• २१ वैशाख २०८१, शुक्रबार

सामाजिक काममा सघाउँदै तनहुँ हाइड्रो

blog

फाइल तस्बिर

दमौली (तनहुँ), माघ १२ गते । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको छ । 

आयोजनाबाट प्रभावित विभिन्न पालिकामा सामाजिक उत्तरदायित्वअन्तर्गत नाला तथा आमा समूहको भवन निर्माण, तटबन्धन, सडक बत्ती जडान, नदी नियन्त्रणलगायतका काम गर्दै आएको हो । आयोजना निर्माणका लागि समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौँ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।” आयोजनाको सहयोगबाट व्यास नगरपालिका-५ वेनीपाटनमा पराशर माध्यमिक विद्यालयको भवन निर्माण भइरहेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयको दुई तले आठ कोठा भवनको काम अन्तिम चरणमा पुगेको छ । 

भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायीबिच एक करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको थियो । भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भिमाद नगरपालिका-५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माणको काम पनि हालै सुरु भएको छ । ९४ लाख ५७ हजारको लागतमा निर्माण सुरु भएको भवन वि.सं २०८१ माघ २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत ऋषिङ-१ झापुटारमा नाला निर्माण, व्यास-५ स्थित सेतीमादीको दोभानस्थित पराशर पार्कमा तटबन्धन, व्यास-१३ बेलवासमा सिद्धबेनी माध्यमिक विद्यालयमा सुधारात्मक निर्माण, आमा मिलीजुली समूहको भवन, व्यास-५ को चापाघाटदेखि आयोजनाको क्याम्पसम्म सडक बत्ती जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै व्यास-१३ को बेलवासदेखि ऋषिङ-१ झापुटारसम्म सेती नदीमा तटबन्धन, आयोजना प्रभावितलाई सीपमूलक तालिम, कोभिड प्रभावित विपन्न परिवारको सहयोगार्थ राहत वितरण, भिमाद-५ वान्टाङ खोलामा पाइप कल्भर्ट, सिँचाइ, कुलो, खानेपानी, पल्ट्याङमा ग्रामीण सडक स्तरोन्नति, म्याग्दे-४ मा खानेपानी पूर्वाधार निर्माणमा आयोजनाले सहयोग पुर्‍याएको छ । 

आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत ११ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालित छन् । आयोजनाको बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने व्यास-५ स्थित सेती र मादी नदीको दोभानको दायाँतर्फको नदी किनार संरक्षण कार्य एक करोड ८९ लाख ५० हजार ३० मा खरिद सम्झौता भई निर्माण सम्पन्न भएको जनाइएको छ । 

भिमाद-५ मा छ लाख ७२ हजार तीन सय ६६ को लागतमा बिर्ता ढुङ्गे सिँचाइ नहर, २० लाख ७५ हजार तीन सय ९४ को लागतमा वान्टाङखोला अस्थायी मर्मत कार्य सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका-४ मा १८ लाख ६५ हजार एक सय ९३ को लागतमा डडुवा कोलडाँडा पिपलथोक धारादी लिफ्टिङ खानेपानी योजना, २२ लाख ६० हजार २४ मा ऋषिङ-१ स्थित चालिसे काहुँ झापुटार सडक मर्मत, १२ लाख ८२ हजार आठ सय २२ को लागतमा पल्ट्याङ ग्रामीण सडक स्तरोन्नति, ऋषिङ-१ मा नौ लाख २० हजार एक सय ६७ को लागतमा खोल्सी ढल व्यवस्थापन, व्यास-५ वडा कार्यालयमा १२ लाख एक हजार नौ सय आठको लागतमा वडा वनको पेटी मर्मत गरिएको आयोजना कार्यालयले जनाएको छ । 

आयोजनाबाट प्रभावितलाई विभिन्न सीपमूलक तालिम दिएर उद्यमी बनाउने प्रयास गरिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो । आयोजनाको पुनः स्थापना तथा आदिवासी जनता योजनामा व्यवस्था भएअनुरूप आयोजना प्रभावितको सामाजिक विकास एवम् जीविकोपार्जन पुनः स्थापना अन्तर्गत बाख्रापालन, सिलाइबुनाइ, हाउस वायरिङ, प्लम्बिङ तालिम प्रदान गरिएको आयोजनाले जनाएको छ । आयोजनाले प्रभावित क्षेत्रका एक सय २१ जनालाई सीपमूलक तालिम प्रदान गरेको उहाँको भनाइ थियो । रासस