।