• १३ असोज २०८१, आइतबार

‘पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण’

blog

काठमाडौँ, माघ १४ गते । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरण गर्न पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने गरेको बताउनुभएको छ । 

पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को राजधानीमा शनिबार विमोचन गर्दै उहाँले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले पत्रकारिता क्षेत्रको माध्यमबाट मानव अधिकारको संरक्षण र प्रवर्धनका क्षेत्रमा पैरवी गर्दै महत्वपूर्ण उपलब्धि हासिल गर्न योगदान दिएको पनि बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नु पर्दछ, त्यसका लागि हामी सबैको सामूहिक दायित्व पनि हो । पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि धुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारले सधैँ साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।” 

उहाँले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व नेपाल पत्रकार महासङ्घको भूमिका अग्रणी र महत्वपूर्ण रहेको भन्दै यसका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । उपप्रधानमन्त्री खड्काले जहानिया राणा शासनकालदेखि सुरु भएको नेपाली पत्रकारिताले राणाशासनविरुद्ध जनजागरण ल्याउनुका साथै एकदलीय पञ्चायतविरुद्धको अभियान हुँदै बहुदलीय प्रजातन्त्र स्थापना र हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका साथै विकास र समृद्धिको यात्रामा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “पत्रकारिता आवाजविहीनहरूको आवाज एवं समाजको ऐना भएकाले लोकतन्त्रलाई समुन्नत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्वपूर्ण भूमिका छ र यो आगामी दिनमा पनि कायम रहन्छ भन्ने मेरो विश्वास छ ।” उहाँले राज्यका अन्य क्षेत्र जस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने भन्दै यसले नागरिकको भरोसा अभिवृद्धिमा सहयोगसिद्ध हुनुपर्ने धारणा राख्नुभयो । 

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यदाकदा पत्रकारिता क्षेत्रमा समेत अरू क्षेत्रको जस्तै कमीकमजोरी देखिने गरेको छ । पत्रकारले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्ने मूल दायित्वबाट विचलित नभई न्यायको पक्षमा सतीसाल जस्तो उभिनु पर्छ ।” उपप्रधानमन्त्री खड्काले फल्स फ्रन्ट पेज पुस्तक व्यावसायिक रूपमा देखिएको गलत अभ्यासबाट सञ्चिएर जिम्मेवार पत्रकारिताको विकास गर्न सहयोगसिद्ध हुने बताउनुभयो ।