काठमाडौँ, माघ १४ गते । नेपाल वायुसेवा निगमले सिनामङ्गलस्थित जग्गामा नयाँ प्रधान कार्यालय निर्माण गर्ने भएको छ । ३४ रोपनी १४ आना दुई पैसा तीन दाम क्षेत्रफल रहेको निगमको उक्त जग्गामा प्रधान कार्यालय निर्माण गर्न शनिबार भूमि पूजन कार्य गरिएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा मुख्यालय सिनामङ्गलमा सार्ने योजना अनुसार शुक्रबार भूमि पूजन गरिएको हो । उहाँले भन्नुभयो, “प्रधान कार्यालय सिनामङ्गलमा सार्ने विषयमा विभिन्न समयमा छलफल, नीतिगत निर्णय र विस्तृत परियोजना प्रतिवदेन तयार भएपनि निर्माणको चरणमा जान सकेको थिएन । भूमि पूजन भएसँगै यसको निर्माण प्रक्रियाका लागि लगानी, लागत, बोलपत्रलगायतका प्रक्रिया अघि बढ्ने छ ।”
इन फ्लाइट किचनसहितको भवन निर्माणका लागि निगम व्यवस्थापनको निर्णयपछि भूमि पूजन भएको हो । हाल मुख्यालय रहेको न्युरोडको भवन के गर्ने भन्नेबारेमा थप छलफल अघि बढ्ने उहाँले बताउनुभयो ।
हाल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका संरचना प्रयोगमा ठुलो रकम भाडाबापत तिर्दै आएको छ । नयाँ भवन निर्माणपछि तिर्दै आएको भाडाबापतको वार्षिक करोडौँ रकम बच्ने र मुख्यालयको केही स्थान भाडामा दिएर थप आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै हाल मुख्यालय रहेको न्युरोडको भवन व्यापारिक प्रयोजनमा दिएर त्यसबाट समेत आम्दानी हुने उहाँको भनाइ छ ।
निगम कर्मचारी सङ्घका उपाध्यक्ष ऋषिकेश पन्थीले सिनामङ्गलको जमिन अतिक्रमण भइरहेकाले मुख्यालय बनाउने तयारी भएको बताउनुभयो । उहाँका अनुसार सिनामङ्गलमा मुख्यालय निर्माणका लागि यसअघि विसं २०६१ मा पहिलो पटक विस्तृत परियोजना प्रतिवदेन तयार पारिएको थियो तर काम अघि बढेन ।
त्यस्तै विसं. २०६३ मा दोस्रो पटक विस्तृत परियोजना प्रतिवदेन तयार पारिएको थियो । उक्त प्रतिवेदनमाथि पनि थुप्रै अध्ययन, बहस र छलफल भए पनि निचोड आउन नसकेपछि काम अघि बढ्न नसकेको उहाँको भनाइ छ । अहिले विसं २०६६ मा बनेको विस्तृत परियोजना प्रतिवदेनका आधारमा भवन निर्माण प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो ।
निगमले यसअघि विसं २०७३ मा पनि न्युरोडको मुख्यालय भत्काई आधुनिक कम्प्लेक्स बनाउने नीतिगत निर्णय गरेको थियो । उक्त समयमा अहिलेको भवन भत्काएर व्यापारिक प्रयोजनको भवन बनाउने र मुख्यालय सिनामङ्गल सार्ने निगमको व्यवस्थापनले निर्णय गरेको थियो । हाल मुख्यालय भवन १४ रोपनी सात आना एक पैसा एक दाम क्षेत्रफलमा रहेको छ ।
विसं २०१५ मा शाही नेपाल वायुसेवा निगम (आरएनएसी) का रूपमा स्थापित निगमसँग हाल काठमाडौँ, मोरङ, बाँके, मुस्ताङ, कास्की, दाङ, रुपन्देही, सुर्खेत, गोरखा, सङ्खुवासभा, कञ्चनपुर, कैलाली, पर्सा, जुम्ला, खोटाङ, हुम्ला र बैतडी गरेर २३ ठाउँमो जग्गाजमिन र भवन छ । निगमको सबैभन्दा धेरै जग्गा बाँकेका तीन ठाउँमा नौ बिघाभन्दा बढी छ । बाँके, विराटनगर र पोखरालगायतका ठाउँबाट निगमले वार्षिक लाखौँ रकम भाडाबापत उठाउँदै आएको छ ।