• २७ पुस २०८१, शनिबार

राजापानी सामुदायिक वनलाई सिमसार क्षेत्र बनाइँदै

blog

राजापानी सामुदायिक वनको सिमसार क्षेत्र । तस्विरः छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, माघ ११ गते । रुपन्देहीको सैनामैना नगरपालिका–११ मा रहेको राजापानी सामुदायिक वनलाई सिमसार क्षेत्रको रूपमा विकास गरिने भएको छ । 

राजापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लालबहादुर सेनले राजापानी क्षेत्रको पानी बग्ने र ताल परेको क्षेत्रलाई सिमसार क्षेत्र बनाउने तयारी भइरहेको बताउनुभयो । 

बाह्रै महिना पानी बग्ने चिस्यान क्षेत्र भएकाले जर्लैयाको राजापानी क्षेत्रलाई सिमसार क्षेत्र बनाउन वन समूहसँगै सैनामैना नगरपालिकाले समेत काम गरिरहेको छ । सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले राजापानी सामुदायिक वनलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले सिमसार क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो । 

सामुदायिक वनले संरक्षण गर्न थालेपछि वन जोगिएको मात्र होइन, पहिले सुकेको खोलामा समेत अहिले बाह्रै महिना पानी बग्ने र कहिल्यै नसुक्ने भएकाले यो क्षेत्रलाई सिमसार क्षेत्र बनाउन काम थालिएको उपप्रमुख रानाले जानकारी दिनुभयो ।   

सैनामैना नगरपालिका –११ का वडा अध्यक्ष रामप्रसाद भुसालले पहिले वन संरक्षण नहुँदा उजाड वनेको यो क्षेत्र अहिले हरियाली वनेको र वनको बिचभागमा रहेको जर्लैया नदीबाट बाह्रै महिना पानी बग्ने गरेको बताउनुभयो । 

उहाँले सुनसान, एकान्त र जङ्गलको बिचभागमा रहेको यो क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न राजापानी वनलाई सिमसार क्षेत्र बनाउनु पर्ने बताउनुभयो । नगर उपप्रमुख रानाले एसियाली विकास बैङ्कले समेत यो क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले पानी भएको भागलाई सिमसार क्षेत्रको रूपमा विकास गर्न अध्ययन गरिरहेको बताउनुभयो ।  

उहाँका अनुसार एडिबीले अहिले यो क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्दैछ । सैनामैना नगरपालिकाले अघिल्लो कार्यकालमा यो क्षेत्रको गुरुयोजना बनाएको थियो । राजापानी सिमसार क्षेत्रमा गुफा पनि रहेकाले यो क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सकिने स्थानीय महेश पौडेलले बताउनुभयो ।

पौडेलले वातावरणलाई असर नपर्ने गरी पार्क निर्माण गर्ने योजना रहेको र बाँध बाँधेर पोखरीमार्फत त्यस क्षेत्रमा बाह्रै महिना सिँचाइको समेत सुविधा गर्न सकिने बताउनुभयो । 

यसैबिच राजापानी सामुदायिक वनको साधारण सभाले समेत राजापानी सामुदायिक वनलाई सिमसार क्षेत्रको रूपमा विकास गरेर पर्यटक भित्र्याउने योजना ल्याउन एडिबी र सैनामैना नगरपालिकासँग आग्रह गरेको छ । 

सैनामैना नगरपालिका–११ का वडा अध्यक्ष रामप्रसाद भुसालले राजापानी सामुदायिक वनको सिमसार क्षेत्रलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । 

जर्लैया टोल विकास संस्थाका अध्यक्ष भूपाल मल्ल, बिचौवापुर टोल विकास संस्थाका अध्यक्ष मनिराम भुसाललगायतले राजापानी सामुदायिक वनलाई यस क्षेत्रकै नमुना बनाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।