विदेश जान्छु भन्ने सपना प्रत्येक युवाको छ । मनग्गे पैसा कमाएर सहरमा सुविधा सम्पन्न घर र आधुनिक शैलीको जीवनयापनको लालसा छ । देशमा गरी खाने वातावरण छैन भनिन्छ । सुशासन, विकास र निष्पक्षताका कुरा कुरामै सीमित छन् । स्वाभिमानी भएर बाँच्न अवस्था न्यून छ । पेसा व्यवसाय चौपट छन् । जहाँ गयो उतै ‘पसल बिक्रीमा’ विज्ञापन देखिन्छ । अकासिँदो मूल्यवृद्धिले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिक जीवन निर्वाह गर्न हम्मे हम्मेमा छन् । बिदेसिएका युवालाई स्वदेश फर्काउने नीति/रणनीति राजनीतिक दलसँग छैन । देशमा आर्थिक गतिविधि र उत्पादन घट्दै छ । रुखोसुखो गरी जरजाम गरेका ग्रामीण बस्तीका अभिभावक बालबालिका विदेश पठाउन बाध्य छन् । देशमा व्यापारी, ठेकेदार, नेता र कर्मचारीतन्त्रको शासन छ ।
अहिलेको अवस्था ठ्याक्कै ‘ब्रेन ड्रेन’ जस्तो होइन । जब दक्ष व्यक्ति वा पेसेवर देश छाडेर राम्रो फाइदा एवं उत्तम जीवन यापन गर्न विकसित देशमा जान्छन् तब ब्रेड ड्रेन हुन्छ । उत्तम जीवन परै रहोस् अहिलेको पलायन न्यूनतम जीवन निर्वाहमा सीमित छ । देशले अँगालेको गलत शिक्षा नीतिले युवालाई निरास बनाएको छ । पलायन आफैँमा कष्टकर हुन्छ । पलायन हुनेमा दक्षभन्दा अदक्ष श्रमिक बढी छन् । देशको अर्थतन्त्र राजनीतिक अस्थिरताले खोक्रो बनाएको छ । अदक्ष श्रमिकको रेमिट्यान्सले देश धानेको छ । ब्रेन ड्रेन हुँदो हो त हाम्रा युवा उच्च शिक्षा पढ्न जान्थे । शिक्षादीक्षामा सक्षम भएर विकसित देशमा बसाइँ सर्थे । अतिउत्तम जागिरको अवसर, उच्च तलब, राम्रो जीवनको खोजी गर्दै वैज्ञानिक, चिकित्सक, इन्जिनियर, प्राध्यापक आदि प्रतिभाशालीमा परिचित हुन्थे ।
विद्यार्थीको रोजाइमा संयुक्त राज्य अमेरिका, युनाइटेड किङ्गडम, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, जर्मनी, चीन आदि देश छन् । विदेश अध्ययनार्थ अनुमति लिने विद्यार्थीको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । देशमा रोजगारी प्राप्त गर्ने अवस्था छैन । श्रमिक पलायन हुनुमा अनिश्चित रोजगारीको अवसर, देशको आर्थिक दूरावस्था, राजनीतिक अस्थिरता, नातावाद, भ्रष्टाचार, दोषपूर्ण शिक्षा प्रणाली, विश्वव्यापीकरण र कनेक्टिभिटीको सहजता, सामाजिक र सांस्कृतिक कारण, अनुसन्धान र विकासको नीतिको अभाव, दक्ष जनशक्तिको उत्पादन नहुनु, उद्योग कलकारखाना नहुनु आदि छन् । युवा पलायन रोक्न सरकारले शैक्षिक प्रणालीमा सुधार गरी रोजगारमूलक शिक्षा प्रणाली लागु गर्ने, राजनीतिक स्थिरतासहितको सुशासन कायम गर्ने, सामाजिक जीवन सहज बनाउने, शान्ति र सुरक्षाको गारेन्टी दिने, पलायन भएका युवालाई देशमा बोलाएर उनीहरूको सिप र चाहना अनुसार उत्पादनमा जोड्ने सामथ्र्य देखिँदैन ।
कैयौँ मुलुकमा विद्यार्थी पढाइ अतिरिक्त बचेखुचेको (आंशिक) समयमा काम गर्न पाउँछन् । विदेशमा अध्ययन गर्न सजिलो छ । नेपाली मितव्ययी हुन्छन् । दुःख सुख झेल्न सक्छन् । जस्तोसुकै अवस्थामा जीवनलाई अगाडि बढाउन सक्छन् । वैश्वीकरणले संसारलाई सीमाविहीन बनाएको छ । संसार एउटा गाउँ बनेको छ । डिभी, पिआर, विद्यार्थी भिसा, विदेशी सरकारी तथा गैरसरकारी जागिर, विदेशी कम्पनीको जागिर आदिबाट पलायन भई बाहिरिने विद्यार्थी/श्रमिक विश्व श्रमबजारमा उपस्थित हुने अवसर पाउँछन् । नेपाली श्रमिक सस्तो र इमानदार कामदारका रूपमा परिचित छन् । वैश्वीकरणले नेपाली समाजमा सकारात्मक तथा नकारात्मक दुवै प्रभाव पारेको छ । वैश्वीकरणको प्रभाव अत्यधिक छ । एकअर्को मुलुकमा पलायन झन्झन् बढेको छ । सूचना प्रविधिको क्रान्तिकारी सफलताले वैश्वीकरण तीव्र छ । वैश्वीकरणले युवाको बौद्धिक क्षमता मात्र बढाएको छैन उत्तम आर्थिक अवसर पनि प्रदान गरेको छ ।
सर्वोत्तम पढाइ, कमाउने अवसर, उत्तम तलबको प्राप्ति, उच्च र आधुनिक भौतिक सामग्रीको उपलब्धता, गुणस्तरीय उत्पादन एवं सेवाको चाहना आदिले पलायन बढ्दो छ । भौतिक सुविधाको खोजीले उत्तम किसिमको अन्तरदेशीय सम्बन्ध स्थापित गराएको छ । युवा देश विशेषका मात्र होइनन् विश्वका कर्णाधार भएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय मूल्यको तुलनात्मक अध्ययन गर्ने अवसर पाइरहेका छन् । नेपाली श्रमिकले पश्चिमी संस्कृतिको अध्ययन, मनन, चिन्तन अवलम्बनले नेपाली संस्कृतिलाई अन्तरघुलन गर्ने अवसर पाएका छन् । अवसर पाए भने सूचना प्रौद्योगिकीले विशाल संसाधनको अध्ययन गरी नयाँ विचार, प्रतिस्पर्धा र मनोरञ्जनका साधन प्राप्त गरी प्रयोग गर्न सक्छन् भन्ने प्रमाणित गरेका छन् ।
सहकर्मी बिदेसिने भएपछि जो कोही आफ्नो करियरको विकल्प सोच्न बाध्य हुन्छन् । अहिलेको युग पलायनमय बनेको छ । पलायन रोकेर रोकिने अवस्था छैन । रोजगारीको अनिश्चितताले पलायन रोक्न सकिँदैन । उत्तम मानिएको सङ्घीय गणतान्त्रिक व्यवस्थाले पनि चाहे अनुसारको परिवर्तन गर्न सकेन । शिक्षा, स्वास्थ्यलगायतका विषय व्यवस्था अनुकूल नहुँदाको प्रभाव युवामा परेको छ । वित्तीय संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गर्न सरकारी नीति लचिलो छैन ।
युवा पलायनले नेपाली समाजमा परेको प्रभावमा कृषि उत्पादन, औद्योगिक उत्पादन, आर्थिक वृद्धि र सामाजिक परिवेश प्रमुख छन् । प्रायःजसो गाउँघर वृद्धायुको काँधमा छ । युवाको उपस्थिति पातलिँदै छ । कृषियोग्य जमिन बन्जर भूमिमा परिणत भएको छ । रेमिट्यान्सबाट देश चलिरहेको छ । आयातमुखी अर्थ व्यवस्थाले आर्थिक सङ्कट निम्तिँदै छ । आर्थिक मन्दीको चपेटामा परेको अर्थतन्त्रलाई रेमिट्यान्स ‘प्राण वायु’ साबित भएको छ ।
भूमण्डलीकरण आधुनिक समयको पहिचान हो । सम्पूर्ण ब्रह्माण्ड गाउँ बनेको छ । विश्व एउटा बहुलवादी सामाजिक प्रक्रियामा छ । नेपाली समाजलाई द्रुतगतिमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा स्पष्ट रेखाङ्कन र परिवर्तन भइरहेको छ । देशमा कर्पोरेट, खुद्रा र वैज्ञानिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिएन भने सामाजिक, मौद्रिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सफलता प्राप्त गर्न सकिँदैन । आयातामुखी अर्थतन्त्र धानेको नेपाली बजार विश्व व्यापार, सिद्धान्त र संस्कृतिको विकासमा जोडिन अनेकन समस्या छन् । भूमण्डलीकरणले विश्वभरका मानिसको जीवनशैलीमा आमूल परिवर्तन गरेको छ । नयाँ सोच भित्र्याएको छ । सांस्कृतिक आदानप्रदानले एकरूपता कायम गरेको छ । सञ्चार प्रविधिको क्रान्ति लोकप्रिय बन्दै संस्कृतिमा जादुगरी प्रभाव पार्दै आइरहेको छ ।
जो जहाँ बसून् विश्वव्यापीकरणको प्रभाव दैनिक जीवनमा परेकै छ । शिक्षा, स्वास्थ्य, व्यापार, सञ्चार, वित्त, प्रविधि, श्रम र वातावरण आदि प्रभावित छन् । वस्तु, सेवा र सूचनाको बढ्दो विश्वव्यापी प्रवाहले दैनिक जीवनका सकारात्मक र नकारात्मक कारक प्रभावित भइरहेका छन् । विश्वव्यापीकरणको सबैभन्दा बढी प्रभाव अर्थतन्त्रमा छ । विश्वव्यापी बजारको अन्तरसम्बन्ध वस्तु, सेवा प्रवाह र सीमापार पुँजीको आवागमनले अर्थतन्त्रलाई उल्लेखनीय प्रभाव र दबाब दिइरहेको छ ।
विश्वव्यापीकरणको प्रभावले युवाको पलायन प्रवृत्ति जटिल एवं पेचिलो बन्दै गएको छ । घरपरिवारबाट टाढिँदा सामाजिक सम्बन्ध कमजोर भइरहेको छ । अल्पविकसित÷विकासोन्मुख देशको विकास प्रभावित भएको छ । बिदेसिने युवाको अवस्था राम्रै छ भन्ने आधार छैनन् । बिदेसिन नपाएका कतिपय युवा निरास छन् । कुमार्गमा डोरिँदै छन् । विश्वव्यापीकरणले नेपाली शिक्षा प्रणालीको आमूल परिवर्तनको सङ्केत गरेको छ । विश्वव्यापीकरणकै प्रभावले कैयौँ कलेज एवं विभिन्न सङ्काय बन्द हुने अवस्थामा छन् ।
नेपालमा शिक्षण संस्था र पाठ्यक्रममा सुधार गर्न सकिएको छैन । शैक्षिक अस्थिरता, अन्योलता र उदासीनताका बिचमा विश्वविद्यालय खोल्ने प्रतिस्पर्धा चलिरहेकै छ । विद्यार्थी पलायनले विश्वविद्यालय बन्द हुने अवस्थामा छन् । देशको जेठो र ठुलो त्रिभुवन विश्वविद्यालयले भर्ना प्रक्रियाको प्रावधान परिवर्तन गरी खुकुलो बनाउँदासमेत भर्ना आकर्षित भएको छैन । पलायन हुने विद्यार्थीले विश्वव्यापीकरणको उचित फाइदा उठाइरहेका छन् । विश्वव्यापी प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गरेका छन् । सङ्कुचित ज्ञानलाई फराकिलो क्षेत्रमा वृद्धिको अवसर पाएका छन् । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न पाएका छन् । विविध क्षेत्रलगायत सामाजिक क्षेत्रमा द्रुत प्रगति गरिरहेका छन् । योग्यता, क्षमता र दक्षताको गुणस्तर प्रदर्शन गर्ने अवसर पाएका छन् । भूमण्डलीकरणले नेपाली संस्कृतिप्रति जागरूकता बढाएको छ । विश्व बजारमा नेपालीको उपस्थिति बढेको छ ।
नेपालमा रोजगारीका अवसर देखिँदैनन् । राजनीतिक परिवर्तनले राजनीतिक रोजगारी (केही सङ्ख्यामा) बाहेक अन्य क्षेत्र तहसनहस बन्दै छ । उच्च शिक्षा हासिल गरेका व्यक्तिलाई रोजगारीमा अलमल्याउने वातावरण छैन । औँलामा गन्न सकिने बहुराष्ट्रिय कम्पनीमा केही शीर्ष कुलीन वर्गको पहुँचले रोजगारी सर्वसुलभ छैन । सृजित शैक्षिक अन्योल छिटै समाधान हुने आधार छैन । युवा भविष्यका कर्णाधार हुन् भन्ने स्वीकार्यता छैन । सरकारी उदासीनताले युवा पलायन रोकिने अवस्था छैन । युवाको पूर्ण क्षमताको प्रयोग गर्ने सक्ने सामथ्र्यवान् अवस्थामा सरकार देखिँदैन । विद्यार्थी पलायनलाई रोक्न आकर्षक रोजगारी सिर्जनासहित विश्वसँग प्रतिस्पर्धा गर्ने पाठ्यक्रम निर्माण गरी युवा पलायन रोक्नु ढिला भइसकेको छ ।
हो, युवा पलायन रोक्नु पर्छ तर कसरी त ? संसद्को अधिवेशन सुरु हुँदै छ । पहिलो बैठकबाटै युवालक्षित स्वरोजगार कार्यक्रम ल्याउनु पर्छ । यस्तो कार्यक्रम ल्याउनुअघि सबै दलबिच सहमतिको बिन्दु खोज्नु पर्छ । अहिले जस्तो बेरोजगार उत्पादन गर्ने खालको सैद्धान्तिक शिक्षा मात्रै नभई व्यावहारिक शिक्षामा जोड दिन सके युवामा स्वदेशमै केही गरौँ भन्ने भावनाको विकास हुन्छ । केही गर्न चाहने युवालाई निश्चित समय तोकेर बिनाधितो न्यून ब्याजमा ऋणसमेत दिने व्यवस्था आवश्यक छ । यस्तो ऋण लिन चाहने युवा ग्रामीणमुखी हुनुपर्ने सर्त पनि सँगसँगै राख्न सकिन्छ । केही गर्न चाहने युवालाई करमा समेत छुट दिनु पर्छ । राजनीतिक दलले युवालाई राजनीतिमा आकर्षित गर्नुअघि व्यावसायिक पहिचान बनाएको हुनुपर्ने सर्त पनि राख्नु पर्छ । राजनीतिलाई व्यवसाय होइन, भरपर्दो व्यवसायमार्फत राजनीति भन्ने स्लोगान बनाउन सके युवा पलायन मात्र रोकिने छैन युवालाई स्वरोजगार बनाउन सकिन्छ ।