• ९ मंसिर २०८१, आइतबार

ढड्डा प्रणालीदेखि डिजिटलसम्म

blog

विसं २०२२, माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कले ५८ वर्ष पूरा गरी आजबाट ५९ औँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा बैङ्कले विभिन्न वित्तीय उपकरणमार्फत देशको वित्तीय स्रोतको उच्चतम परिचालन गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गरेको छ । स्थापना भएको समयमा नेपाली मुद्राको चलनचल्ती बढाउने, छरिएर रहेको बचतलाई सङ्कलन गरी उद्योग र वाणिज्य क्षेत्रमा स्रोतको परिचालनबाट रोजगारी सिर्जना गर्ने, वित्तीय पहुँचको विस्तार गर्ने, आर्थिक विकास र वित्तीय स्थायित्व कायम गर्न सघाउ पुर्‍याउने बैङ्कको उद्देश्य रहेको थियो ।

सुरुमा जनशक्तिमा आधारित ढड्डा प्रणालीबाटै बैङ्कले वित्तीय स्रोतसाधनको परिचालन गरी नागरिकलाई बैङ्किङ कारोबार सिकाइरहेको थियो । निजी क्षेत्र तथा व्यापारिक केन्द्रमा धेरै रहेको वित्तीय क्रियाकलापलाई औपचारिक माध्यमबाट सञ्चालन गर्न‘, जनतामा बचत गर्ने बानीको विकास गर्दै उद्योग तथा वाणिज्य व्यवसायका लागि पुँजी उपलब्ध गराउन, देशमा उत्पादित वस्तुहरू निकासी गर्न मद्दत पुगोस् भन्ने अभिप्रायले सरकारको लगानीमा बैङ्क स्थापना गरिएको थियो ।

विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र डिएफआइडीको सहयोगमा आएको वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैङ्कको वित्तीय अवस्था सुधारका लागि विसं २०५९, माघ २ गतेबाट व्यवस्थापन करारमा दिइयो । यस क्रममा अमेरिकी नागरिक ब्रुस एफ. हेन्डरसनको नेतृत्वमा आठ सदस्यीय व्यवस्थापन समिति र १० जना चाटर्ड एकाउन्टेन्टसहित १८ जनाको समूहले बैङ्क व्यवस्थापनको जिम्मा सम्हाली भाखा नाघेको कर्जा घटाइयो । प्रविधिको प्रयोगबाट बैङ्किङ सेवा दिन थालियो । लामो समयदेखि नभएका लेखापरीक्षणहरू अद्यावधिक हुन थाले । शाखा व्यवस्थापन, पुँजी वृद्धिका लागि योजना पेस, आवश्यक नीति नियम, कार्यविधिको निर्माण, मुनाफा, कर्मचारी स्वैच्छिक अवकाश कार्यक्रम ल्याई कर्मचारीको सङ्ख्या घटाइयो । कर्मचारीको उत्पादकत्व बढ्न थाल्यो । परिणाम स्वरूप भाखा नाघेको कर्जा ६० प्रतिशतबाट हाल तीन प्रतिशतमा झरेको छ । २२ अर्ब रुपियाँले ऋणात्मक रहेको बैङ्कको खुद सम्पत्ति हाल ५० अर्बले धनात्मक रहेको छ । प्रायः घाटामा सञ्चालन हुने गरेको यस बैङ्कले हाल नेपालको बैङ्किङ क्षेत्रमा अत्यधिक खुद मुनाफा गर्न थालेको छ । विगतमा पाँच हजार आठ सय कर्मचारी हुँदा १५० शाखा थिए भने हाल शाखाको सङ्ख्या २८५ हुँदा पनि जम्मा दुई हजार सात सय कर्मचारी छन् ।  वित्तीय क्षेत्र सुधार कार्यक्रमले बैङ्कको वित्तीय स्वास्थ्यमा अक्सिजनको काम गर्‍यो । यसले बैङ्कको वित्तीय अवस्थामा सुधार भई प्रतिस्पर्धी क्षमता, ख्याति र बैङ्कप्रतिको जनभरोसालाई बढायो । साथै नयाँ कर्मचारी नियुक्ति, एबिबिएस प्रणालीको विकास, कर्जा असुली, ठुला आयोजनामा व्यवसाय वृद्धि, एसेट्स क्वालिटी, शाखा विस्तार जस्ता महत्वपूर्ण कार्यले बैङ्कको प्रतिस्पर्धी क्षमता बढ्दै गयो ।

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको कोर बैङ्किङ सफ्टवेयर (सिबिएस) डिस्ट्रिब्युटेड डाटाबेस प्रणालीबाट सेन्ट्रलाइज डाटाबेस प्रणालीमा परिवर्तन गरिएको छ । वित्तीय क्षेत्र सुधार कार्यक्रममार्फत आइबिएस कार्यक्रम लागु गरी बैङ्कका सम्पूर्ण शाखा सञ्जाललाई यान्त्रीकृत गर्ने क्रममा प्रयोग भइरहेको आरबिबिसिसको सहायताबाट डाटा क्याप्चर र माइग्रेसन गरी सुरुमा केही शाखामा पुमोरी प्लस–३ कोर बैङ्किङ सफ्टवेयर लागु गरिएको थियो । त्यसपछि बैङ्कमा कार्यरत जनशक्तिको प्रबल इच्छाशक्ति र लगनशीलताका कारण बैङ्कका सम्पूर्ण विभाग, प्रादेशिक कार्यालय र शाखा कार्यालयमा केन्द्रीय कार्यालयमा रहेको सेन्ट्रलाइज सर्भरमार्फत डिसेन्ट्रलाइज प्रणालीमा पुमोरी प्लस–३ लागु गरी ग्राहकलाई बैङ्किङ सेवा दिँदै आइरहेको थियो । बैङ्कको कारोबारको सङ्ख्या र आकार सेवा वितरण एकाइहरूमा बढ्दै जाँदा यसको चाप कोर बैङ्किङ प्रणालीमा बढ्दै गयो । 

यस्तो डिसेन्ट्रलाइज प्रणालीमा रहेको डाटाबेसबाट सेवामा कठिनाइ, डाटा इन्टिग्रिटीमा समस्या हुन सक्ने, नियामक निकायलाई दिनुपर्ने रिपोर्टहरूमा समस्या आउन सक्ने, मानवीय त्रुटि हुन सक्ने, वैकल्पिक वितरण माध्यममा विभिन्न समस्या आइरहने हुँदा बैङ्कमा भइरहेको कोर बैङ्किङ प्रणालीलाई सेन्ट्रलाइज डाटाबेस प्रणालीमा परिवर्तन गरी हाल पुमोरी प्लस–४ कोर बैङ्किङ सफ्टवेयर चलेको छ । कोर बैङ्किङ प्रणालीलाई सेन्ट्रलाइज डाटाबेस प्रणालीमा परिवर्तन गरेपछि बैङ्कमा डाटाको विश्वसनीयता बढ्ने, रिपोर्टहरू निकाल्न सजिलो हुने, वैकल्पिक वितरण माध्यमहरूको कार्यसम्पादनमा वृद्धि भई ग्राहकहरूलाई थप आधुनिक, डिजिटल र भरपर्दो बैङ्किङ सेवा प्रवाह गर्न सहज भएको छ ।

प्रविधिमा भएको विकासका उपलब्धिलाई बैङ्किङ क्षेत्रले उत्साहपूर्वक प्रयोग गर्ने क्रममा पछिल्लो समय राष्ट्रिय वाणिज्य बैङ्कले पनि आत्मसात् गरी आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट सुरक्षित रूपमा आधुनिक बैङ्किङ सेवा दिनका लागि पर्याप्त लगानी गरिरहेको छ । बैङ्कले वैकल्पिक च्यानलहरू एटिएम सेवा, मोबाइल बैङ्किङ, अनलाइन बैङ्किङ, पोस सेवा, सी–आस्वा, शाखा रहित बैङ्किङमार्फत विद्युतीय कारोबार गर्न सकिने गरी मजबुत सूचना प्रविधिको व्यवस्था गरेको छ । अहिले बैङ्कको कुल कारोबार सङ्ख्याको ७५ प्रतिशत कारोबार विद्युतीय माध्यबाट हुने गरेको छ । खास गरी पछिल्लो समय युवा पुस्ता प्रविधिमा बढी अभ्यस्त भइरहँदा शाखामा उपस्थित भएर लिने परम्परागत बैङ्किङ सेवामा परिवर्तन आएको छ । विश्वको जुनसुकै कुनाबाट बैङ्किङ सेवा लिन सक्ने डिजिटल बैङ्कको मोडल विकास भइरहेको विश्व परिवेशलाई राष्ट्रिय वाणिज्य बैङ्कले पनि आत्मसात् गरिरहेको छ । 

यसै सन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडले हालै आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडलाई नेपालका बैङ्कमध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैङ्कको रूपमा सम्मानित गरेको छ ।  एक विशेष कार्यक्रमबिच नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्डसमेत प्रदान गर्नुभएको छ ।

विश्व बैङ्कको प्रतिवेदनले नेपालमा करिब ५४ प्रतिशत वयष्कको मात्र बैङ्क खाता रहेको बताइरहेका सन्दर्भमा अझै नागरिकको ठुलो हिस्सा वित्तीय सेवाको पहुँचबाट वञ्चित छ । राष्ट्रिय वाणिज्य बैङ्कले आफ्ना हरेक शाखाबाट प्रत्येक त्रयमासमा वित्तीय चेतनामूलक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी नागरिकमा बैङ्किङ सेवाको बारेमा शिक्षा दिइरहेको छ । बैङ्कले नियमानुसार आफ्नो नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) मा छुट्याइ समाजको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, सामाजिक कार्य तथा मानवीय कार्यमा बर्सेनि खर्च गर्दै आइरहेको छ । केही वर्षअघि मात्र सिएसआरमा उत्कृष्ट कार्य गरेबापत बैङ्कले अन्तर्राष्ट्रियस्तरको एसिया मनी अवार्डसमेत प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०५८/५९ मा आर्थिक सङ्कटमा पुगेको बैङ्क पछिल्ला वर्षमा भने उल्लेख्य खुद मुनाफा गर्दै आएको छ । बैङ्कको विगत १२ वर्षको खुद मुनाफा हेर्ने हो भने अन्य वाणिज्य बैङ्कसँग कडा प्रतिस्पर्धा गरेको देखिन्छ । बैङ्कले आर्थिक वर्ष २०७५/७६ मा पाँच अर्ब चार करोड रुपियाँ खुद मुनाफा गरेकोमा आर्थिक वर्ष २०७६÷७७ मा चार अर्ब ३७ करोड रुपियाँ खुद मुनाफा गरेको छ । यस्तै बैङ्कले आर्थिक वर्ष २०७७/७८ मा तीन अर्ब ४२ करोड रुपियाँ खुद मुनाफा गरेकोमा आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब २९ करोड रुपियाँ नाफा गरेको छ । यस्तै गत आर्थिक वर्ष २०७९/८० मा बैङ्कले तीन अर्ब ५९ करोड रुपियाँ खुद मुनाफा गरेको छ । 

विभिन्न आर्थिक एकाइहरूमा छरिएर रहेका बचतलाई सङ्कलन गरी आवश्यक क्षेत्रमा वित्तीय साधनको परिचालन गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैङ्क विभिन्न वित्तीय सूचकाङ्कका आधारमा नेपालको अग्रणी बैङ्क हो । यस बैङ्कले आमनागरिकलाई बैङ्किङ प्रणालीमा आबद्ध हुन सिकाउँदै अर्थात् वित्तीय शिक्षा दिँदै सरकारी नीतिको कार्यान्वयमा सघाउ पुग्ने गरी नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ । 

बैङ्कले आगामी दिनमा आधारभूत व्यवसायको गुणस्तरीय वृद्धि, गुणस्तरीय ग्राहकसेवा, बिजनेस प्रोसेस रिइन्जिनियरिङ, इन्हान्स्सेन्स आफ आइटी एन्ड डिजिटाइजेसन, निष्क्रिय कर्जाको व्यवस्थापन, सम्पत्तिको उपयोगिता, स्ट्रेटेजिक मार्केटिङ एन्ड कर्पोरेट ब्रान्डिङ एवं संस्थागत कार्यदक्षतामा समयानुकूल सुधार गर्दै योजनाबद्ध ढङ्गले अगाडि बढ्नु सकारात्मक विषय हो । वित्तीय सेवालाई अझ प्रतिस्पर्धात्मक एवं उत्तरदायित्वपूर्ण बनाई निजी क्षेत्रका बैङ्कहरूले समेत अनुसरण गर्न सक्ने गरी आमनागरिकमा सरल र सहज डिजिटल बैङ्किङ सेवा प्रवाहमा बैङ्कलाई सफलता मिलोस्, यही छ कामना ।

  

Author

ईश्वर उप्रेती