• ९ मंसिर २०८१, आइतबार

अर्थतन्त्रमा विप्रेषणको भूमिका

blog

विदेशमा रहेका व्यक्तिले तोकिएको विदेशी मुद्रामा औपचारिक माध्यमबाट पठाएको रकम नै विप्रेषण हो । नेपाल राष्ट्र बैङ्कको विप्रेषण विनियमावली, २०७९ अनुसार विप्रेषण भित्र्याउने कम्पनीले विदेशबाट प्राप्त विदेशी मुद्रा वैधानिक स्रोतबाट प्राप्त भएको हुनु पर्छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पालना पनि गर्नु पर्छ । 

नेपाली विश्वका अधिकांश देशमा पुगेका छन् । यीमध्ये केही विकसित मुलुकमा स्थायी बसोबासका लागि र केही अध्ययन तथा रोजगारीका लागि पुगेका छन् । खास गरी खाडी देशमा जाने नेपाली रोजगारीका लागि जान्छन् । उनीहरूले आर्जन गरेको रकम विप्रेषणस्वरूप नेपाल भित्रिने गरेको छ । 

हरेक वर्ष नेपाल भित्रिने विप्रेषण रकममा वृद्धि हुने गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब सात अर्ब तिस करोड र आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५५ करोड रुपियाँ विप्रेषण भित्रियो । नेपालको कुल गार्हस्थ उत्पादन २०७८/७९ मा ४९.३३ खर्ब थियो, जसमा विप्रेषणको भाग प्रतिशतमा गणना गर्दा २०.४१ देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ उत्पादन ५३.८१ खर्ब थियो र यसमा विप्रेषणको अनुपात २२.६७ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको सुरुको चार महिनामै विप्रेषण आप्रवाह बढेर चार खर्ब ७७ अर्ब रुपियाँ पुगिसकेको छ । 

नेपालका दक्ष जनशक्ति विदेश पलायन भइरहेका छन् । यसै गरी पलायन हुने हो भने भविष्यमा नेपालमा दक्ष जनशक्ति भेट्न पनि मुस्किल हुन्छ  । विदेश नजाने हो नेपालमा राजनीतिक अस्थिरता र बेरोजगारीले गर्दा जनजीविका सहज हुन सक्दैन । कम्तीमा स्थिर सरकार हुने र रोजगारीको सिर्जना हुने हो भने युवालाई स्वदेशमै टिकाउन सकिन्छ । खास गरी विप्रेषण विभिन्न माध्यमबाट नेपाल भित्रिने गर्छ, जसमा औपचारिक माध्यमबाट आएको विप्रेषणलाई मात्र गणना गर्न सकिन्छ । विप्रेषण कुन माध्यमबाट कसरी प्राप्त हुन्छ त । जस्तै : 

स्विफ्टमार्फत : विदेशबाट रकम पठाउन चाहनेले बैङ्क तथा वित्तीय संस्थाको प्रयोग गरेर रकमान्तर गर्छन् भने त्यो औपचारिक माध्यमबाट स्विफ्टमार्फत रकमान्तर भई स्वदेशस्थित बैङ्क खातामा रकम प्राप्त हुन्छ । यसका लागि प्राप्त गर्नेको बैङ्क खाता हुनु पर्छ र रकम प्राप्त गर्ने उद्देश्यसमेत खुल्नु पर्छ । यस्तो प्रणालीबाट पैसा भित्रिँदा तुरुन्त पैसा खातामा नआई दुई/तीन दिन समय लाग्न सक्छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पालना पनि गर्नु पर्छ । यो माध्यम विश्वासिलो र भरपर्दो छ । 

रेमिट्यान्स कम्पनीमार्फत : विदेशस्थित विभिन्न ठाउँबाट रकम पठाउन चाहनेले बैङ्क तथा वित्तीय संस्थाको प्रयोग नगरी औपचारिक माध्यमबाट खुलेका विभिन्न रेमिट्यान्स कम्पनी तथा उनीहरूका विदेशमा रहेका साझेदारमार्फत रकमान्तर गर्छन् । यस्तो माध्यमबाट पैसा भित्रिँदा कि नगदै प्राप्त गर्ने गरी कन्ट्रोल नम्बरका आधारमा आउँछ कि खातामा जम्मा हुने गरी पनि आउँछ । कन्ट्रोल नम्बरका आधारमा आउने रकमका लागि व्यक्ति स्वयम्, रकम प्राप्त गर्ने नम्बर र सक्कल परिचय पत्रसहित बैङ्क तथा वित्तीय संस्था वा सम्बन्धित एजेन्टकहाँ उपस्थित हुनु पर्छ । 

खातामा जम्मा हुने गरी आउने रकमका लागि विप्रेषण प्राप्त गर्ने व्यक्तिको बैङ्क खाता हुनु पर्छ र रकम प्राप्त गर्ने उद्देश्य तथा प्रयोजनसमेत खुल्नु पर्छ । यस्तो प्रणालीबाट पैसा आउँदा विभिन्न किसिमका डिजिटल माध्यमको प्रयोग गरी रेमिट्यान्स कम्पनीले सोझै बैङ्क खातामा रकम जम्मा गरिदिन्छन्, जुन कुरा बैङ्क तथा वित्तीय संस्थालाई खातामा जम्मा भएपछि मात्र थाहा हुन्छ । यी कम्पनीले पनि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पालना गर्नु पर्छ । 

हुन्डीमार्फत : यस्तो माध्यमबाट आउने रकम गैरकानुनी मानिनुका साथै औपचारिक माध्यमबाट आएको मानिँदैन । विदेशमा विभिन्न व्यक्तिलाई रकम दिने र स्वदेशमा व्यक्तिमार्फत नै नगदै वा खातामा जम्मा गरी यस्ता रकम रकमान्तर हुने गर्छ । सकेसम्म यसरी पैसा पठाउन हुँदैन । 

आन्तरिक विप्रेषण खास गरी स्वदेशभित्रै एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउन या प्राप्त गर्नका लागि प्रयोग गरिन्छ । केही समययता नेपाल राष्ट्र बैङ्कले डिजिटल माध्यमलाई बढावा दिनका लागि आन्तरिक विप्रेषणलाई रोकी बैङ्क तथा वित्तीय संस्थाबाट वा डिजिटल माध्यमको प्रयोग गर्नलाई प्रोत्साहित गरिरहेको देखिन्छ । हालै मात्र मौद्रिक नीति २०८०/८१ को पहिलो त्रैमासको समीक्षामा नेपाल राष्ट्र बैङ्कद्वारा आन्तरिक विप्रेषणलाई पनि केही खुला गर्ने मनसाय व्यक्त गरेको देखिन्छ । बाह्य विप्रेषण विशेष गरी नेपालबाट बाहिर रकम पठाउन वा विदेशबाट स्वदेशमा रकम प्राप्त गर्ने प्रक्रियालाई बुझ्ने गरिन्छ । खास गरी नेपालबाट बाहिर रकम कमै मात्रामा जाने गर्छ । 

नेपाल जस्तो विकासोन्मुख देशमा पक्कै पनि विप्रेषणको सकारात्मक प्रभाव रहन्छ नै । हरेक परिवारको मुख्य आयस्रोतको रूपमा विप्रेषण रहेको छ । देश भित्रिने औपचारिक माध्यमको विप्रेषणले बैङ्क तथा वित्तीय संस्थामा निक्षेपको रूपमा जम्मा भई समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । करिब कुल गार्हस्थ उत्पादनमा विप्रेषणको भार करिब २५ प्रतिशतको हाराहारी छ । त्यस्तै अनौपचारिक माध्यमबाट आउने रकम पनि देखिन्छ । नेपालको समग्र आयमा विप्रेषणले महत्वपूर्ण स्थान ओगट्दै आएको छ । यसले गर्दा पारिवारिक आयमा वृद्धि भई गरिबी निवारणमा सहयोग पुगेको छ । रोजगारी वृद्धि हुनाले आयसँगै उपभोगमा पनि रकम खर्चिने हुँदा उपभोग्य वस्तुको माग बढेको छ । साथै यसले उत्पादनमा समेत वृद्धि हुने देखिन्छ । बजारमा आय र खर्च हुने क्रम वृद्धि भएपछि अर्थतन्त्र चलायमान हुन्छ । 

विप्रेषण आप्रवाहले विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुन्छ । यसको प्रभाव सोझै अर्थतन्त्रमा पर्छ । जसरी विदेशी मुद्रा वृद्धि हुन्छ त्यसै गरी राष्ट्रको क्रयशक्ति वृद्धि हुन्छ र आयात तथा निर्यात खुकुलो बन्दै जान्छ । यसले बजारमा प्रतिस्पर्धात्मक व्यापार सुरु हुन्छ ।  अनि प्रत्यक्ष असर उपभोगमा पर्छ । राष्ट्रको भुक्तानी सन्तुलन गराउन मद्दत गर्छ । यसै गरी आयमा भएको वृद्धिले गुणस्तरीय शिक्षा तथा स्वास्थ्यमा पहुँच पुग्छ । यसले समग्र साक्षरता तथा स्वास्थ्यको क्षेत्रमा अभिवृद्धि हुँदै जान्छ । मुख्य गरी गरिबी निवारणमा यसले सघाउँछ । 

वैदेशिक रोजगारीमा जाने नेपालीले दुःख गरी कमाएको पैसालाई राष्ट्रले आफ्नो गार्हस्थ उत्पादनका रूपमा हेर्छ भने रकम प्राप्त गर्ने परिवारको मुख्य आय स्रोत हो । नेपालको हकमा सबैभन्दा ठुलो आय भनेको नै रेमिट्यान्स हो, जसको कुल गार्हस्थ उत्पादनमा करिब २५ देखि ३० प्रतिशतको योगदान रहेको हुन्छ । यसबाट राष्ट्रका लागि वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भई आयात तथा निर्यातका लागि मद्दत पुग्छ । रोजगारीमा समेत वृद्धि हुँदै गरिबी निवारणमा ठुलो सहयोग पुग्छ । राष्ट्रको पुँजी निर्माण र पूर्वाधार विकासका लागि स्रोतको रूपमा महत्वपूर्ण योगदान गर्छ । बैङ्क तथा वित्तीय संस्थाका लागि निक्षेपको मुख्य स्रोतका रूपमा रहेको हुन्छ । समग्र रूपमा रोजगारी सिर्जना भई राष्ट्रिय आयमा वृद्धि हुन्छ । 

अन्त्यमा रोजगारीमा जाने अधिकांश नेपाली दाजुभाइ तथा दिदीबहिनीले पसिना बगाएर कमाएको रकम देशका लागि ठुलो महìव छ । यद्यपि कतिपय बिनासिप तथा दक्षताका साथ श्रम गर्न जाँदा श्रम बजारमा त्यसको मूल्य कम हुन्छ । त्यसैले थोरै भए पनि केही सिप तथा दक्षता हासिल गरी विदेश जाने हो भने वैदेशिक श्रम बजारमा त्यसको मूल्य धेरै हुन्छ । साथै दैनिक रूपमा विदेशबाट आउने शवले एकातिर घरपरिवारले आफन्त र आयको स्रोत गुमाउन पुग्छन् भने राष्ट्रले एक नागरिक गुमाउँछ । धेरै सपना बाकसमा पोको परेर आउँछन् । 

विदेशमा काम गर्न त्यति सजिलो छैन । बरु त्यति दुःख स्वदेशमै गर्न सक्ने वातावरण बन्ने हो भने दुःख सुख परिवारसँगै रहेर बाँड्न सकिन्छ । यसले स्वदेशमा कृषि तथा अन्य उत्पादनमा वृद्धि भई रोजगारी सिर्जना गर्न मद्दत मिल्छ । यसका लागि राजनीतिक स्थायित्व तथा विकास निर्माण र पूर्वाधार विकासमा सरकारले पर्याप्त मात्रामा ध्यान दिनु पर्छ । वैदेशिक रोजगारीमा जानेका लागि वित्तीय साक्षरताको पनि उत्तिकै खाँचो देखिन्छ किनभने कतिपयले स्वदेशमा रकम पठाउँदा कसरी पठाउने कुन माध्यम प्रयोग गर्ने भन्ने अन्योलमा परेको देखिन्छ । उपयुक्त औपचारिक माध्यमको प्रयोग नगर्नाले रकम हराउने, अर्काले खाइदिने, समयमा भुक्तान नगरिदिने जस्ता समस्या भोगेको देखिन्छ । तसर्थ सरकार तथा हरेक बैङ्क तथा वित्तीय संस्थाले रेमिट साक्षरता कार्यक्रम सञ्चालन गरी वैदेशिक श्रम गर्न जानेहरूका लागि दीक्षित गराउनु पर्छ ।

  

Author

ऋषिराम ढकाल