• ९ मंसिर २०८१, आइतबार

सूचनाको प्रभाव

blog

विश्वभरि नै सूचना तथा सञ्चार प्रौद्योगिकीले हाम्रो जीवनका प्रत्येक पक्षलाई निर्बाध छाइसकेको छ । यसले अपेक्षित अनपेक्षित प्रत्यक्ष घुसपैठका साथै हाम्रो जीवनमा कामका नयाँ नयाँ शृङ्खला पनि पैदा गरिरहेका छन् । पुराना कामहरूको स्वरूप पनि परिवर्तन हुँदै गइरहेका छन् । आजको संसारमा यी सबै कुराको सूत्रधार भने कम्प्युटर नै हो । कम्प्युटरको अवतरण हाम्रो परिवेशमा अनेक रूपमा भइसकेको र भइरहेको छ तर ती सबैको आधार भने कृत्रिम बुद्धि अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को व्यवस्था हो, जस अन्तर्गत भिन्न भिन्न किसिमका समस्याको समाधान खोजिने या समाधान गरिने छ । वास्तवमा स्थिति के छ भने केवल अध्ययन अनुसन्धान मात्र होइन, विश्वका देशको अर्थव्यवस्था र सामरिक शक्तिलगायत सबै कुरा त्यस देशको कम्प्युटरको क्षेत्रमा निपुण र दक्षतामाथि निर्भर हुन पुगेको या भइसकेको अवस्था बनिसकेको छ । त्यसैले सञ्चार र प्रविधि आजको विश्व विकासको सबैभन्दा महत्वपूर्ण सङ्केत बनेको छ ।

हुन पनि कम्प्युटरका शब्दाबलीको हिसाब–किताब पनि अद्भूत र आश्चर्यकारी रहेको छ । सामान्य उदाहरणका लागि ‘डाउनलोड,’ ‘अपलोड’ गर्नु (जसको नेपाली अनुवाद ‘उतार्नु र चढ्नु हुने छ’) यो यस्तो क्रियाकलाप हो, जसले गर्दा एकछिनमै मानिस सारा संसारसँग जोडिन पुग्छ या जोडिने क्षमता प्राप्त गर्छ । हामीले सूचनाका साथ ‘लक, सेलेक्ट, डिलिट, कपी, पेस्ट, सेयर, फ्लिप, जुम आदि जस्ता जेसुकै काम पनि कम्प्युटरमा सजिलै गर्न सक्छौँ । यस प्रकार आजको यथार्थ तस्बिर के छ भने कम्प्युटरको प्रयोग र प्रभावको क्षेत्र दिन दुईगुना रात चौगुनाको हिसाबले सर्वत्र बढ्दै गइरहेको छ । ज्ञानविज्ञान, खेलकुद, देशाटन, स्वास्थ्य, बजारको क्रय–विक्रय र नागरिक सुविधा आदिसँग जोडिएका सारा प्रश्नहरूको उत्तर तथा समस्याको समाधान पनि यसैको सहायताबाट आज प्राप्त हुन थालेका छन् । यतिसम्म कि अन्तरिक्षको यात्रा र अनुसन्धान पनि अब कम्प्युटर यन्त्रको दायरामा आइसकेको छ ।

यो उन्नत प्रविधिको विकासले गर्दा कैयौँ प्रकारका नयाँ नयाँ व्यवसाय पनि उत्पन्न हुन थालेका छन् । जीवनयात्रामा सूचनाको यो अभूतपूर्व उपस्थितले संसारका सबै मानिसको जीवनमा यसले आश्चर्यचकित तुल्याउने स्थिति उत्पन्न गरिरहेको र नयाँ नयाँ जिज्ञासा पैदा गरिरहेको छ । सूचनाको उपलब्धताले शायद मानिसलाई आफ्नो विराटताको पनि बोध गराउँछ । साथै जीवन्त संसारबाट काटेर मानिसलाई धुम्धुम्ती एकसुरे र एक्लो पनि यसले बनाइरहेको छ । आज प्रायः सबै परिवारमा प्रत्येक सदस्यसँग सूचना तन्त्रसँग जोडिने आआफ्नो स्वतन्त्र व्यवस्था छ । एन्ड्रोयड तथा एप्पल मोबाइलहरू सबै जसो सुविधाले सुसज्जित छन् । कम्प्युटर पनि सजिलैसँग उपलब्ध छन् । त्यसले मनिसको काम र जीवनको यात्रा शृङ्खला नै भिन्नै बनाइदिएको छ ।

सूचनाको संसारमा हरेक किसिमका सूचना छन् । यसमा राम्रा–नराम्रा, नैतिक–अनैतिक कुन सूचना छनोट गर्ने हो र कोसँग के कति जोडिने या टाढा रहने हो, यी सबै कुरा सूचना बहुसञ्जाललाई सुम्पिदिनु कम खतरनाक छैन । सूचनाको तस्करी पनि छ, डकैती (ह्याकिङ) पनि चलिरहेकै छ । व्यक्तिगत जीवनमा सूचना–व्यवस्थापन कत्तिको घातक हुन सक्छ भन्ने कुरा पनि खडा भएको छ । बितेका केही वर्षमा ‘ब्ल्युह्वेल गेम’ का क्रममा भएका दुर्घटनाबाट यसले कस्तो स्थिति उत्पन्न हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । कस्तो किसिमले ‘भर्चुअल रियालिटी’ले मानिसलाई बाँधेर के के गर्न प्रेरित र प्रोत्साहित गरिरहेको छ या गर्न सक्छ, त्यसले प्रस्ट पारेको छ । त्यसको यो त्रासद उदाहरण या नमुना हो । जुन जुन तथ्यहरू पत्रपत्रिकामा यस सम्बन्धमा छापियो, तिनका पनि जुन आधा र अपूरा व्यहोरा बाहिर प्रकाशमा आएका छन्, तिनकै आधारमा कुनै स्पष्ट र सामान्य निष्कर्षसम्म पुग्न अझै पनि मुस्किल छ । तथापि यस प्रकारका घटनाबाट के लाग्छ भने सूचनाको यो खेल आश्चर्यकारी र त्रासद पनि छ । त्यसले जेसुकै पनि गराउन सक्छ । टाढा टाढाका देशदेखि सूचना मार्गबाट नियन्त्रित ‘ब्लु ह्वेल’का खेलले बालबालिकालाई कसरी वशीभूत गरेर बाँध्ने गर्छ र तिनलाई जेसुकै गर्न पनि बाध्य तुल्याउँछ, त्यो देखिएको छ । बालबालिकाहरू खेलसँग जोडिने, सूचना पाउने तथा आकर्षित हुने र निर्देशन दिइएको हिसाबले काम गर्ने गर्छन् । त्यसको चरम उत्कर्ष मृत्युलाई वरण गर्नुसम्मका घटना पनि हुन सक्छन् । निश्चय नै ‘थ्रिल’ पनि यो खेलको एउटा पक्ष हो । त्यसलाई आफ्नो अनुभव अन्तर्गत ल्याएर महसुस गर्नु क्षणिक नै भए पनि त्यो निकै उत्तेजक हुने गर्छ । यति हदसम्म कि त्यसको परिणतिको अर्थ बुझ्ने र त्यसमाथि विचार गर्ने समय र फुर्सद पनि हुँदैन । यसले नयाँ नयाँ तरिकालाई जन्माउने र त्यसको प्रतिफलले ‘सेन्सेसन सिकिङ्ग’ को प्रवृत्तिलाई झल्काउने गर्छ, जुन कुरा आज एकदमै बढ्दै गएको छ । आआफ्ना सूचनाका संसारमा हराएर परिवारका सदस्य बालबालिकाका लागि सजिलै र सक्रिय रूपले कम उपलब्ध भइरहेका छन् । 

अझ यी कुरा विकसित समाजमा एक्लै निजीपनको अँध्यारो उज्यालोमा अझ बढी नै रहेका छन् । आत्मलीन सभ्यताको स्वप्न व्यक्तिको उत्कर्ष हो, उसको आफ्नो मर्जी ! ऊ जस्तो चाहन्छ त्यस्तै रहने, जस्तो चाह्यो त्यस्तै बाँच्ने या मर्ने पनि उसकै खुसी । यस्तो समाज, परिवार सबैसँग काटिएर आफैँमा हराउने किसिमको स्वप्निल सोच अन्ततः एकदम खतरनाक कुरा हो र हुन पुग्छ नै । त्यसैले सूचनाको सञ्जाल तथा त्यसको उपयोग सकारात्मक र उपयोगी हुनु पर्छ । पारिवारको स्तरमा त्यसको सन्तुलित उपयोग कसरी गर्ने गम्भीर रूपमा विचार गर्नु पर्छ । यसलाई राम्रोसँग बुझ्नु बुझाइनु पर्छ कि परिवार र समाजतर्फ उन्मुख जीवन व्यक्तिविरुद्ध हुनु हुँदैन । त्यसैले दुवैका यस्तो पारस्परिकतालाई ग्राह्य र सहज तुल्याइनु अत्यावश्यक छ । अत्याधुनिक सूचना प्रणालीको विकासलाई अत्याधुनिक किसिमले नै सहज र समुन्नत सामाजिक तथा वैयक्तिक जीवनका निम्ति सदुपयोग गर्नु पर्छ । नकारात्मकताका निमित्त होइन । यो विश्वका हरेक राष्ट्र, समाज र परिवारले राम्रोसँग बोध गर्नै पर्ने गम्भीर विषय हो ।

विकासको चरम उत्कर्षमा पुगेको आजको विज्ञान र प्रविधिको उन्नतिलाई विश्व समाजको हितमा लगाउँदा जति बढी फाइदा हुन्छ, त्यसको दुरुपयोग गर्दा त्यत्तिकै भयावह स्थिति पनि उत्पन्न हुन सक्छ । त्यसैले आज विज्ञान, ज्ञान र विवेकको सन्तुलन अत्यन्तै संवेदनशील बन्न गएको छ । यसले मात्र सही दिशामा मानव समाजलाई सही किसिमले गतिशील तुल्याउन सक्छ । आज मानव समाजको ध्यान अन्य कुराका अतिरिक्त यस कुरामा केन्द्रित हुनुपर्ने देखिन्छ । अन्यथा सूचनाको यो बाढीले कहाँ लगेर हुत्याइदिन्छ कसैले पनि भन्न नसकिने स्थिति खडा हुन्छ । यो कम त्रासद विषय होइन । 

  

Author

लोकनारायण सुवेदी