• २७ वैशाख २०८२, शनिबार

बुटवल औद्योगिक क्षेत्र साँघुरो

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख २७ गते । बुटवलका उद्योगीले बुटवल औद्योगिक क्षेत्रमा जग्गा अभावका कारण उद्योग विस्तार गर्न समस्या परेको भन्दै मोतीपुर औद्योगिक क्षेत्र छिटो निर्माण गर्न आग्रह गरेका छन् ।  बुटवल औद्योगिक क्षेत्र २०३२ सालमा निर्माण भएको हो । औद्योगिक क्षेत्रमा ६० वटा उद्योग सञ्चालनमा छन् । ती उद्योगले ३८० रोपनी क्षेत्रफल जग्गा ओगटेका छन् । 

औद्योगिक क्षेत्रमा थप जग्गा नभएका कारण उद्योगको क्षमता विस्तारमा समस्या परेको भन्दै मोतीपुर औद्योगिक क्षेत्र छिटो निर्माण गर्न उद्योगीको आग्रह छ । बुटवल औद्योगिक क्षेत्रमा रहेको मेटल कास्ट उद्योगका सञ्चालक निश्चल शर्माले बुटवल औद्योगिक क्षेत्रको जग्गा साँघुरो भइसकेको बताउनुभयो । उहाँले २०५२ सालमा उद्योग स्थापना गर्दाकै जग्गामा अहिले उद्योग चलाउनु परेको भन्दै मोतीपुर औद्योगिक क्षेत्र छिटो बनाउन आग्रह गर्नुभयो । 

उहाँको उद्योगमा ठुला परियोजनाका लागि फलामका सामान उत्पादन तथा मर्मतसम्भारको काम हुन्छ । उहाँले जग्गा साँघुरो हुँदा काम गर्न कठिनाइ भएको बताउनुभयो । मेटल कास्ट उद्योगलाई मात्रै होइन, २०६६ सालमा स्थापना भएको युनाइटेड प्लास्टिक उद्योगलाई पनि जग्गा साँघुरो भएको छ । 

उद्योगका प्रबन्ध निर्देशक तुलसीबहादुर गुरुङले बुटवल औद्योगिक क्षेत्रमा उद्योगलाई आवश्यक थप जग्गा नभएकाले समस्या परेको बताउनुभयो । 

यसैबिच बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको टोलीले बुटवल औद्योगिक क्षेत्रसहित बुटवलका विभिन्न उद्योगमा स्थलगत अवलोकन गर्नुका साथै उद्योगका समस्या सङ्कलन गरेको थियो ।  सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल औद्योगिक क्षेत्रका उद्योगीले उद्योगको क्षमता अनुसार ठाउँ साँघुरो भएको बताउँदै मोतीपुर औद्योगिक क्षेत्र छिटो बनाउन आग्रह गरेको बताउनुभयो । अध्यक्ष अर्यालले उद्योगीले बुटवल औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडरको व्यवस्था रहे पनि विद्युत् जानेआउने समस्या नरोकिएका कारण उद्योग चलाउन समस्या परेको गुनासो गरेको बताउनुभयो । 

बुटवल औद्योगिक क्षेत्रमा अधिकांश उद्योग प्लास्टिक र फेब्रिकेसनका छन् । यो प्रकृतिका उद्योगका लागि चौबिसै घण्टा विद्युत्को आवश्यकता पर्छ । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष प्रज्वल थान्जुका अनुसार केही मिनेट मात्रै विद्युत् अवरुद्ध हुँदा उद्योगले धेरै नोक्सान बेहोर्नु पर्छ ।

बुटवल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेले उद्योगीका समस्या पहिचान गर्न स्थलगत अवलोकन गरिएको र प्राप्त सुझाव सल्लाहका आधारमा समस्या समाधानका लागि सङ्घले रणनीति तय गर्ने बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीका उद्योग उपाध्यक्ष सुरज भट्टराईले उद्योगहरूको स्थलगत अवलोकनबाट प्राप्त भएका सुझाव सङ्घमा छलफल गरी स्थानीयस्तरमा हुन सक्ने समस्यामा सङ्घले पहल गर्ने र माथिल्लो निकायमा राख्नुपर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत समाधानका लागि पहल र पैरवी गरिने बताउनुभयो ।