गोरखापत्र समाचारदाता
ललितपुर, वैशाख २७ गते । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको प्रख्यात रातो मत्स्येन्द्रनाथको नरिवल खसाल्ने जात्रा शुक्रबार लगनखेलको थतिटोलमा भएको छ । मत्स्येन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनमा नरिवल खसाल्ने जात्रा मनाइन्छ । रथ लगनखेलको थतिटोलमा पुगेपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । नरिवल खसाल्ने दिन अपराह्न, ज्येष्ठ व्यक्ति रातो मत्स्येन्द्रनाथको टुप्पोमा बसेर देशमा सुखशान्ति छाओस् भन्दै कामना गरी चारै दिशामा योमरी खसालेपछि अन्तिममा नरिवल खसाल्ने गरिन्छ ।
खसालिएको नरिवल फेला पार्न थतिटोलमा ठुलो भिड थियो । नरिवल पाउनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वास रहेको छ । मत्स्येन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित भएको संस्कृतिविद् हरिराम जोशीको भनाइ छ । उहाँका अनुसार करिब एक हजार छ सय वर्षअघि सुरु भएको मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ । नेवारी परम्परा अनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोल परिक्रमा गराउने परम्परा छ । विसं ५४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रूपमा हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले जात्राको सुरुवात गराएको पौराणिक कथन छ ।
हिन्दु धर्मावलम्बी मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयका रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् । जावलाखेलमा भोटो देखाएकै दिन रातो मत्स्येन्द्रनाथको रथलाई खटमा राखी बुङमती पु¥याउने परम्परा छ । रातो मत्स्येन्द्रनाथको रथलाई छ/छ महिना पाटन र बुङमतीमा राख्ने गरिन्छ । जात्रा सकिएर बुङमती पु¥याइएको रथ छ महिनासम्म त्यहीँ राखेर साइत अनुसार पाटन मच्छिन्द्रबहालमा ल्याएर राखिन्छ ।